राजधानी समाचारदाता
काठमाडौं, १७ असार
अवरोधबाहेककै सामान्य प्रक्रिया पूरा गर्दा एउटा प्रसारण लाइन बनाउन १२ वर्ष लाग्ने नेपाल विद्युत्् प्राधिकरणको ‘गलत नीति’ अन्त्य गर्न बल्ल प्रक्रिया सुरु गरिएको छ ।
प्रसारणको सर्भेदेखि निर्माणसम्म कम्तीमा १२ वर्ष लाग्ने प्राधिकरणको नीति र प्रक्रिया गलत देखिएपछि प्राधिकरण आफैंले सो प्रक्रिया सुरु गरेको हो । प्राधिकरण सञ्चालक समितिको बैठकले प्रसारण लाइन निर्माणमा ठूलो समस्या देखिएपछि प्रक्रिया छोट्याउन र समस्या समाधानका लागि समिति निर्माण नै गरेर प्रक्रिया सुरु गरेको हो । प्राधिकरण बैठकले प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय लक्ष्मणप्रसाद अग्रवाल र मनोज मिश्रसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ ।
‘प्रसारण लाइनमा लाग्ने सम्पूर्ण समयलाई कम गर्न तथा अहिले देखिएका समस्या समाधानका लागि समितिले निश्चित कार्यविधि र निर्देशिका तयार गर्नेछ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘अहिले सामान्य प्रक्रिया अघि बढाउँदा एउटा प्रसारण लाइन निर्माणका लागि १२ वर्ष लाग्ने देखिएको छ, अहिलेको नीति र प्रक्रिया लगायतबारे गहन अध्ययन गर्नेछ ।’ छिमेकी राष्ट्र भारतमा प्रसारण लाइन बनाउन चार वर्ष मात्र लाग्ने भए पनि नेपालमा भने त्यसको तेब्बर लाग्ने गरेको छ ।
प्राधिकरणका अनुसार कम्तीमा सम्भाव्यता अध्ययनका एक वर्ष, प्रारम्भिक सर्भेका लागि दुई वर्ष, वातावरण प्रभाव अध्ययनका लागि १८ महिना, विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि ६ महिना र टेन्डर डकुमेन्ट तयार गरेर टेन्डर दिनका लागि ६ महिना लाग्छ ।
त्यसपछि पनि कम्तीमा डिटेल सर्भेका लागि एक वर्ष, डिटेल सर्भे प्राधिकरण सञ्चालन समितिमा पेस गरेर स्वीकृति गर्नका लागि तीन महिना, टावर डिजाइनका लागि ६ महिना, त्यो प्राधिकरण पेस गरेर स्वीकृतिका लागि तीन महिना, कन्ट्याक्टरले स्याम्पल टावर निर्माणका लागि ६ महिना, कर्मचारीद्वारा टावर टेस्टिङका लागि दुई महिना, टावर निर्माणका लागि एक वर्ष तथा सम्बन्धित निर्माणका लागि कम्तीमा तीन वर्ष लाग्छ ।
प्राधिकरणकै प्रक्रियाको आधारमा समेत एउटा प्रसारण लाइनको अध्ययनदेखि निर्माण पूरा गर्नका लागि कम्तीमा १२ वर्ष लाग्छ तर सरकारले यसलाई घटाउने प्रयास गरेको छैन । अझ सरकारी निकायकै समन्वयको अभावमा जग्गा अधिग्रहण र मुआब्जा वितरण, रूख कटान, वातावरणीय अध्ययनमा हुने ढिलाइलगायतमा सबैभन्दा ढिलाइ हुने गरेका छन् ।
समितिले छिमेकी राष्ट्र भारतमा प्रसारण लाइन निर्माणको विश्लेषण र अध्ययनका साथै जग्गा अधिग्रहण, मुआब्जा वितरण, क्षतिपूर्तिलगायतबारे समेत अध्ययन गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अधिकारीहरूले सम्भाव्यता अध्ययन, सर्भे, वातावरण अध्ययन, टेन्डरलगायतका प्रक्रियामा लाग्ने साढे चार वर्षलाई दुई वर्षमा तथा अन्य प्रक्रियालाई समेत आधा समयमा झार्न सकिने बताउँछन् ।
अहिले प्राधिकरणले निर्माण गरेका अधिकांश प्रसारण लाइन स्थानीयवासीको अवरोध, वन, वातावरणलगायतले गरेको अवरोधलगायतका कारणले समयमै निर्माण हुन सकेका छैनन् ।
No comments:
Post a Comment