राजधानी समाचारदाता
काठमाडौं, २५ असार
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमीटेडले एसियाली विकास बंैक (एडीबी) सँग ५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ ।
जलविद्युत् आयोजनामा थप लगानी तथा सेयर हाल्नका लागि एडीबीसँग कम्पनीले ५० मिलियन डलर अर्थात् ५ अर्ब रुपैयाँ ऋण लिन लागेको हो । ‘कम्पनीले निर्णय गरेर एडीबीसँग ऋणका लागि अनुरोध गरिसकेको छ, एडीबी पनि सकारात्मक छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भने, ‘एक÷डेढ प्रतिशतको सहुलियत ब्याजमा सो रकम लिन लागिएको हो, अब छिट्टै हुन्छ ।’
जलविद्युत् कम्पनीले ४२ मेगावाटको मिस्त्री खोलामा ९६ करोड ६० लाख, २७ मेगावाटको दोर्दी खोलामा ५० करोड, २३ दशमलव ५ मेगावाटको सोलु खोलामा २० करोड र ३० मेगावाटको खानी खोलामा ४० करोड लगानी गर्ने निर्णय गरिसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत रौनियारले जानकारी दिए । उनले २१ दशमलव ६ मेगावाटको हेवा खोला, २५ मेगावाटको काबेली बी १८२ मेगावाटको तल्लो सोलु, २० मेगावाटको स्मल बाग्मती, ३० मेगावाटको न्यादी खोला र ८२ मेगावाटकै माथिल्लो सोलु जलविद्युत् आयोजनाका लागि प्रस्ताव आएको र निर्णयको चरणमा रहेको जानकारी दिए । उनले जलविद्युत् आयोजनाको विस्तृत अध्ययन डिजाइन (डीईडी) मा समेत कम्पनीले लगानी गर्न लागेको बताए । ‘दुई जलविद्युत् आयोजनामा सेयर लगानीका लागिसमेत गरिसकेका छांै, अब आयोजनाहरूको विस्तृत अध्ययनसमेत गर्नेछांै,’ उनले भने ।
कम्पनीले २ अर्ब रुपैयाँबराबरको सेयरसमेत जारी गर्न लागेको कार्यक्रममा जानकारी दिइएको थियो । ‘सेयरका लागि नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छौं, स्वीकृतिपछि सर्वसाधारणका लागि सेयर जारी गर्छांै ।’
स्थापना भएको तेस्रो वर्ष पूरा गरेको कम्पनी यस वर्षदेखि जलविद्युत् आयोजनामा ऋणको अलावा लगानी (इक्वेटी) समेत गर्न लागेको जानकारी उनले दिए । सरकारले नलसिंहगाढ जलायशयुक्त जलविद्युत् आयोजनामा सहवित्तीयकरणका लागि अनुरोध गरे कम्पनी तयार रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
No comments:
Post a Comment