भीम गौतम\राजधानी
काठमाडौं, १२ साउन । नेपाललाई गुणस्तरहिन ट्रान्सफर्मर पठाएर नेपाल विद्युत प्राधिकरणलाई घाटा पुर्याएको चीनको एक कम्पनीले करिब २४ लाख रुपैयाँ जरीवाना तिरेको छ ।
चीनको सेन्डम इलेक्ट्रिक पावर ट्रासमिसन एण्ड इन्जिनियरिङ कम्पनीले सन् २०१० मा पठाएका १ सय ४५ वटा ट्रान्सफर्मर गुणस्तरहिन पठाएवापत २४ हजार डलर रुपैयाँ अर्थात करिब २४ लाख जरीवाना सोमबार तिरेको हो । सो रकम चीनको कम्पनीले नेपाललाई तिरिसकेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
गुणस्तरहिन ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणका उच्च अधिकारीसहित ५० भन्दा बढी मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपनि प्राधिकरणले बेहोरेको क्षतिबारे अन्योल भईरहेको बेला प्राधिकरण सञ्चालक समितिले १५ प्रतिशतसम्म लस भेटिएका ट्रान्सफर्मरका लागि सम्झौतामा तोकिए बमोजिम र त्योभन्दा बढी भेटिए चौब्बर जरीवाना गर्ने निर्णय गरेको थियो । प्राधिकरण सो कम्पनीमार्फत खरिद गरेका ५० केभीएका ४० ट्रान्सफर्मरमा १५ प्रतिशतभन्दा बढी कम्पोनेन्ट लस तथा १०० र २०० केभीकएका १ सय ५ ट्रान्सफर्मरमा १६ देखि १७ दशमलब ८७ प्रतिशतसम्म लस भेटिएको थियो ।
सेन्डम कम्पनीसँग एमिकेबल सेटलमेन्ट (सौहार्दपूर्ण वार्ता) द्धारा समाधान गर्न तयार भएपछि प्राधिकरणले सो कम्पनीलाई २४ हजार ७१ डलर जरीवाना गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा प्राधिकरणले सम्बन्धित कम्पनीमा पत्र पठाएकोमा पत्र स्वीकार्दै जरीवाना रकम तिरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । प्राधिकरणका अनुसार, चीनको सेन्डम कम्पनीलाई ५० केभीको ट्रान्सफर्मरमा क्षतिको आधारमा १२ हजार ९ सय ३ डलर तथा १०० केभीको ट्रान्सफर्मरमा ६ हजार ६ सय ८७ र २०० केभीको ट्रान्सफर्मरमा ४ हजार ४ सय ८० डलर जरीवाना गरिएको हो ।
आर्विटेसनमा जाँदा प्राधिकरणले करोडौ रुपैयाँ खर्च गर्नुपर्ने भएकोले एमिकेबल सेटलमेन्टमा जँदा खर्च पनि नहुने र क्षतिको परिपुर्ति समेत नहुने भएपछि प्राधिकरणले १५ प्रतिशत लसभन्दा बढी लस देखिएको ट्रान्सफर्मरमा चौब्बर जरीवाना गर्ने निर्णय गरेको थियो । नेपाल आईपुगेको ९० दिनभन्दाबढी नाघेको अस्वीकृत ट्रान्सफर्मर प्रतिष्थापन गरेर नयाँ ल्याउँदा भ्याट र भन्सार शुल्क कस्ले तिर्ने तथा जडान भैसकेका ठाउँबाट झिकेर ल्याउनुपर्ने झन्झटबाट मुक्तिका लागि प्राधिकरणले सो निर्णय गरेको हो । प्राधिकरणको निर्णय अनुसार, ग्यारेण्टी भ्यालुभन्दा बढी १५ प्रतिशतसम्म लस भएमा ती ट्रान्सफर्मर स्वीकारेर सम्बन्धित कम्पनीलाई नो लोड लसमा प्रति युनिट ४ ६ सय ८४ डलर तथा लोड लसमा प्रति युनिट ६१८ डलरलाई आधार मानेर त्यसलाई पुँजीकरण गरी दोब्बर जरीवाना लिने सम्झौता भएपनि त्यसभन्दा बढीका माथि लस हुनेलाई के गर्नेभन्द स्पष्ट थिएन ।
No comments:
Post a Comment