Tuesday, January 14, 2014

चुहावट नियन्त्रण गर्न कर्मचारी अभाव


भीम गौतम\राजधानी
काठमाडौं, २९ पुस
वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको चुहावट हुने नेपाल विद्युत् प्राधिकरणमा चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव भएको छ । चालू आर्थिक वर्ष २०७०÷०७१ भित्र नै २५ प्रतिशत रहेको चुहावटलाई घटाएर २३ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य रहेको भए पनि चुहावट नियन्त्रणका लागि कर्मचारीको अभाव रहेको हो । चुहावट नियन्त्रणका लागि सक्रिय वितरण ग्राहक सेवा निर्देशनालयमा २ सय ८४ इन्जिनियर आवश्यक भए पनि हाल १ सय ३२ मात्र कार्यरत छन् ।
‘चुहावट नियन्त्रणलगायतका कार्यक्रमका लागि १ सय ५२ जना इन्जिनियर मात्र अपुग छन् ।’ ग्राहक तथा वितरण शाखाका एक कर्मचारीले भने, ‘कर्मचारी अपुग रहेका कारण चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।’ प्राधिकरण स्रोतका अनुसार नयाँ संरचना बनाउँदा उल्लेख गरिएका दरबन्दीको अभावमा चुहावट नियन्त्रणका साथै टीओटी मिटर डाउनलोडलगायतमा समेत समस्या भएको छ । प्राधिकरणका अनुसार, क्षेत्रीय कार्यालयमा इन्जिनियरतर्फ मात्र विराटनगरमा २८ जना, हेटांैडामा १६, जनकपुरमा २७, काठमाडांैमा १५, पोखरामा १५, बुटवलमा १८, नेपालगन्जमा २० र अत्तरिया क्षेत्रमा १२ इन्जिनियरको अभाव छ ।
इन्जिनियरका साथै अन्य कर्मचारीसमेत अभाव भएपछि प्राधिकरणलाई चुहावट नियन्त्रण गर्न समस्या परेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । प्राधिकरणले १ दशमलव ५ प्रतिशत चुहावट घटाउन निर्देशन दिएपछि अधिकांश क्षेत्रीय कार्यालयहरूले चुहावट नियन्त्रण अभियान सुरु गरिसकेका छन् । कार्यक्रम सुरु गरेपछि जिल्ला–जिल्लामा मिटरको माग बढे पनि प्राधिकरणसँग मिटर नहुँदा अर्को समस्या परेको छ । ‘काठमाडौंको केन्द्रीय कार्यालयमा कर्मचारी थुप्रिएका छन् तर जिल्लामा छैनन् ।
नियन्त्रण अभियानपछि मिटरको माग बढेको छ तर दिन सकेका छैनांै,’ एक क्षेत्रीय कार्यालयका कर्मचारीले भने । प्राधिकरण व्यवस्थापनले भने नयाँ इन्जिनियरहरूको प्राधिकरणले नियुक्ति गर्न लागेको र ती इन्जिनियरहरूलाई जिल्ला–जिल्लामा पठाउने जनाएको छ । क्षेत्रीय कार्यालयहरूले भने चुहावट नियन्त्रणका लागि तत्काल सक्रिय हुनुपर्ने कारणले नयाँभन्दा पनि पुराना र अनुभवी इन्जिनियरहरूलाई पठाउन आग्रह गरेको छ ।
ग्राहक तथा वितरण निर्देशनालयले प्राधिकरणका कार्यकारी निर्देशकलाई पदपूर्ति व्यवस्थानका लागि पत्र पठाइसकेको र छिट्टै पूर्ति हुने जनाएको छ ।
http://erajdhani.com/en/business/21205-----

No comments: