Thursday, August 28, 2014

विद्युत महशुल वृद्धि गर्ने प्रकृया अन्तिम चरणमा

–दशै अघिनै बढाउने तयारी
–सर्वसाधारणलाई २५ प्रतिशत बढाइदै
भीम गौतम\राजधानी
काठमाडौं, ११ भदौ ।
विद्युत महशुल निर्धारण आयोगले विद्युत महशुल वृद्धि प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।
एक बर्षअघिनै २० प्रतिशत विद्युत महशुल वृद्धिका लागि नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेकोमा दशै अघिनै बढाउने गरी आयोगले भने वृद्धि प्रकृया अन्तिम चरणमा पुर्याएको हो । असारमा प्राधिकरणले प्रस्ताव गरेपछि महशुल वृद्धिका लागि गर्नुपर्ने प्रकृया अन्तर्गत गत माघमा सार्वजनिक सुचना जारी गरेको थियो । त्यसैगरी उद्योगी, व्यवसायीहरुसँगको छलफल, प्राधिकरणको तर्फबाट बढ्नुपर्ने आवश्यकताको प्रश्तुति, आयोगले दिएका निर्देशनको प्रगति विवरण लगायतका प्रकृया पुरा गरिसकेको प्राधिकरणले जनाएको छ । भोलि शुक्रबार हुने सार्वजनिक सुनुवाई सकिएपछि महशुल वृद्धिका लागि बाटो खुल्नेछ । ‘विद्युत महशुल वृद्धिको अन्तिम चरणमा पुगेका छौ ।’–आयोगका अध्यक्ष गणेश सुब्बाले भने–‘सार्वजनिक सुनुवाई सकिएपछि आयोगलाई विद्युत महशुल बढाउन बाटो खुल्नेछ ।’
सार्वजनिक सुनुवाई सकेर नेपाली चाड दशै अगाडीनै महशुल बढाउने तयारी आयोगको छ । आयोगले गरेको प्रस्तावमा सबैभन्दा बढी सर्वसाधारणले उपयोग गर्ने २० युनिटसम्मको विद्युतको महशुल २५ प्रतिशत बढाउन प्रस्ताव गरिएको छ । त्यसैगरी २१ देखि ५० युनिटसम्मको विद्युतमा २० दशमलब ४७ प्रतिशत, ५१ देखि १५० युनिटसम्मको १९ दशमलब ७६ प्रतिशत, १५१ देखि २५० युनिटसम्मको तथा २५० युनिट माथिको विद्युत खपत गर्नेलाई २० प्रतिशत बढाउन प्रस्ताव गरिएको छ । त्यसैगरी १० केभीएदेखि २५ केभीए थ्रीफेज लाइनमा समेत प्रति युनिट २० प्रतिशत बढाउन आयोगले प्रस्ताव गरिएको छ ।
प्राधिकरणको बढ्दो लागत, प्राधिकरणको आगामी एक बर्षको प्रक्षेपण र आधार, प्राधिकरण घाटा सन्तुलन कायम लगायतका कारण देखाइएको छ । प्राधिकरणका अनुसार, प्राधिकरणको गत बर्षको घाटा मात्र ५ अर्ब ७० करोड रुपैयाँ छ । प्रत्येक बर्ष प्राधिकरणले विद्युत खरिद गर्ने नीजि क्षेत्रका जलविद्युत प्रवद्र्धकहरुलाई तीन प्रतिशत मुल्यवृद्धि दर दिएपनि आफ्नो विद्युत महशुल नबढेको कारणनै प्राधिकरण घाटामा गएको प्राधिकरणका अधिकारीहरुको तर्क छ । ‘जलविद्युत प्रवद्र्धकहरुलाई प्रत्येक बर्ष मुल्यवृद्धिदर दिएझै विद्युत महशुल पनि बढदै गएको भए प्राधिकरण झण्डै ३० अर्ब नाफामा जान्थ्यो ।’–प्राधिकरणका एक अधिकारीले भने । अघिल्लो बर्षको प्राधिकरणको तथ्यांक अनुसार, प्रति युनिट विद्युतको आम्दानी ८ दशमलब १ प्रतिशत रहेपनि प्रति युनिट लागत भने १० प्रतिशत शुन्य पाँच प्रतिशत छ ।
प्राधिकरणका अनुसार, २०४६ सालपछि २५ बर्षमा सात पटक मात्र विद्युतको महशुल बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरण्का अनुसार, २०४८ सालमा १८ प्रतिशत, २०४९ सालमा २५ प्रतिशत, २०५० सालमा ३८ प्रतिशत, २०५३ सालमा २० प्रतिशत, २०५६ सालमा २८ प्रतिशत, २०५८ सालमा १० प्रतिशत र २०६९ सालमा २० प्रतिशत विद्युत महशुल वृद्धि भएको थियो ।
प्राधिकरणका हाल करिब २८ लाख ग्राहक छन् भने २५ लाखभन्दा बढी घरेलु ग्राहक छन् । सबैभन्दा बढी २० युनिटसम्म खपत गर्नेलाई आयोगले २५ प्रतिशत बढाउने प्रस्ताव गरेकोमा यस्तो सर्वसाधारण ग्राहकको संख्या झण्डै १३ लाख छ ।

प्रति युनिट                    प्रस्ताव वृद्धि प्रतिशत
२० युनिटसम्म                     २५
२१– ५० सम्म                    २०.७
५१–१५०सम्म                    १९.७६
१५१– २५०    सम्म                     २०
२५० युनिट माथि                    २०
१०–२५ केभीए थ्रीफेज                 २०    
स्रोतः विद्युत विकास विभाग

No comments: