Tuesday, July 22, 2014

नेपाली कम्पनीबाटै ३ सय ट्रान्सफर्मर किन्दै प्राधिकरण


भीम गौतम\राजधानी
काठमाडौं, ५ साउन 
विगत दुई वर्षदेखि ट्रान्सफर्मर खरिद नभएर हाहाकार मच्चिरहेको बेला नेपाल विद्युत् प्राधिकरणले नेपाली कम्पनीबाट ३ सय ट्रान्सफर्मर खरिद गर्ने भएको छ । प्राधिकरणका उच्च अधिकारीसहित ५० भन्दा बढी ट्रान्सफर्मर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अघि बढाएपछि ट्रान्सफर्मर खरिद हुन सकेको छैन ।
प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनीसँग ३ सय ट्रान्सफर्मर किन्ने भएको हो । ट्रान्सफर्मरको अभाव र पड्केमा धेरै क्षेत्रका सर्वसाधारण अन्धकारमा बस्नु परेर सर्वसाधारण आक्रोशित भई प्राधिकरण वितरण केन्द्रमा तोडफोड समेत हुन थालेपछि प्राधिकरण सञ्चालक समितिको ६ सय ७८ बैठकले नेपालका तीन कम्पनीलाई प्रस्ताव गरी किन्ने निर्णय गरेको थियो । हालै प्राधिकरणले ट्रान्सफर्मर खरिदका लागि छनोट गरेको श्रीलंकाको एलटीसी होल्डिङ गु्रपसँगको सम्झौताकै मूल्यमा ३ सय थान ट्रान्सफर्मर किन्ने निर्णय गरी इकरात, ट्रासबेल नेपाल लिमिटेड र एभरेस्ट ट्रान्सफर्मर पीभीटीलाई प्रस्ताव पठाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको सर्तअनुसार इकरात ट्रान्सफर्मर बेच्नका लागि तयार भएपछि प्राधिकरणले खरिदका लागि प्रक्रियासमेत अघि बढाएको छ । 
प्राधिकरणका अनुसार ५० केभीएको १ सय ५० र १०० केभीएको १ सय ५० ट्रान्सफर्मर किन्ने निर्णय गरिएको छ भने ५० केभीएको प्रति एकओटा २ लाख १५ हजार ६ सय १५ रुपैयाँ तथा १०० केभीएका प्रतिगोटा ३ लाख १९ हजार ७ सय २८ रुपैयाँमा किन्ने सम्झौता श्रीलंकाको कम्पनीसँग गरिएको थियो । प्राधिकरण अधिकारीका अनुसार  सोमबार भएको वार्ताका क्रममा ५० केभीका ट्रान्सफर्मर दिन इकरात सहमत भए पनि १०० केभीको ट्रान्सफर्मर किन्नका थप ६ प्रतिशत चाहिने माग इकरातका अधिकारीले गरेका छन् । ‘इकरातसँगको वार्ताको आधारमा हामी प्राधिकरण बोर्डमा प्रस्ताव लैजान्छांै,’ ती अधिकारीले भने ।
श्रीलंका कम्पनीसँगको सम्झौतामा भने आगामी अक्टोबरबाट ३÷३ महिनाको फरकमा १ हजार ४० ट्रान्सफर्मर नेपाल ल्याई पु¥याउने सहमति भएको छ । 

No comments: