Monday, July 28, 2014

मोदी भ्रमणमा उर्जाका तीन प्रस्ताव


–मोदीको भ्रमणमै व्यापार सम्झौता गर्ने उर्जा मन्त्रीको घोषणा
–विरोधी माओवादी समेत व्यापार सम्झौतामा सहमत
भीम गौतम\राजधानी
काठमाडौ, १२ सबउन । आगामी आइतबारदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणका लागि उर्जा मन्त्रालयले तीन ठूला प्रस्ताव तय गरेको छ ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजको भ्रमणकै क्रममा अघि सारेको बहुचर्चित विद्युत व्यापार सम्झौता (पीटीए) सहित उर्जा मन्त्रालयले ७ सय ६५ केभीको लम्कीदेखि रायबरेलीसम्मको चार सय किलोमिटर लामो तेस्रो अन्तरदेशीय प्रशारण लाइन र २ सय ५२ मेगावाटको तमोर जलविद्युत आयोजना गरी तीन प्रस्ताव तय गरिएको उर्जा मन्त्री राधा ज्ञवालीले जानकारी दिइन् । उनका अनुसार, तीनवटै प्रस्ताव मन्त्रालयमार्फत भारतीय पक्ष समक्ष पठाईसकिएको छ । उर्जा मन्त्री राधा ज्ञवालीले सो प्रस्तावबारे प्रधानमन्त्री शुशील कोइराला लगायतका सरकारका बरिष्ठ मन्त्रीहरु समक्ष छलफल समेत गरिसकेकी छिन् ।
सोमबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीकै भ्रमणकै अवधिमा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गरिन् । मन्त्री ज्ञवालीले सम्झौताका लागि पहिला सचिवस्तरीय वार्ताका लागि प्रयास भएपनि तत्कालीन अवस्थामा प्रधानमन्त्री देश वाहिर र मन्त्री परिषदले स्वीकृत नदिएपछि वार्ता नभएपनि अब मन्त्रीस्तरमा प्रस्ताव आदानप्रदान र छलफल गरेर सम्झौता गर्न लागेको दाबी गरिन् । ‘मोदी आउनु अघिनै सम्झौतालाई अन्तिम रुप दिनका लागि दिनरात नभनी गृहकार्य गरिरहेका छौ, मलाई विश्वास छ, मोदीकै भ्रमणका क्रममा व्यापार सम्झौता हुन्छ ।’–उनले भनिन् ।
तीन ठूला दलका साथै संविधानसभा बाहिर रहेको नेकपा माओवादी र राप्रपा नेपाल समेत सम्झौताको पक्षमा रहेकोले सम्झौता हुने उनको दाबी थियो । ‘व्यापार सम्झौताका लागि नेपाली कांग्रेस, एमाले र माओवादीका साथै विरोधमा रहेको नेकपा माओवादी समेत सहमत भैसकेको छ ।’–उनले भनिन्–‘दक्षिणपन्थी मानिएको राप्रपा नेपाल पनि सहमत भएको छ, कमल थापासँग मैले छलफल गरेको थिएँ ।’–उनले भनिन् । सम्झौताको विरुद्धमा रहेको नेकपा माओवादीका नेता देव गुरुङसँग उर्जा मन्त्री ज्ञवालीले  शनिबार छलफल गरेकी थिइन् । संसदको प्राकृतिक स्रोत साधन समितिले समेत आइतबार सम्झौता तुरुन्त गर्न निर्देशन दिएको थियो । देशका लागि आवश्यक भएको यो सम्झौताबारे अनावश्यक विवाद गरिएपछि विदेश मन्त्रीको भ्रमणमा सम्झौता नभएपनि यस विषयमा दुवै  देशका उर्जा मन्त्रालयस्तरीय संयन्त्र बनाएर अघि बढ्ने निर्णय गरिएको थियो ।
त्यसैगरी पश्चिम क्षेत्रमा हाल ४ हजार ७ सय मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन रहेको तथा ठूलो क्षमताको प्रशारण लाइन आवश्यक भएकोले ७ सय ७५ केभीको ठूलो अन्तरदेशीय प्रशारण लाइन बनाउनका लागि मोदीको भ्रमणमा प्रस्तावित गर्न लागेको उर्जा मन्त्री ज्ञवालीले जानकारी दिइन् । सो त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको क्रममा २ सय ५० मेगावाट बराबरको जलविद्युत आयोजना नेपाललाई उपहार दिने चर्चा भईरहेको बेला उर्जा मन्त्रालयले २ सय ५२ मेगावाटको तमोर जलविद्युत निर्माणका लागि सहयोग गर्न प्रस्ताव गर्न लागेको हो । ‘भारतीय प्रधानमन्त्रीले नेपालको कुनै जलविद्युत आयोजना बनाउन चाहेमा सजिलो होस् भनेर हामीले तमोर प्रस्ताव गर्न लागेका हौ ।’–उनले भनिन् ।
सात सय मेगावाटको आयोजना भएपनि ३७ मेगावाटको काबेली आयोजना डुब्ने कारण देखाउँदै सो आयोजनाको क्षमता घटाएर २ सय ५२ मेगावाट मात्र बनाउन लागेको छ । बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी काबेली इनर्जी लिमिटेडले सो आयोजना बनाउन लागेको छ ।






No comments: