–चालु बर्षमा १० अर्ब पुग्ने
–सात बर्षमा ३४ अर्बको विद्युत आयात
भीम गौतम\राजधानी
काठमाडौं, २२ साउन ।
नेपालबाट भारतलाई अर्बौको विद्युत बेच्ने सपना बाड्न थालेको बषौ वित्यो । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री सुष्मा स्वराजको भ्रमणको बेलामा पनि भारतमा विजुली बेच्ने चर्चा धेरै चल्यो तर यसको विपरित गत एक बर्षमा नेपालले भारतबाट आठ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, आर्थिक बर्ष २०७०÷०७१ मा मात्र भारतबाट नेपालमा आठ अर्ब रुपैयाँ बराबरको १ अर्ब ७ करोड युनिट विजुली आयात भएको हो । समयमै जलविद्युत आयोजना निर्माण नहुनु तथा सरकारले विद्युतको माग र आपुर्तिको योजना बनाउन नसक्नुको कारण भारतबाट विद्युत आयात बढेको हो ।
जनआन्दोलनको सफलतापछिको प्राधिकरणको विद्युत आयात तथ्यांक हेर्ने हो भने आर्थिक बर्ष २०६४÷०६५ को तुलनामा आयात झण्डै चौब्बर बढेको छ । प्राधिकरणका अनुसार, सो बर्ष २ अर्ब ९३ करोड रुपैयाँ बराबरको ४१ करोड युनिट विजुली आयात भएको थियो । ‘उत्पादनमा भएको कमीको कारण भारतबाट विजुली आयात गर्ने क्रम बढ्दो छ ।’–प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने । उनका अनुसार, चालु बर्ष १ अर्ब २० करोड युनिट बराबर विद्युत आयात गर्ने लक्ष्य छ । लक्ष्य अनुसार, विद्युत आयात भएमा प्राधिकरणले भारतबाट १० अर्ब रुपैयाँ बराबरको विद्युत आयात हुनेछ ।
हाल प्राधिकरणले कटैया कुसाहा प्रशारण लाइनबाट ९० मेगावाट विद्युत आयात भएकोमा कण्डक्टर परिवर्तनपछि थप ७० मेगावाट विद्युत आयात हुने प्राधिकरणले जनाएको छ । सो कण्डक्टर परिवर्तनको काम आगामी शनिबारदेखि सुरु गरि एक हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणका अनुसार, गत आर्थिक बर्षमा भारतको बिहार इलेक्ट्रिीसिटी बोर्डबाट ६ अर्ब ६३ करोड ६७ लाख बराबरको ७९ करोड २८ लाख १३ हजार युनिट तथा पीटीसीएन भारत लिमीटेडबाट ६२ करोड ६३ लाख रुपैयाँ बराबरको ११ करोड ४८ लाख ९२ हजार युनिट विद्युत आयात गरेको थियो भने तथा उत्तर प्रदेश इलेक्ट्रिसिटी बोर्ड र उत्तराखण्डबाट झण्डै ७५ करोड बराबरको विद्युत आयात गरेको छ । नेपालमा टनकपुरबाट समेत विद्युत आयात हुने गरेको छ । टनकपुर सम्झौता अनुसार, टनकपुरबाट प्राप्त विद्युत भने नेपालले निःशुल्क रुपमा पाउने व्यवस्था छ ।
हालको बर्षामा समेत १ सय ५० मेगावाटसम्म विद्युत आयात हुने नेपालमा हिउँदमा दुई सय मेगावाटसम्म विद्युत आयात हुने गरेको छ । हालैको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा संसदमा सम्बोधन गर्दै मोदीले अहिलेको आयातलाई दोब्बर बनाउने घोषणा गरेका छन् तर प्राधिकरणका प्राविधिका अनुसार, चार सय मेगावाट विजुली ल्याउन नेपालमा प्रशारण लाइननै छैन । कटैया–कुसाहा प्रशारण लाइनको कण्डक्टर परिवर्तन भएपछि नेपालले २ सय ७० मेगावाटसम्म मात्र विजुली आयात गर्न सक्छ ।
हालसम्मको अध्ययनको आधारमा ८३ हजार मेगावाट विद्युत आयात हुने नेपालमा कर्णाली चिसापानी, पञ्चेश्वर, सप्तकोशी, अरुण तेस्रो, माथिल्लो कर्णाली, तामाकोशी तेस्रो, मस्याङदीका साथै अन्य ठूला जलविद्युत आयोजनाहरु बनाएर भारतलाई विद्युत विक्री गर्ने सपना देखाउन थालेको भने बर्षौ वितिसकेको छ तर २०६४ सालपछिको तथ्यांक हर्ने हो भने प्रत्येक बर्ष विद्युत आयात बढ्दो छ ।
प्राधिकरणका अनुसार, भारतबाट ०६४÷०६५ सालमा २ अर्ब ९३ करोड १५ लाख रुपैया“ बराबरको ४१ करोड युनिट, ०६५÷०६६ मा २ अर्ब ५७ करोड ४० लाख रुपैया“ बराबरको ३६ करोड, ०६६÷०६७ सालमा ४ अर्ब ५० करोड ५० लाख बराबरको ६३ करोड युनिट विद्युत ल्याएको थियो । त्यसैगरी ०६७÷०६८ सालमा ५ अर्ब ५० लाख बराबरको ७० करोड युनिट तथा ०६८÷०६९ मा ५ अर्ब ३६ करोड २५ लाख रुपैया“ बराबरको ७५ करोड युनिट विद्युत भारतबाट नेपालमा आयात गरिएको थियो । त्यसैगरी ०६९÷०७० मा ६ अर्ब बराबरको १ अर्ब ५ करोड युनिट विद्युत भारतबाट आयात भएको थियो । विगत ७ बर्षमा ३४ अर्ब ३७ करोड रुपैयाँ बराबर विद्युत आयात भएको प्राधिकरणले जनाएको छ ।
साल युनिट रुपैया“
१. ०६४÷०६५ ४१ करोड २ अर्ब ९३ करोड १५ लाख
२. ०६५÷०६६ ३६ करोड २ अर्ब ५७ करोड ४० लाख
३. ०६६÷०६७ ६३ करोड ४ अर्ब ५० करोड ४५ लाख
४. ०६७÷०६८ ७० करोड ५ अर्ब ५० लाख
५. ०६८÷०६९ ७५ करोड ५ अर्ब ३६ करोड २५ लाख
६. ०६९÷०७० १ अर्ब ५ करोड ६ अर्ब
७. ०७०÷०७१ १ अर्ब ७ करोड ८ अर्ब २५ करोड
जम्माः ४ अर्ब ९७ करोड ३४ अर्ब ६२ करोड
स्रोतः नेपाल विद्युत प्राधिकरण
No comments:
Post a Comment