–जकड्एिको सम्बन्ध सफाचट्ः परराष्ट्र मन्त्री
–पशुपतिलाई मात्र ७२ करोड सहयोग
–तीन करोडको चन्दन उपहार
–मोदीको भेटी २७ हजार
भीम गौतम\राजधानी
काठमाडौं, १९ साउन ।
नेपालका समकक्षी शुशील कोइरालालाई भारतका लागि औपचारिक निमन्त्रणा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्केका छन् ।
आइतबार बिहान १० बजेर ५० मिनेटमा काठमाडौ आईपुगेका उनी सोमबार साँझ साढे ५ बजे प्रधानमन्त्री कोइरालालाई औपचारिक निमन्त्रणा दिँदै फर्केका हुन् । उनलाई विदाई गर्न त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा प्रधानमन्त्री कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्धय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे लगायत पुगेका थिए । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनको विदाईमा समेत नेपाली सेनाले १९ तोपको सलामी दिएका थिए ।
विमानस्थलमा विदाईसँगै प्रधानमन्त्री कोइरालाले मोदीलाई पशुपतिनाथको प्रतिकसहितको उपहार प्रदान गरेका थिए । साथै सो अवसरमा भारतीय प्रतिनीधि मण्डलका प्रतिनीधिहरुलाई वुद्धको प्रतिसहितको उपहार पनि प्रदान गरिएको थियो ।
परराष्ट्र मन्त्री पाण्डेले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सार्क अगाडीनै प्रधानमन्त्री कोइरालालाई भारतको भ्रमणको लागि औपचारिक आमन्त्रण गरेको र यसबारे परराष्ट्र मन्त्रालयले छलफल गरेर मिति तय गर्ने जानकारी दिए । ‘जाने बेलामा समेत भारतीय प्रधानमन्त्रीले नेपालमा हुन लागेको सार्क सम्मेलनमा आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको छ ।’–उनले भारत भ्रमणको मुख्य उपलब्धिबारे भने–‘नेपाल र भारतबीचको सम्बन्ध १७ बर्षदेखि जकड्एिको थियो, अब सफाचट् भएको छ ।’ उर्जा र पुर्वाधारका लागि दिएको एक खर्ब सहुलियत ऋण र पशुपति क्षेत्रको विकासका लागि दिएको सहयोगभन्दा दुई देशबीचको सम्बन्धमा आएको सुधार मुख्य भएको उनको टिप्पणी थियो ।
मोदीको संसद सम्बोधनले नेपाल र भारतबीचको सम्बन्धमा गरिएका धेरे आशंका समाधान गरेको र लामो समयसम्म प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको भ्रमण नभएकोले कर्मचारी लेभलमा मात्र रहेको सम्बन्ध राजनीतिक लेभलमा समेत पुगेको उनले बताए । ‘छलफलको क्रममा नेपाल मात्र होइन, सिंगो सार्क राष्ट्रको विकासका लागि सहकार्य गर्नुपर्छ भन्नेमा सहमत भएइका छौ, सार्क क्षेत्रभित्रको गरिबी निवारणका लागि सहकार्य गरी अघि बढाउन सहमत भएका छौ ।’–उनले भने ।
मोदी भ्रमणको क्रममा निष्कर्षमा पुग्न नसकेका उर्जा व्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीडीए) गर्न डेढ महिनाभित्र गर्न दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएको पनि मन्त्री पाण्डेले जानकारी दिए । ‘पीटीएमा नेपालले पठाएको मस्यौदामा भारतको स्पष्ट कुरा आएन । नेपालको तर्फबाट पनि त्यसमा गर्नुपर्ने छलफल, प्राविधिक र कानुनी पक्षबारे निष्कर्ष पुगिसकिएन ।’–उनले भने–‘हतारमाभन्दा अभ्यास र परिपक्व भएर गर्दा राम्रो हुन्छ भन्ने मान्यताका साथ पछि गर्न लागिएको हो ।’
सोमबार बिहान पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री मोदीले विशेष पुजाआजा गरेका थिए । १०८ बटुकद्धारा मन्त्र उच्चारणका साथै वाजागाजाद्धारा स्वागत गरेपछि झण्डै उनले ५० मिनेट पशुपतिनाथ मन्दिरको विशेष पुजाआजा गरेका थिए ।
मोदी भ्रमणकै क्रममा स्मारकहरुको संरक्षण तथा पशुपतिनाथ मन्दिर परिशरको सरसफाइ सुधारको लागि भारत सरकारको तर्फबाट ४० करोड रुपैयाँ तथा भारतको शुलभ इन्टरनेश्नलको सहकार्यमा शुलभ सौचालयको लागि ५ करोड प्रदान गर्ने घोषणा गरिएको थियो । त्यसैगरी भारतको सहयोगमा २७ करोड रुपैयाँको लागतमा तिलगंगामा नेपाल–भारत मैत्री पशुपति धर्मशालाको निर्माण गर्न लागिएको पनि जानकारी दिइएको थियो ।
मोदीले पशुपतिनाथको दर्शको क्रममा २५ सय केजी चन्दन उपहार प्रदान गरेका थिए । तीन करोड रुपैयाँ बराबरको सो चन्दन उपहार प्रधानमन्त्री मोदीले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनलाई प्रदान गरेका थिए । पुजाआजाको क्रममा उनले २७ हजार रुपैयाँ भेटी समेत चढाएका थिए ।
पशुपतिनाथको मन्दिरको दर्शनपछि संस्कृति मन्त्री भीम आचार्यले प्रधानमन्त्री मोदीलाई पशुपतिनाथ, बराह र लुम्बिनीको प्रतिक झल्किने उपहार प्रदान गरेका थिए ।
के लेखे आगन्तुक पुस्तिकामा
पशुपतिनाथ मन्दिरको पुजाका लागि पुगेका प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा आफू भावुक भएको उल्लेख गरेका छन् ।
‘नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपाले दुवै देशको जनमानसमा कायम रहोस्,यही मेरो कामना छ ।’–उनले लेखेका छन्–‘स्कन्द पुराणको हिम्मत खण्डमा काशी विश्वनाथ र पशुपतिनाथको एक रुप भनिएको छ ।’
No comments:
Post a Comment