Thursday, July 24, 2014

दुई साताभित्र ६० हजार बिजुली मिटर


भदौदेखि सर्वसाधारणलाई बाँडिने
भीम गौतम\राजधानी
काठमाडौं, ६ साउन
बिजुलीको मिटर नपाएर हैरान भएका सर्वसाधारणका लागि नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गर्न लागिएका ६० हजार मिटर दुई साताभित्रै नेपाल आइपुग्ने भएका छन् ।
चीनको मिडिल साउन इलेक्ट्रिक कम्पनीमार्फत खरिद गर्न लागिएका २ लाख २० हजार मिटरमध्ये ६० हजार मिटर दुई साताभित्रै नेपाल आउन लागेका हुन् । चीनबाट नेपाल पठाइएका ती मिटर कलकत्ता नजिक आइपुगिसकेको र दुई साताभित्रै आउने प्राधिकरणले जनाएको छ ।
‘बिजुलीको मिटर छिट्टै आउँदै छ, आएपछि केही समस्या समाधान हुन्छ,’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘मिटर आइपुगेपछि परीक्षण भएर आगामी भदौदेखि सर्वसाधारणका लागि बिजुली मिटर बाँडिनेछ ।’
प्रत्येक वर्ष २ लाख मिटर आवश्यक रहे पनि गत वर्ष मिटर खरिद नगरेपछि एक वर्षदेखि सर्वसाधारण ग्राहकले मिटर पाउन सकेका छैनन् । प्राधिकरणका अनुसार देशभरका लागि ९० वितरण केन्द्रबाट तत्काल झन्डै ५ लाख बिजुली मिटरको माग आएको छ । तर, प्राधिकरणसँग एउटा पनि मिटर छैन र हाहाकार मच्चिएको छ । मिटर नभएपछि अधिकांश वितरण केन्द्रले सूचना नै जारी गरेर ग्राहकलाई मिटर दिन बन्द गरेको थियो ।
बिजुलीका लागि आवेदनसमेत नलिएपछि कतिपय ग्राहकले एउटा मिटरका लागि प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयलगायतका कार्यालयबाट सोर्सफोर्स पनि लगाएका थिए । तर, सोर्सफोर्स लगाउँदा समेत प्राधिकरणले मिटर दिन सकेको छैन ।
नयाँ मिटर नपाउँदा धेरै सर्वसाधारणले सहरमा बसेर घरमा बिजुली बाल्न पाएका छैनन् । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरण चर्केपछि प्राधिकरण व्यवस्थापनले मिटरसमेत खरिद नगरेपछि बिजुली मिटरको अभावमा हाहाकार मच्चिएको छ । मिटर नहुँदा बिजुली चोरी बढेको छ । चोरी नियन्त्रण अभियानमा अधिकांश ग्राहकले मिटर मागेपछि अभियान सञ्चालनमा समेत समस्या परेको छ ।
गत फागुनमा चीनको मिडिल साउथसँग भएको सम्झौताअनुसार अब सेप्टेम्बरको अन्त्यमा १ लाख मिटर तथा नोभेम्बरको अन्त्यमा ६० हजार मिटर नेपाल आइपुग्ने प्राधिकरणले जनाएको छ । अहिले आउने मिटरबाट सर्वसाधारणको माग पूरा हुन नसक्ने भएपछि फेरि अर्को लट मिटर खरिद गर्ने गरी प्राधिकरणले प्रक्रियासमेत अघि बढाएको छ ।

No comments: