Sunday, August 17, 2014

पुग्यो ३० वर्ष, समस्या उही ‘कर्पोरेसन’कै

नेपाल विद्युत प्राधिकरण
भीम गौतम\राजधानी
काठमाडौं, ३१ साउन
    उत्पादन, वितरण र प्रशारण लाइन बनाउने नेपालकै एक मात्र शसक्त निकाय नेपाल विद्युत प्राधिकरण आज आइतबारदेखि २९ वर्ष पुगेर ३० वर्षमा टेक्दैछ । जुन उद्देश्यका साथ विद्युत विकास विभाग र नेपाल विद्युत कर्पोरेसन मिलाएर प्राधिकरण स्थापना गरिएको थियो तर समस्या भने उस्तै छ ।
कर्पोरेसनको इतिहास अनुसार, २०१७ सालमा स्थापना भएको कर्पोरेसन र विभागले आ–आफ्ना काम गर्थे । कर्पोरेसनले अपरेसन र मेन्टेन हेर्दथ्यो भने विभागले उत्पादन । यी दुई निकायबीच समन्वय र सहकार्य हुनुपर्ने हो तर भएन । दुवै छुट्टाछुट्टै निकायको रुपमा रहेर सौतेनी व्यवहार देखाउन थालेपछि  दुई मिलाएर प्राधिकरण बनाइएको थियो । अहिले विभाग र प्राधिकरणको अवस्था उही कर्पोरेसन जस्तै बनेको छ ।
सुरुमा कर्पोरेसनको अध्यक्ष मन्त्री हुन्थे । त्यो बेला नहर तथा विद्युत मन्त्रालयको मन्त्री  डा. नागेश्वरप्रसाद अध्यक्ष बनेका थिए । त्यसपछि मन्त्री भुवनलाल प्रधान अध्यक्ष बने । कर्पोरेसनको सचिवको तर्फबाट दोस्रो अध्यक्ष बनेका लक्ष्मणप्रसाद रिमालको पुस्तक अनुसार, संस्थाहरु बढी राजनीतिकरण हुन थालेपछि मन्त्रीहरुलाई संस्थामा राख्नु हुँदैन भनेर तत्कालीन राजा महेन्द्रले मन्त्रालयका सचिवलाई कर्पोरेसनको अध्यक्ष बनाएका थिए । पहिलो अध्यक्ष छत्रविक्रम राणा र त्यसपछि  रिमाल (विक्रम संवत २०२१ देखि २०२३ सालसम्म ) अध्यक्ष बनेका थिए । मन्त्रीलाई प्राधिकरणको अध्यक्ष परिवर्तन गरेर सचिव ल्याउँदा समेत विभाग र कर्पोरेसनबीच विवाद बढ्दै गयो । प्राधिकरण बनेपछि लाइसेन्स दिनका लागि जलस्रोत मन्त्रालयको मातहतमा विद्युत विकास केन्द्र स्थापना भयो । त्यही केन्द्र अहिले विभाग बनेको छ । पहिला स्वर्गीय महेन्द्रले मन्त्री कर्पोरेसनको अध्यक्ष हुँदा बढी राजनीतिकरण हुने भयो भनेर सचिवलाई अध्यक्ष बनाएका थिए तर २०४६ सालपछि फेरि त्यही प्रकरण दोहोरियो । पुर्व मन्त्री गोकर्ण विष्टले उर्जा सचिवलाई बनाईदिए तर अर्थ सचिव उर्जा सचिव भन्दा सिनियर हुने भएकोले यी दुईबीचको विवादमै रुमलियो प्राधिकरण । त्यसपछि मुख्य सचिव बने प्राधिकरण अध्यक्ष । उनी पनि लामो समय टिक्न सकेनन् । त्यसपछि उर्जा मन्त्री बनेका उमाकान्त झाले आफू अध्यक्ष बनेर केही समयपछि तत्कालीन सचिव विश्वप्रकाश पण्डितलाई अध्यष बनाए । नयाँ मन्त्रीको रुपमा राधा ज्ञवाली आएपछि उनी फेरि अध्यक्ष बनेकी छिन् । पहिला विभागले लाइसेन्स र ठूला आयोजनाको अध्ययन मात्र गर्ने भएपनि अहिले २२ मेगावाटको बुढीगंगा जलविद्युत आयोजनाको निर्माण समेत गरिरहेको छ । विद्युत कर्पोरेसन र विभागबीचको त्यो द्धन्द्ध र विवाद ५० वर्ष पछाडी पनि उस्तै छ । प्राधिकरणका पुर्व कार्यकारी निर्देशक सन्तबहादुर पुनःको अनुभवमा कर्पोरेसनहुँदै प्राधिकरणको विकासक्रमसम्म आउँदा समस्या उही दोहोरिरहेको छ । ‘प्राधिकरण सफल हुन कार्यकारी निर्देशकको आत्मा सफल हुनुपर्छ ।’–उनले भने ।
प्राधिकरणभन्दा १६ वर्ष पछि स्थापना भएको दुरसञ्चार संस्थाको सफलता र प्राधिकरणको असफलताको कारण जलविद्युत क्षेत्रमा बढी राजनीतिकरण हुनु र जलविद्युतका निकायहरुबीचनै समन्वय, सहकार्य र सौतेनी व्यवहार हुनुलाई कारण मान्ने गरिएको छ । विज्ञहरुले जलविद्युतको विकासका लागि दुरसञ्चार संस्थानमा जस्तै एउटा नियामक निकाय बनाएर उत्पादन, प्रशारण र वितरणलाई छुट्टाछुट्टै बनाएर जलविद्युतको विकास गर्नुपर्ने सल्लाह छ तर जति बढी केन्द्र र निकाय भयो, त्यतीनै बढी राजनीतिकरण र स्वार्थीकरण गर्न पाउने कारण उनीहरुलाई त्यसप्रति कुनै मतलब छैन ।
‘एक वर्षमा दुई दर्जन उपलब्धि, डेढ दर्जन अपुरै’
    आज आइतबार २९ औ वर्षगाठ बनाउन लागेको प्राधिकरणले एक वर्षको अवधिमा भने दुई दर्जन उपलब्धि हासिल गरेको दाबी गरेको छ । तर गर्नैपर्ने डेढ दर्जन काम भने प्राधिकरणले यस वर्ष अघि बढाउन सकेन ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार, कुल प्रशारण लाइन ५११ किलोमिटर सर्किट रहेकोमा २२५ किलोमिटर थपिएको, कर्मचारी सेवा विनियामली शंसोधन गरेर कार्यवन्यन, ० दशमलब ७६ प्रतिशत चुहावट कम, कालोपाटीको ४ करोड २५ लाख संकलन, थप २३ दशमलब ५ मेगावाट उत्पादन, भारतबाट थप ३० विद्युत आयात, प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका कर्मचारी प्रोत्साहन भत्ता वितरण, प्राधिकरण बारेको गुनासो सुन्न टोल फ्रि नम्बर उपलब्धता, इ–विल्डिङ प्रकृया लगायतका २५ उपलब्धि प्राधिकरणले गरेको छ ।
    त्यसैगरी प्राधिकरणले विद्युतको माग र आपुर्तिको सन्तुलित बनाउन, थानकोट–चापागाउँ तथा खिम्ती–ढल्केबर प्रशारण लाइन बनाउन, प्राधिकरण निर्माणाधीन चार जलविद्युत आयोजना समयमै सम्पन्न गर्न, आयोजनाको भेरियसन नियन्त्रण गर्न, टीओटी मिटरको डाउनलोड गर्न, ग्राहकलाई ट्रान्सफर्मर र मिटर व्यवस्थापन गर्न नसक्नु जस्ता १९ वटा काम प्राधिकरणले यो वर्ष गर्न सकेन ।
आफ्नो २९ औ वर्षगाठमा भने प्राधिकरणले ५ वर्षको अवधिमा प्राधिकरणले प्रकाशन विद्युत पत्रिकामा उत्कृष्ट लेख लेख्ने एक लेखक तथा उत्कृष्ट काम गर्ने वितरण केन्द्रलाई सम्मान समेत गरिन लागेको छ ।

No comments: