भीम गौतम\राजधानी
काठमाडौं, २ साउन ।
काभ्रे र रामेछापको सिमानामा पहिचान भएका दुई ठूला जलाशय जलविद्युत आयोजनाको अध्ययन नगर्न जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) ले लविङ गरेको छ ।
५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो र ११ सय १० मेगावाटको सुनकोशी दोस्रो जलाशययुक्त आयोजनाको अध्ययन नगर्न जाइकाले लविङ गरेको हो । जाइकासँगै जापानीज राजदूतावासले समेत विभिन्न सरकारी निकायमा पुगेर दुवै आयोजनाको अध्ययन अघि नबढाउन लविङ गरेको छ तर उर्जा मन्त्रालयका अधिकारीहरुले अहिले सम्भाव्यता अध्ययनको चरणमा मात्र भएकोले रोक्न नसकिने बताएको छ ।
एशियाली विकास बैक (एडीबी) को २१ मिलियन डलरको सहयोगसहित सरकारको २६ मिलियन डलरमा दुवै आयोजनाको आगामी बर्ष अध्ययन लागिएको छ तर सो आयोजना निर्माण गर्दा वीपी राजमार्ग डुब्ने लगायतका कारण देखाउँदै अध्ययन अघि नबढाउन लविङ हो । उर्जा मन्त्रालयका अधिकारीहरुसँग भेटेर जाइकाका प्रतिनीधिहरुले अध्ययन अघि नबढाउन दबाब समेत दिएका थिए । ‘जाइकाका प्रतिनीधिहरु मन्त्रालयनै आएर अध्ययन नगर्न भनेका थिए ।’–मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने–‘हामीले अध्ययनको कार्य रोक्न नसक्ने बताएका छौ ।’ सुनकोशी दोस्रो र तेस्रो अध्ययनको चरणमै रहेकोले निर्माण सुरु गरेर सम्पन्न गर्नका लागि १०÷१५ बर्ष लाग्ने हुनाले अहिले अध्ययन रोक्न नसकिने उनको तर्क थियो । ‘अध्ययन सकेपछि त्यो आयोजना बनाउँदा फाइदा देखिने भयो भने सरकारले बनाउने हो, त्यो बनाउँदा सडकदेखि वस्तीसम्मको समस्यालाई निराकरण गरेर मात्र सरकारले सूरु गर्छ ।’–उनले भने ।
सुनकोशी दोस्रो र तेस्रो दुवै जलायशयुक्त आयोजनाको एक साथै विद्युत विकास विभागले अध्ययन अघि बढाउन लागेको छ तर जाइकाले सुनकोशी दोस्रो बनाउँदा वीपी राजमार्गको २५ प्रतिशत सडक डुबानमा पर्ने उल्लेख गर्दै यो अघि बढाउन अनुरोध गरेको स्वीकारेको छ । ‘यो बनाउँदा २५ प्रतिशत सिन्धुली सडक डुब्छ, यसले झण्डै २७ विलियन येनको लगानी खेर जान्छ ।’–जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनीधि तुसुतोमा सिमिजुले भने–‘मलाई विश्वास छ नेपालको सरकारले विविध पक्षलाई दृष्टिगत गरी जापानी जनताको सहयोगलाई खेर जान दिँदैन ।’ उनले सुनकोशी आयोजनाको निर्माणलाई आफूले समर्थन गर्न नसक्ने पनि उनले बताएका छन् ।
जाइकाले सन् १९८३ मै पूर्वसम्भावना अध्ययन गरेको थियो । उर्जा मन्त्रालयका अधिकारीहरुले भने जाइका आफैले दुवै आयोजनाको पहिचान गरेको र पछि वीपी राजमार्ग त्यही ठाउँमा बनाउँदा नेपालको ठूलो जलविद्युत आयोजनाको निर्माणमा अप्ठेरो परेको उल्लेख गरेको छ । अझ सुनकोशी तेस्रो जलविद्युत आयोजना त जाइका आफैले गरेको अध्ययनको क्रममा नेपालको दश उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक हो । ‘चतरादेखि सप्तकोशी–१, सुनकोशी–१, २ र ३ गरी धेरै ठूला आयोजनाहरु यी क्षेत्रमा छन्, यी आयोजना बनाउँदा धेरै पुर्वाधार पनि डुब्छन् ।’–प्रवक्ता अधिकारीले थपे–‘सरकारले समन्वयन नगर्दा यो समस्या आएको हो तर यसकै आधारमा जलविद्युत आयोजना नबनाउने हो भने नेपालको जलविद्युतको उत्पादनको क्षमता घट्दै जान्छ ।’ पुर्व सम्भाव्यताको अध्ययनको क्रममा छिमेकी राष्ट्र भारतबाट चतराहुँदै दोलालघाटसम्म पानी जहाज ल्याउन सकिने समेत अध्ययनको चरणमा देखिएको थियो तर अहिलेसम्म यहाँ पहिचान भएका अधिकांश जलविद्युत आयोजनाको अध्ययन कार्य अघि बढ्न सकेको छैन ।
सुनकोशी दोस्रो तथा तेस्रो जलविद्युत आयोजना अघि बढाउन स्थानीयबासीहरुले सरकारलाई दबाब दिँदै आएका छन् । सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन लगायत सम्पन्न गरेपछि मात्र आयोजना निर्माण सुरु गरिने हुनाले अझै सरकारले उच्च प्राथमिकता दिएमा आयोजना सुरु गरेर सम्पन्न गर्न १५ बर्ष लाग्ने भएकोले अहिले नै सम्भाव्यता अध्ययनको कार्य रोक्न नहुने तर्क उर्जाका अधिकारीहरुको छ ।
विद्युत विकास विभागमा सुपरिटेयडेन्ट इन्जिनियर एवं सुनकोशी दोस्रो, तेस्रो आयोजनाको अध्ययन आयोजनामा प्रमुख सुवर्ण श्रेष्ठले आगामी आर्थिक बर्षदेखि सम्भाव्यता अध्ययन सुरु गर्न लागेको जानकारी दिए । उनका अनुसार, दुई बर्षभित्र सम्भाव्यता अध्ययन सम्पन्न गरिसक्ने लक्ष्य छ ।
जलासययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या भयावह भइरहेका बेला काठमाडौबाट ७० किलोमिटर दुरीमा रहेका दुवै आयोजना उपत्यकाको लोड धान्न उपयुक्त आयोजनाका रूपमा हेरिएको छ ।
No comments:
Post a Comment