काठमाडौं÷रास— वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघु जलविद्युत् आयोजनाको बिजुली प्रयोग गरी उद्योग व्यवसायका लागि प्रस्ताव आह्वान गरेको छ । नयाँ र सिर्जनशील साना तथा मझौला उद्योग व्यवसायहरू स्थापना वा स्तरोन्नति गर्न इच्छुक उद्यमी तथा निजी कम्पनीबाट व्यवसायको योजना प्रस्तावसमेत केन्द्रले आह्वान गरेको हो ।
प्राप्त प्रस्तावहरूमध्येका उत्कृष्ट केही प्रस्तावलाई एक कार्यक्रम आयोजना गरी प्रस्तुति गर्न दिइने र अन्तिम छनौटमा परेका ६ ओटा योजनालाई नगद पुरस्कारका साथै कार्यान्वयनका लागि आर्थिक तथा प्रविधिक सहयोग गर्ने केन्द्रले जनाएको छ । तीन नयाँ योजनाको हकमा उद्यम व्यवसाय स्थापना गर्नका लागि लाग्ने जम्मा उपकरण खर्चको आधा वा बढीमा ५ लाख रुपैयाँसम्म सहयोग गर्ने तथा सञ्चालनमा रहेका उद्योग व्यवसायको स्तरोन्नतिका लागि अन्तिम छनौटमा परेका तीन योजनाका लागि भने कुल उपकरणमा लाग्ने लागतको आधा वा बढीमा ४ लाख रुपैयाँसम्म सहयोग गर्ने केन्द्रले जनाएको छ ।
अन्तिम छनौटमा नपरेका तर योग्य सम्पूर्ण योजनाले प्रक्रिया पूरा गरी नेपाल सरकारको नवीकरणीय ऊर्जा अनुदान नीति २०६९ अनुसारको अनुदान सहयोग प्राप्त गर्नेछन् । केन्द्रका अनुसार, हालसम्म देशभर करिब ११ सय लघु तथा साना जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।
No comments:
Post a Comment