Thursday, August 21, 2014

अब राहदानीको अवस्था बुझ्न वेभसाइट


भीम गौतम\राजधानी
काठमाडौं, ४ भदौ । राहदानीको फर्म भरेर परराष्ट्र मन्त्रालयमा पठाएपछि आए नआएको बारे बुझ्न सम्बन्धित राजदूताबास र जिल्ला प्रशासन कार्यालय धाउनैपर्ने वाध्यताको अन्त्य भएको छ ।
परराष्ट्र मन्त्रालयको राहदानी विभागले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमार्फत र विभिन्न देशका राजदूताबासमार्फत विभाग आईपुग्ने राहदानीको अवस्थालाई वेससाईटमार्फत जानकारी दिन थालेपछि सम्बन्धित निकाय धाउनैपर्ने अवस्थाको अन्त्य भएको हो । डब्लूडब्लू डट डीओपीएमओएफए को वेभसाईटमा गएर एमआरपी स्टाटस हेरेपछि आफूले राहदानीका लागि दिएको आवेदनको प्रकृया कहाँसम्म पुगेको सजिलै थाहा पाउन सक्नेछन् । ‘जिल्ला र सम्बन्धित नियोगबाट राहदानीका लागि आउने आवेदनको प्रकृया कहाँ पुग्यो भन्ने जानकारी लिन अब सम्बन्धित निकायमा धाउनुपर्दैन ।’–विभागका महानिर्देशक रमेश खनालले भने–‘वेभसाईटमार्फत सजिलै सर्वसाधारणले जानकारी पाउन सक्नेछन् ।’ उनका अनुसार, पहिलो चरणमा लट अनुसारको विवरण मात्र वेभसाईटमा राखेपनि पनि विभागले छिट्टै प्रत्येक व्यक्तिको विवरण समेत राख्न लागेको छ ।
सरकारले सन् २०१५ को १४ नोभेम्बरभित्र हस्तलिखित राहदानी हटाएर एमआरपी अनिवार्य लागु गर्ने भएपछि यो राहदानी बनाउने क्रम बढेको छ । रोजगारीको सिलसिलामा विदेश पुगेका नेपालीले हस्तलिखित राहदानी परिवर्तन गरी एमआरपी बनाउनका लागि सम्बन्धित देशका राजदूताबासमार्फत फर्म भरेर परराष्ट पठाउने गरेका छन् । तत्काल बनाउनुपर्नेबाहेक जिल्ला प्रशासनमार्फत परराष्ट्रमा राहदानीको फर्म आउने गरेको छ तर राहदानी आए नआएकोबारे बुझ्नका लागि सम्बन्धित निकायमै पुग्नुपर्ने वाध्यता थियो, अब भने वेभसाईटमा अवस्थाबारे जानकारी दिन थालेपछि सो हटेको हो । पहिला पटक पटक सोध्नका लागि धाईरहनुपर्ने अवस्था रहेकोमा अब वेभसाईटमा हेरेर राहदानी विभागबाट सबै प्रकृया गरी सम्बन्धित निकायमा पठाइएको जानकारी दिएपछि मात्र सम्बन्धित निकायमा पुगे हुन्छ ।
पछिल्लो समयमा विदेशस्थित नियोगबाट राहदानी बनाउनेक्रम बढेको विभागले जनाएको छ । गत साउनमा मात्र यसरी विदेशमा रहेका नेपालीले विभिन्न दूताबासमार्फत ४४ हजार एमआरपी बनाएका थिए । विभागका अनुसार, दैनिक जिल्ला र दुताबासमार्फत ३÷३ हजार आवेदन विभाग आईपुग्ने गरेका छन् भने तत्काल बनाउनका लागि पनि दैनिक झण्डै ३ हजार आवेदन आउने गरेका छन् । ‘सरदर दैनिक नौ हजार एमआरपी बनाउनका लागि आवेदन आउने गरेको छ तर जनशक्ति अभाव लगायतका कारणले दैनिक ६ हजार मात्र बनाउन सक्ने क्षमता छ ।’–महानिर्देशक खनालले भने ।
हाल १ सय ७० जनशक्ति रहेको विभागमा १५ जना थपेमा र थप बजेट उपलब्ध गराएमा नौ हजारनै राहदानी प्रदान गर्न सकिने विभागले जनाएको छ । सन् २०१० को डिसेम्बर २६ गतेदेखि विभागमार्फत एमआरपी वितरण सुरु गरिएकोमा हालसम्म करिब २३ लाखले एमआरपी लिईसकेका छन् ।


    विभागमा छुट्टै डेडीकेटेड काउण्टर
        सरकारी, गैरसरकारी, सञ्चारमाध्यम लगायतका कार्यालयका कार्यरतले एमआरपी बनाउनका लागि परराष्ट्र मन्त्रालयको राहदानी विभागले छुट्टै डेडीकेटेड अफिसियल काउण्टर सुरु गर्न लागेको छ ।
अन्य सर्वसाधारणजस्तै लाइन बसेर राहदानी लिनुपर्ने अवस्था रहेकोमा अब छुट्टै अफिसियल काउण्टरबाट राहदानी दिन लागिएको छ । विभागका महानिर्देशक रमेशप्रसाद खनालले आईतबारदेखि छुट्टै डेडीकेटड अफिसियल काउण्टर सेवा दिन लागिएको जानकारी दिए ।
हाल विभागले नौ आवेदन लिने र आठ राहदानी दिने काउण्टर सञ्चालनमा ल्याईसकेको छ । एक बर्षअघिसम्म तीन वटा मात्र काउण्टर रहेको र राहदानीको फर्म बुझाउनका लागि १५ घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहेकोमा अहिले भने बिहान सातबजेदेखिनै सेवा सुरु गरिएको छ । ‘बिहान सात बजेदेखि आवेदन लिने र आठ बजेदेखि वितरण गर्न सुरु गरेका छौ, पहिलाको जस्तो लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’–उनले भने ।

No comments: