भारतीय विदेश मन्त्री स्वराज आज आउँदै
भीम गौतम\राजधानी
काठमाडौं, ८ साउन । आज शुक्रबारदेखि काठमाडौमा विदेश मन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक शुरु हुँदै छ ।
२३ बर्षपछि हुन लागेको सो बैठकको नेतृत्व गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आउँदैछिन् । नेपालको नेतृत्व भने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले गर्नेछन् । सन् १९८७ मा स्थापना भएको आयोगको दोस्रो बैठक सन् १९९१ मा बसेपनि त्यसपछि बस्न सकेको थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० दिनपछि गर्न लागेको भ्रमणको पुर्व तयारीको रुपमा लिएको सो बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
नेपाल र भारत बीचको ऐतिहासिक, निकट तथा बहुआयमिक सम्बन्धका विभिन्न पक्षहरुमा कार्यगत सम्बन्धलाई संस्थागत गर्न ३२ संयन्त्र रहेकोमा विदेश मन्त्रीस्तरीय सो आयोगलाई महत्वपूर्ण संयन्त्र मानिन्छ ।
नेपालका परराष्ट्र मन्त्री पाण्डेको निमन्त्रणमा आउन लागेकी स्वराज नेतृत्वको १९ सदस्यीय टोली र नेपाली टोलीबीच १० र ११ साउनमा औपचारिक वार्ता हुनेछ भने आज शुक्रबार दुई देशका अधिकारीहरुबीच पुर्व तयारी बैठक हुने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले जानकारी दिए ।
वार्ताका लागि नेपालले मुख्य गरी पाँच एजेण्डा तयार गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार, पाँच एजेण्डामा राजनीति, सुरक्षा, सीमाना तथा सीमा व्यवस्थापनका साथै आर्थिक सहयोग तथा पुर्वाधार, उर्जा तथा जलस्रोत र संस्कृति, शिक्षा र मिडिया छन् । आज शुक्रबार दुवै देशका प्रतिनीधिहरुले गर्ने पुर्व तयारी बैठकले एजेण्डा अन्तर्गतका विषयकहरु छनोट भएपछि शनिबार र आईतबार हुने बैठकमा ती विषयबारे औपचारिक वार्ता हुनेछ ।
बैठकमा नेपाल विद्युत व्यापार सम्झौता (पीटीए), भौतिक पुर्वाधार विकास, पञ्चेश्वर जलविद्युत आयोजना, माथिल्लो कर्णाली, अरुण तेस्रो लगायतका भारत निकासी गर्ने गरी बन्न लागेको आयोजना, कर्णाली चिसापानी, सप्तकोशी उच्चबाँध बहुउद्देश्यीय आयोजना, दुई देशको अन्तरदेशीय प्रशारण लाइन, मध्यपहाडी लोकमार्ग, डुबान समस्या लगायतका विषयमा छलफल हुनेछन् । नेपालको बढ्दो व्यापार घाटा, वाणिज्य तथा पारवहन सन्धीका अवरोधहरु, कृषिजन्य उत्पादनको सहज निकासी, भन्सार सहजीकरण, ऋण सहायता वृद्धि, लगायतका विषयमा समेत बैठकमा उठ्नेछन् ।
आयोगको पहिलो र दोस्रो बैठकमा भएका निर्णय तथा कार्यवन्यनको अवस्थाबारे समेत छलफल हुने कार्यक्रम हुने कार्यक्रम छ । प्रवक्ता धितालले पुराना प्रस्तावित एजेण्डाका साथै नेपालले भारतस“ग अघि बढाउन लागेका आयोजना र भविष्यको सम्भाव्यताबारे समेत छलफल हुने बताए ।
स्वराजको नेतृत्व टोलीमा भारतीय विदेश मन्त्रालयका आर्थिक हेर्ने सचिव सुजाता मेहताका साथै उद्योग तथा वाणिज्य, शिक्षा, उर्जा, रेल वे लगायतका मन्त्रालयका प्रतिनीधि समेत नेपाल आउँदैछन् । सो टोलीमा नेपालस्थित भारतीय दूतावासका प्रतिनीधि समेत थपिएर नेपाली टोलीसँग वार्ता हुने कार्यक्रम छ । त्यसैगरी परराष्ट्र मन्त्री पाण्डेको नेतृत्वमा हुने नेपाली टोलीमा अर्थ, उर्जा, कृषि, उद्योग वाणिज्य लगायतका प्रतिनीधि सहभागी हुँदैछन् ।
विदेशमन्त्री स्वराजले यो भ्रमणमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शुशील कोइराला, प्रमुख प्रतिपक्ष दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका साथै प्रमुख दलका प्रतिनीधिहरुसँग पनि भेट्ने कार्यक्रम छ ।
बैठकले दुई मुलुकबीच देखिएका विद्यमान समस्या र समाधानका लागि सहयोग पुर्याउने नेपाली अधिकारीले अपेक्षा गरेका छन् ।
No comments:
Post a Comment