भीम गौतम/राजधानी
काठमाडौं, १७ माघ । दैनिक १२ घन्टा लोडसेडिङ नबढाउनका नेपाल विद्युत् प्राधिकरणले सेतो हात्तीका रूपमा लिइने हेटांैडाको डिजेल प्लान्ट र दुहबीको मल्टिफ्युल सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्नका लागि अति महँगो प्रतियुनिट ४० रूपैयाँ पर्नेे १४ मेगावाटको डिजेल प्लान्ट र ३९ मेगावाटको मल्टिफ्युल सञ्चालनमा ल्याएको हो । यो हिउँदमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको थियो । लोडसेडिङ १२ घन्टाभन्दा बढी बढ्न नदिने रणनीति प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार, १२ घन्टामै लोडसेडिङ सीमित गर्नका लागि कुलेखानी जलाशयसमेत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । डिजेल प्लान्ट, मल्टिफ्युल र कुलेखानी जलाशययुक्त आयोजनालाई सञ्चालनमा ल्याएर दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गरिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले बताए ।
‘हिउँदमा १२ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने प्राधिकरणको लक्ष्यअनुसार, कुलेखानी जलाशय, मल्फ्यिुल र डिजेल प्लान्ट सञ्चालन गरिएको छ ।’ उनले भने, ‘लोडका आधारमा डिजेल प्लान्ट १० मेगावाटसम्म र मल्टिफ्युल १५ मेगावाटसम्म दैनिक ६/७ घन्टा सञ्चालन गरिएको छ र जलाशय २४ घन्टासम्म सञ्चालन गर्न थालिएको छ ।’ जलाशयमा १५ सय ३० मिटर पानी जम्मा भएकामा एक मिटर घटिसकेको पनि प्राधिकरणले जनाएको छ । दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदासमेत सर्वसाधारणबाट चर्को आलोचना खेपिरहेको सरकारले समेत प्राधिकणलाई डिजेल प्लान्ट सञ्चालन गरेर भए पनि १२ घन्टामा सीमित राख्न दबाब दिएको थियो ।
प्राधिकरणका अधिकारीहरू भने गत वर्षहरूमा डिजेल प्लान्ट, मल्टिफ्युल सञ्चालन गर्दाको मूल्यान्तर अर्थमन्त्रालयले नदिएको भन्दै प्लान्ट सञ्चालन गर्ने पक्षमा थिए । प्राधिकणका अनुसार, सरकारको मन्त्रिपरिषद्ले डिजेल प्लान्ट र भारतबाट विद्युत् आयात गर्दाको मूल्यान्तर प्राधिकरणलाई दिने निर्णय गरेपछि प्लान्ट सञ्चालन गरेबापतको १६ करोड ६२ लाख र भारतबाट विद्युत् आयातको मूल्यान्तर १ अर्ब २५ करोड २८ लाख रुपैयाँ अझैसम्म दिएको छैन ।
त्यसैगरी, सडक बत्तीको १ अर्ब ८७ करोड, सिँचाइको अनुदानबापतको १ करोड रुपैयाँ मन्त्रालयले दिन बाँकी छ । प्राधिकरणले भने पटकपटक अर्थलाई पत्र लेख्दै आए पनि सो रकम दिएको छैन । प्राधिकरणलाई प्लान्ट सञ्चालन गर्दा प्रतियुनिट ३० रुपैयाँ घाटा छ भने भारतबाट आयात गर्दा प्रतियुनिट २ देखि ३ रुपैयाँ घाटा छ । २५ प्रतिशत चुहावट रहेको प्राधिकरणले यही कारण थप घाटासमेत बेहोर्नुपरेको छ । भारतबाट हाल दैनिक १ सय ९० मेगावाट विद्युत् आयात भइरहेको छ । ‘सरकार आफँले निर्णय गरेअनुसार भारतबाट विद्युत् आयातबापतको र प्लान्ट सञ्चालन गरेबापतको मूल्यान्तर दिएको छैन ।’
प्राधिकरणका एक अधिकारीले भने, ‘प्लान्ट सञ्चालन नगरेको भए अर्को लोडसेडिङ १२ घन्टाभन्दा बढी हुन्थ्यो, सरकारले प्राधिकरणको मर्का बुझ्नुपर्ने हो तर घाटामा रहेको प्राधिकरणलाई दबाब मात्र दिन्छ ।’ प्राधिकरणका अनुसार, हाल ११ सय मेगावाटबराबरको विद्युत् माग छ भने ६ सय मेगावाटको लोडसेडिङ हुन्छ । जलाशयबाहेक प्राधिकरणबाट १ सय ६० मेगावाट र नीजी क्षेत्रबाट १ सय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । नेपालको जलविद्युत् उत्पादनको क्षमता जम्मा सात क्षमता भए पनि वर्षाका तुलनामा हिउँदमा एक तिहाई मात्र विद्युत् उत्पादन हुने गर्छ । नेपालमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो मात्र जलाशययुक्त आयोजना हुन् भने अन्य सबै जलविद्युत् आयोजना नदीको प्रवाहमा आधारित (रन अफ द रिभर) आयोजना हुन् ।
जलाशययुक्त आयोजनाको अभावमा हिउँदमा दैनिक १२ घन्टासम्म लोडसेडिङ भए पनि १४ मेगावाटको कुलेखानी तेस्रोबाहेक हालसम्म अन्य कुनै जलाशययुक्त आयोजना निर्माणाधीन अवस्थामा छैन ।
http://erajdhani.com/en/business/22067-2014-01-31-01-10-52
No comments:
Post a Comment