Monday, July 28, 2014

चिलिमे छानवीन गर्न समिति


    काठमाडौं, १२ साउन । उर्जा मन्त्री राधा ज्ञवालीले पछिल्लो समयमा चिलिमे जलविद्युत आयोजना सम्बन्धी विवादबारे विस्तृत अध्ययन गर्न छानवीन समिति गठन गर्न लागेको जानकारी दिएकी छिन् ।
    मन्त्री ज्ञवालीले चिलिमे जलविद्युतबारे नयाँ नयाँ विवादका विषयवस्तु उठेकोले आफूले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेलाई छानवीन समिति गठन गरी विस्तृत रुपमा अबिलम्ब छानवीन गर्न निर्देशन दिईसकेको बताइन् ।
    प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीमा प्रबन्धक सञ्चालक कुलमान घिसिङलाई हटाएपछि चिलिमेका सहायक कम्पनीमा काम बन्दका साथै तालाबन्दी जस्ता विरोधको कार्यक्रम हुँदै आएको छ । रसुवागढीमा स्थानीयबासीले घिसिङको पुर्नबहालीको माग गर्दै काम ठप्प पारेका छन् । उनीहरुले चीनीयाँ ठेकेदार कम्पनीलाई काम ठप्प पारिएको समेत विज्ञप्ति समेत दिएका छन् । त्यसैगरी चिलिमे जलविद्युत गृहमा पनि तालबन्दी गरिएको छ ।
    यसैगरी घिसिङको पुर्नबहालीका लागि पाँच दिने अल्टिमेटम दिँदै स्थानीयबासीले माग पुरा नभए चिलिमे जलविद्युत कम्पनी लिमिटेडको हेडवक्र्समा पानी कटौती गरी पावर प्लान्ट चल्न नदिने चेतावनी समेत दिएका छन् ।
    मन्त्री ज्ञवालीले भने सबै आयोजनाको काम सुचारु रुपमा अघि बढाउन आवश्यक शान्ति सुरक्षाका लागि नेपाल विद्युत प्राधिकरणले माग गरेको र गृह मन्त्रालयमा शान्ति सुरक्षाका लागि माग गर्न लागिएको जानकारी दिइन । ‘एउटा दशौ तहको कर्मचारीलाई म्याद सकिएपछि फिर्ता बोलाएकोमा अहिलेसम्म हाजिर हुन आएको छैन ।’–उनले भनिन्–‘ प्राधिकरणको लगानी भएको आयोजनाहरुमा राज्यको दायित्व भएकोले शान्ति सुरक्षाको व्यवस्था गर्न लागेका छौ ।’

No comments: