भीम गौतम\राजधानी
काठमाडौं, १३ साउन । आगामी कार्तिकमा हुन लागेको सार्क सम्मेलनका लागि काठमाडौका सडकलाई झिलिमिलि बनाइने भएको छ ।
अहिले बर्षमा समेत दैनिक सात घण्टा लोडसेडिङ भईरहेको र कार्तिकमा झन बढ्ने भएपनि लोडसेडिङ नहुने गरी काठमाडौका सडकलाई नेपाल विद्युत प्राधिकरणले झिलिमिल बनाउन लागेको हो । सार्क सम्मेलनमा आउने पाहुनाहरुले आवात जावत गर्ने अधिकांश सडकमा विशेष बत्ती जडान गरेर प्राधिकरणले काठमाडौका सडकलाई झिलिमिलि बनाउन लागिएको प्राधिकरण मध्यशाखा प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । ‘६ क्षेत्र पहिचान गरेर ती क्षेत्रका सडकमा विशेष बत्ती जडान गर्न लागेका छौ ।’–उनले भने–‘ सबै सडकलाई झिलिमिल पार्न सरकारसँग २१ करोड रुपैयाँ बजेट मागिएको छ, सरकारले रकम दिने वित्तिक्कै सडकमा विशेष बत्ती जडान लगायतका कार्य छिट्टै सुरु हुन्छ ।’ सडकलाई पुरै उज्यालो बनाउने गरी योजना अघि बढाईएको उनले जानकारी दिए ।
प्राधिकरणका अनुसार, सार्क सम्मेलनको क्रममा पाहुनाहरुको बसोबासस्थलदेखि घुमफिर गर्ने क्षेत्रसम्मका सडकमा विशेष बत्ती जडान गरिनेछन् । सम्भव भएसम्म सोलारमार्फत र नभएपनि प्राधिकरणकै विजुली दिएर अध्यारो नपार्ने योजना प्राधिकरणको छ । अहिले अधिकांश सडक बत्तीदेखि तार समेत व्यवस्थित छैन ।
प्राधिकरणका अनुसार, प्राधिकरणले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, जमलदेखि नारायणगोपाल चोकको सार्क सचिवालयसम्म र न्यूरोड गेटदेखि हनुमान ढोकासम्मको सडकमा समेत विशेष सडक बत्तीको व्यवस्था गर्न लागिएको छ । त्यसैगरी टुँडिखेल वरिपरि, सम्मेलनस्थल राष्ट्रिय सभागृह वरिपरि, पाहुनाहरु घुम्ने सम्भावित भक्तपुर र पाटन दरबार स्वाक्यर लगायतका क्षेत्रका सडकहरुम समेत बत्ती जडान गरेर झिलिझिलि पार्ने योजना प्राधिकरणको छ । त्यसैगरी पाहुनाहरु पशुपतिनाथ मन्दिर, स्यम्भु, बौद्ध लगायतका धार्मिक क्षेत्रमा समेत पाहुनाहरु जान सक्ने भएकोले ती क्षेत्रका सडकमा समेत व्यवस्थित रुपमा सडक बत्तीको व्यवस्थापन गर्न लागिएको छ । पाहुनाहरुको कार्यक्रम र योजनको आधारमा अन्य क्षेत्रमा समेत आवश्यकता अनुसार सडक बत्तीको व्यवस्था गर्ने योजना प्राधिकरणको छ ।
प्राधिकरणले उर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेटका लागि पठाएकोमा बजेट आउने वित्तिक्कै सडकमा बत्ती व्यवस्थापनको काम सुरु हुने प्राधिकरणले जनाएको छ । ‘बजेट नआउञ्जेलका लागि हामीले सडक बत्ती कसरी व्यवस्थित गर्ने, कहाँ कहाँ सोलार र कहाँ प्राधिकरणको केन्द्रीय ग्रीडबाट कसरी लाइन जोड्ने भन्नेबारेमा छलफल गरिरहेका छौ ।’–उनले भने ।
अहिले सडक बत्तीको अवस्था भने नाजुक छ । कतै चिम छैन भने कतै तार पनि व्यवस्थित छैन । कतै पोल समेत पुरानो अवस्थामा छन् । प्राधिकरणले सडकबत्तीसँगै यी क्षेत्रमा आवश्यकता अनुसार नयाँ पोल, भएका पोलमा रंगरोहन, नयाँ चिम राख्ने लगायतका कार्य प्राधिकरणले अघि बढाउन लागेको छ ।
No comments:
Post a Comment