Thursday, July 31, 2014

‘मोदी भ्रमणबाट उर्जा र पुर्वाधारमा ब्रेकथ्रु’


भीम गौतम\राजधानी
काठमाडौं, १४ साउन
आइतबारदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई उच्च प्राथमिकता दिँदै सरकारले भ्रमणबाट उर्जा र पूर्वाधार क्षेत्रमा ‘ब्रेक थु्र’ हुने अपेक्षा गरेको जनाएको छ ।
हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गरेको भ्रमणको क्रममा पुराना मुद्दाहरुबारे सहमति भइसकेकाले मोदी भ्रमणमा नयाँ मुद्दाहरु सरकारले अघि सार्ने र यसबाट विशेष गरी उर्जा र पूर्वाधार क्षेत्रमा ब्रेक थु्र (दुई देशबीच नयाँ आयाम) हुने अपेक्षा सरकारको छ ।
‘मोदी भ्रमणले नेपाल र भारतबीच नयाँ उच्चाईको सम्बन्ध स्थापित गर्ने र विशेष गरी उर्जा र पूर्वाधार क्षेत्रमा ब्रेक थु्र नै हुने अपेक्षा गरेका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले भने, ‘के के नयाँ एजेण्डाहरु उठाउने भन्ने अन्तिम टुंगो लागिसकेको छैन तर नेपालले उर्जा र पूर्वाधारलाई बढी जोड दिन लागेको छ ।’
उनका अनुसार, तत्कालीन भारतीय प्रधानमन्त्री आईके गुजरालले गरेको भ्रमणको १७ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई प्राथमिकतामा राख्दै भ्रमण गर्न लागेकाले सरकारले भ्रमणलाई फलदायी बनाउनका लागि गम्भीर गृहकार्य गरिरहेको छ । तत्कालीन प्रधानमन्त्री गुजरालले सन् १९९७ मा नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि दुई देशबीच औपचारिक भ्रमण भएको छैन ।
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले समेत भारतीय विदेश मन्त्रीको भ्रमणको क्रममा धेरै पुराना कुराहरुमा सहमति भइसकेकोले भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ नयाँ मुद्दामा सहमतिका लागि सरकारले गृहकार्य गरिरहेको बताए । ‘विशेष गरी उर्जा, पूर्वाधारका साथै आर्थिक मुद्दाहरुमा बढी केन्द्रित छौं,’ उनले भने, ‘के के एजेण्डाहरुमा भन्ने तय हुन बाँकी छ, शुक्रबार सबै एजेण्डा फाइनल हुन्छ ।’
    नेपालले भारतसँग केही आयोजना उपहार माग्न लागेको बारे भन्ने परराष्ट्र मन्त्री पाण्डेले उपहार भनेर झोला माग्ने प्रवृत्ति अन्त्यको पक्षमा नेपाल रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्रीले सहयोग गर्न चाहे नेपाल स्वागत गर्न तयार रहेको बताए ।
    भारतीय मोदीको भ्रमणको क्रममा सरकारले विद्युत व्यापार सम्झौता (पीटीए) लाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय सहमतिको आधारमा पीटीए गर्ने प्रकृया अघि बढीसकेकोले सहमतिका लागि अन्तिम चरणमा पुगेको परराष्ट्रले जनाएको छ । त्यसैगरी सरकारले ७ सय ६५ केभीको लम्कीदेखि रायबरेलीसम्मको चार सय किलोमिटर लामो तेस्रो अन्तरदेशीय प्रशारण लाइन, २ सय ५२ मेगावाटको तमोर जलविद्युत आयोजना, रेल मार्ग, टमा सेन्टर निर्माण लगायतको प्रस्ताव समेत अघि बढाउन लागेको परराष्ट्र स्रोतले जनाएको छ । 
    बिहीबारसम्म सबै एजेण्डाहरु तयार गरेर तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच सहमति गराई बिहीबार वा शुक्रबार बस्ने मन्त्री परिषदबाट समेत पारित गरेर भारतीय प्रधानमन्त्री मोदी समक्ष सरकारले एजेण्डा प्रस्तुत गर्न लागेको छ । सहमतीय आधारमा एजेण्डाहरु तयार गरेर भारतीय प्रधानमन्त्रीसँगको वार्तामा राख्दा कम विवादित हुने अपेक्षा सरकारको छ ।
    यसैबीच परराष्ट्र मन्त्री पाण्डेले भारतीय विदेश मन्त्री स्वराजसँग भएको २६ बुँदे सहमतिको बुधबार संसदमा जानकारी दिँदै सरकारले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई फलदायी बनाउनका लागि गृहकार्य गरिरहेको बताएका थिए ।

No comments: