Tuesday, July 8, 2014

मोदी आउँदा पञ्चेश्वर प्रस्ताव


काठमाडौं, २३ असार । सरकारले छिमेकी राष्ट्र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पञ्चेश्वर आयोजना अघि बढाउनका लागि प्रस्ताव गर्ने भएको छ ।
महाकाली सन्धीमा उल्लेख भएपनि विगत १९ बर्षदेखि अघि बढ्न नसकेको सो जलविद्युत आयोजना अघि बढाउनका लागि सरकारले प्रस्ताव गर्न लागेको हो । उर्जा मन्त्री राधा ज्ञवालीले मोदी नेपाल भ्रमण आउँदा सोबारे प्रस्ताव राख्न लागेको जानकारी दिइन । नेपाल–भारत विद्युत व्यापार सम्झौता लगायतका विषयमा नेपालले प्रस्ताव राख्ने पनि मन्त्री ज्ञवालीले बताइन् ।
मंगलबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समयमा विदेशीहरुले नेपालमा आएर जलविद्युत आयोजनामा लगानी गर्नका प्रस्ताव गर्ने क्रम बढेको पनि बताइन् । ‘ब्राजिल, रस्सिया, मलेसिया, अष्ट्रेलिया, चीन, अमेरिका लगायतका राष्ट्रका सरकारी निकाय र लगानीकर्ताबाट जलविद्युतमा लगानी गर्नका लागि प्रस्ताव आएका छन् ।’–उनले भनिन्–‘जलविद्युत आयोजना बनाउँछु भनेर आउने लगानीकर्तालाई आयोजना दिन सकेका छैनौ, विस्तृत अध्ययन भएका आयोजनानै सरकारसँग छैनन् ।’
विदेशबाट आउने लगानीलाई एकीकृत रुपमा परिचालन गर्नका लागि उर्जा मन्त्रालयले छुट्टै युनिट बनाउने तयारी गरेको पनि उनले जानकारी दिइन् । मन्त्रालयले नौमुरे, दुधकोशी, पञ्चेश्वर, कर्णाली चिसापानी, आँधीखोला, सप्तकोशी, उत्तरगंगा जलपिवद्युत लगायतका २५ हजार मेगावाट बराबरका आयोजनाको अध्ययन सरकारले सुरु गर्न लागेको जानकारी दिइन् ।
लोडसेडिङ न्यूनीकरणका लागि उर्जा मन्त्रालयलाई ५५ अर्ब आवश्यक परेको बताउँदै उनले साझेदारीमा सरकार सञ्चालन भएकोले अर्थ मन्त्रालयले सो बजेट दिने विश्वास व्यक्त गरिन् ।

No comments: