भीम गौतम
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचन जित्नुको पछाडी धेरै कारणहरु छन् तर मुख्य कारणको रुपमा उनले गुजरातमा गरेको जलविद्युतको विकासलाई लिइने गरिएको छ । हुन पनि सन् २००१ मा गुजरातको मुख्य मन्त्री हुँदा झण्डै दुई हजार मेगावाट मात्र विजुली उत्पादन थियो तर सन् २०१४ सम्म आईपुग्दा झण्डै २४ हजार मेगावाटको हाराहारीमा पुग्यो । सीमित घरमा रहेको विजुली उनले प्रत्येक घरघरमा पुर्याए । प्रधानमन्त्री चुनावको बेलामा सबैभन्दा ठूलो एजेण्डालाई यही जलविद्युत विकासलाई बनाए र मोदीका लागि विजुली मीठो भाषणको विषय बन्यो । अझ उनले चुनावको दौरानको बेलामा उत्तर प्रदेशको लखनमा पुगेर ‘गुजरातमा दुई मिनेट बिजुली गयो भने त्यहाँका अखबारमा भोलिपल्ट ठूलो समाचार बन्न्ने र उत्तर प्रदेशमा दुई मिनेट विजुली आयो भने ठूलो समाचार बन्ने ।’–भाषणनै गरेका थिए । यो भाषणले धेरैको मन पनि छोयो । धेरै कारणमध्ये यसले विशाल राष्ट्र भारतको प्रधानमन्त्रीमा मोदीलाई पुर्यायो । एउटा मुख्य मन्त्री छँदा १४ बर्षभित्र झण्डै २२ हजार मेगावाट विजुली उत्पादन गरेर वाईवाई कमाएका तीनै प्रधानमन्त्री मोदी आज नेपाल आउँदैछन् ।
१ सय ३ बर्षको इतिहासमा जम्मा ७ सय २१ मेगावाट मात्र विजुली उत्पादन गर्न सकेको नेपालका लागि मोदीको आगमनलाई महत्वको साथ हेरिएको छ । मोदीको जलविद्युत विकासको सफलतालाई नियालेर हेर्ने होे र त्यसको आधारमा नेपालको सिंहावलोकन गर्ने हो भने हामी कति कमजोर अवस्थामा रहेछौ भनेर चित्रण गर्नुपर्ने हुन्छ । यसका कारणहरु धेरै होलान् तर एउटा व्यक्तित्वको प्रयासले कति सफलता पाईन सकिन्छ भनेर मोदीबाट नेपालको जलविद्युत क्षेत्रमा सक्रिय हुने व्यक्तिहरु र नीति निर्माताले धेरै पाठ र शिक्षा अवश्य लिनुपर्छ । गफ होइन, काम गरेर देखाउनुपर्छ । मोदीले गफ मात्र गरेनन्, काम पनि गरेर देखाए । तर नेपालमा जलविद्युतको क्षेत्रमा सबैभन्दा धेरै गफ भए, काम भएनन् । जलविद्युतको इतिहास खोतल्दै जाने हो भने नेपालमा ५ बर्षमा ५ हजार मेगावाट, १० बर्षमा १० हजार मेगावाट, २० बर्षमा २५ हजार मेगावाट लगायतका थुप्रै योजनाहरु सार्वजनिक गरिए । यस्ता गफले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका पीडित जनतालाई हृदयमा तत्काल राहत पनि मिल्यो तर जलविद्युत गफमै सीमित बन्यो । लोडसेडिङ भयावह समस्या बढीरह्यो । भारतबाट दैनिक २ सय मेगावाटसम्म विजुली आयात नगरेको भए सायद मोदीले उत्तर प्रदेशमा गएर भाषण गरेको जस्तै नेपालको अवस्था कति घण्टा विजुली जान्छ भन्दा पनि आउँछ भन्ने अवस्था हुन्थयो । कमसे कम भारतले दिएको विजुलीले दैनिक १२ घण्टामा लोडसेडिङ सीमित राखेर नेपाल विद्युत प्राधिकरणले गर्व गर्न सकेको छ ।
हुन त नेपालको राजनीतिमा सबैभन्दा बढी प्रभाव भारतकै छ । भारतीय राजनीतिबाट धेरै नेताले धेरै राम्रा नराम्रा कुरा सिकेका छन् । भारतीय राजनीतिको कपी, पेष्टमा माहिर नेताहरुले राजनीतिमा धेरै कपी पेष्ट गरे तर विकास निर्माणमा गर्न सकेनन् । जसको परिणाम हामी जलस्रोत उत्पादनमा झन गरिब बन्दै गएका छौ । हाम्रो नेपालमा ८३ हजार मेगावाट क्षमता भएको सार्वजनिक भएको छ तर अझ भारतीय जलस्रोत विज्ञहरुले गरेको अध्ययनले नेपालबाट २ लाख मेगावाटसम्म विजुली उत्पादन हुने देखिएको छ । नेपाललाई विश्वकै जलस्रोतको दोस्रो धनी भनेर चर्चा गरिन्छ, यो सत्य होइन तर सत्य के हो भने भौगोलिक आधारमा नेपाल विश्वकै दोस्रो जलस्रोतको धनी देश भने अवश्य हो । हाम्रो भौगोलिक क्षेत्रको आधारमा जलस्रोतमा धनी छौ भन्नेमा दुई मत छैन तर उत्पादनको हिसाबले सबैभन्दा हामी गरिब छौ । हामीभन्दा धनी सानो भुटान छ । यद्यपि भुटानी जलविद्युतको मोडलबारे नेपालमा विवाद छ । कसैले भुटानी मोडलमा नेपालको जलविद्युतको विकास गर्नुपर्छ भन्छन् त कसैले त्यसको विरोध गर्छन । तर यो सत्य यो होकि जलविद्युतकै कारणले भुटान धनी बन्दैछ । जलविद्युतको कारणले अपेक्षाभन्दा बढी धनी हुँदै गएको भुटानले अन्य शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतका क्षेत्रमा समेत धनी हुनका लागि ठूलो चुनौती मोल्नुपर्छ तर नेपालको जस्तो सानादेखि ठूला विकास निर्माणसम्म सहयोगका लागि हात पसारिहरनुपर्ने अवस्थाबाट भुटानले मुक्ति पाउँदैछ । उनीहरुको कुलग्राहस्थ उत्पादन (जीडीपी) चुलिदैछ । हामीलाई जलविद्युतमा भुटानी मोडल होइन नेपाली मोडल चाहिएको छ । तर त्यो नेपाली मोडल यस्तो होस्, जुन मोडलबाट बगिरहेको पानीलाई उपयोग गरेर देश धनी बनाउन सकौ । अरु देशको मोडलको विरोध गरेर र अनावश्यक विवादको केन्द्रमा जलविद्युतलाई राखेर आफ्नो देशको पानीलाई बग्न दिएर जलस्रोतमाथि राजनीति गर्ने प्रवृत्तिको अन्त्य गरौ । गुजरातमा जलविद्युतको विकासका लागि धेरै चुनौती र समस्या थिए तर मोदीले पार गरेर देखाईछाडे । नेपालमा पनि जलविद्युत विकासका लागि मोदी जस्तो प्रतिवद्ध व्यक्तिको खाँचो छ । हुन त गुजरातले जति जलविद्युत उत्पादनमा सफलता पाएको छ, त्यसको तुलनामा भ्रष्टाचार पनि चुलिएको र त्यसको कारक मोदी भएको आरोप लगाईन्छ । मोदी सर्वगुण सम्पन्न छन् भन्न खोजिएको होइन, उनका पनि कमीकमजोरी छन् होला तर उनले जलविद्युतको क्षेत्रमा गरेको योजना र पाएको सफलता साच्चीकै तारिफयोग्य छ ।
मोदी नेपालमा भ्रमणमा आउँदा मोदीका विविध आयामबारे अहिले चर्चा भईरहेको छ । सरकारले मोदी भ्रमणमा अघि सारेको उर्जा व्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीडीए) बारे पनि चर्चा परिचर्चा छ । यसबारे विरोध र समर्थन दुवै छन् । कसैले भारतले पीटीए गर्नुको पछाडी पानीको स्वार्थ भनिरहेका छन् । कसैले पीटीए नगरे जलविद्युत विकासनै नहुने चर्चा पनि गरिरहेका छन् । लोकतन्त्र भएको देशमा यो स्वभाविक हो तर गुलियो चास्नीको भन्दा तीतो सत्यता टिकायुक्त हुन्छ । नरकारात्मक हल्ला विगत २० बर्षदेखि निरन्तर चलिरहेको छ तर समाधान निस्किएको छैन । जुन तरिकाले पीटीए र पीडीएको नाममा विवाद गरिएको छ, जसले यसको विरोध गरिरहेका छन् । ‘राष्ट्रघात र राष्ट्रवाद’ सँग जलविद्युतलाई विश्लेषण गरेर यसरी नथाक्नेहरुको उमेर तन्नेरीबाट बुढ्यौलीतर्फ उन्मुख हुन लागिसकेको छ तर जलविद्युतको विकास उही छ । यसकारण अब जलस्रोतको विकासका स्थायी विरोधीहरु हर्कतको विरुद्ध सबै सक्रिय हुनुपर्ने बेला आएको छ । सुचना प्रविधिमा नेपाली जनता भारतीयभन्दा बढी जानकार छन् । यस्तो अवस्थामा विरोध गरिए जसरी भारतले नेपालमाथि थिचोमिचो गर्न सक्ने अवस्था छैन । हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको क्रममा समेत भारतीय प्रवक्ताले प्रष्ट भाषामा नेपाल र भारतबीचको वीन वीन अवस्थामा मात्र सन्धी सम्झौता हुने स्पष्ट पारिसकेका छन । नेपाली जनताको बढ्दो परिपक्वता र सुचना प्रविधिमा विकसित अवस्थामा राष्ट्रलाई अहित गर्ने गरी सरकारका कुनै प्रतिनीधिले सम्झौता गर्न सक्दैनन् । यसकारण विरोध गर्नुपुर्व किन नेपालको जलविद्युत विकास हुन सकेन र यसको सबैभन्दा विकल्पमध्येको उत्तम विकल्प केहो भन्नेतर्फ सोच्नु जरुरी छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणमा मुख्य एजेण्डाको रुपमा नेपालले पीटीए र पीडीएलाई लिएको छ । अहिलेको नेपालको विद्युत माग र भविष्यमा सबै नेपालीले विजुली पाईसकेको अवस्थालाई विश्लेषण गरेर हेर्ने हो भने अबको १० बर्षपछि १० हजार मेगावाट विजुली भए पुग्ने देखिन्छ । जबकि यसका लागि ठूला ठूला उद्योग र संरचना नेपालमा बन्नुपर्छ । अहिलेको उद्योग विकासक्रम हेर्ने हो भने खासै उत्साहप्रद देखिदैन । यसकारण नेपालको विद्युत उत्पादन क्षमतालाई बढी बढीभन्दा बढी उपयोग गर्नका लागि पीटीए हुनुपर्छ र भारतीय बजार नेपालका लागि सुरक्षित बनाउनुपर्छ । नेपालका ठूला ठूला जलविद्युत आयोजनाहरु बनाउनका लागि बजारको व्यवस्थापन हुनैपर्छ । जहाँसम्म पीडीएको कुरा हो, जलविद्युत लगानीकर्तालाई नेपाल सुरक्षित छ भन्ने देखाउनका लागि यो गर्नुपर्छ । यसले थप ठूला ठूला जलविद्युत आयोजना निर्माणका लागि बाटो खुल्छ तर पीडीए गर्दा नेपालले पाउने फाइदाबारे भने सर्तक हुनुपर्छ । नेगोशेसन गर्दा धेरैभन्दा धेरै नेपालले फाइदा लिन सक्नुपर्छ । अहिले भारतलाई ठूलो मात्रामा विजुली चाहिएको छ, नेपालले दिन सकेन भने पनि भारतले अन्य विकल्प खोजेर त्यो पुरा गर्छ नै किनकि भारतमा गफसँगै काम पनि हुन्छ भन्ने गुजरातको जलविद्युत विकास र भारतमा भएको अन्य विकास निर्माणले देखाईसकेका छन् । फरक राजनीतिका व्यक्ति प्रधानमन्त्री हुँदा पनि देश सम्वृद्धि बनाउने कुरामा भारतीयहरु एकमत हुन्छन् बिडम्बना नेपालका न विकास गर्छन, न एकमत हुन्छन् । नेपालको जलविद्युतको विकासलाई दृष्टिगत गरेर हेर्ने हो भने त पीटीए र पीडीएमा यति धेरै विवाद गर्नुपदैथ्यो । नेपालको भौगोलिक अवस्था अनुसार, हामीसँग तत्कालका लागि भारतभन्दा अर्को विजुली व्यापार गर्ने थलो छैन । भारतले स्वीकृत दिए मात्र वंगलादेशमा बेच्न सकिने हो । यी सबै परिस्थिती र परिदृष्यको विश्लेषण गरेर भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई नेपालको जलविद्युतलाई फलदायी भ्रमण बनाउनुपर्छ । पीटीएलाई अन्तिम रुप दिनुपर्छ र पीडीए गरेर अन्य ठूला जलविद्युत आयोजनाहरुको लागि विकासको ढोका खोतल्नुपर्छ । मोदी भ्रमणले भारतीय कम्पनीलाई मात्र होइन, अन्य सबै देशका कम्पनीहरुका लागि नेपालको जलविद्युत बेच्न प्रशस्त बजार छ र उपयुक्र्त वातावरण छ भन्ने सन्देश दिन सक्नुपर्छ । मोदीले जस्तै काम गरेर भोट बढाउने संस्कृतिको विकास नेपालमा हुर्काउनुपर्छ । तर यसका लागि मोदीको विगत र वर्तमानलाई विश्लेषण गर्ने खुबी भएको नेता र नीति निर्माता भने चाहिन्छ । नत्र मोदीको प्रशंसा हुन्छ तर नेपालको जलविद्युत उस्तै रहिरहन्छ ।
No comments:
Post a Comment