Monday, July 21, 2014

घिसिङलाई फिर्ता बोलाएपछि चार आयोजनाकै काम ठप्प


–तीन  कर्मचारी र दबाब समूहद्धारा विरोध
राजधानी संवाददाता
रसुवा÷सिन्धुपाल्चोक, ३ साउन ।
चिलिमे जलविद्युत कम्पनीमा प्रबन्धक सञ्चालक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणले फिर्ता बोलाएपछि उत्पन्न आन्दोलनको कारण चार आयोजनाको काम ठप्प भएको छ ।
स्थानीयबासीहरुले घिसिङलाई पुर्नबहाली गर्नुपर्ने माग राख्दै चिलिमेका सहायक कम्पनीहरु साढे ४२ मेगावाटको तल्लो साञ्जेन र साढे १४ मेगावाटको माथिल्लो साञ्जेन, १ सय ११ मेगावाटको रसुवा गढी र १ सय २ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाहरुको साईट अफिसमा तालाबन्दी गरेपछि आयोजनाको काम ठप्प भएको हो । आयोजनाका कार्यरत कर्मचारीहरुले आन्दोलनको कारण देखाउँदै काम गर्न छोडेपछि काम समेत ठप्प भएको ती आयोजनाका अधिकारीहरुले बताएका छन् । रसुवागढीमा कार्यरत कर्मचारीहरुले समेत विज्ञप्तिनै जारी घिसिङलाई फिर्ता माग गरेका छन् ।
५ असारमा चार बर्षे अवधि सकिएका घिसिङलाई प्राधिकरण बोर्ड बैठकले म्याद नथपी फिर्ता बोलाएको हो । घिसिङ फिर्ता हुँदा चारै आयोजनाको काममा असर पर्ने बताउँदै स्थानीयबासीले आन्दोलन सुरु गरेका छन् ।
कुलमान घिसिङलाई चिलिमे जलविधुत कम्पनीमा पदस्थापन नगरे सम्म अयोजनामा लगाएको ताला नखोलिने बरु थप आन्दोलन गर्ने चिलिमे गाविस वडा नम्बर २ स्थानिय बासि गुम्बुछिरिङ तामाङले बताए ।

यसैगरी प्राधिकरणका तीन कर्मचारी संगठन र कर्मचारी दबाब समूहले विज्ञप्ति जारी चार आयोजनालाई प्रभावित गर्ने गरी घिसिङलाई फिर्ता बोलाएको भन्दै त्यसको विरोध गरेका छन् । प्राधिकरण कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन र कल्याण परिषद तथा दबाब समूहको तर्फबाट विज्ञप्ति जारी गरी चारै आयोजना सुचारु अघि बढाउनका लागि घिसिङ फिर्ताको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।


No comments: