Monday, January 20, 2014

सिंहदरबारका भवनका छतछतमा सोलार


–आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु
–दुई मेगावाट उत्पादन हुने प्रारम्भिक अनुमान
राजधानी समाचारदाता
काठमाडौं, ५ माघ
तीन बर्ष अघिदेखि नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सौर्य उर्जा (सोलार) राख्ने योजना बनाएपनि बल्ल सम्भाव्यता अध्ययन सुरु भएको छ ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त सोलारबारे आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु भएको हो । २०६७ सालमै सिंहदरबारभित्र सोलारमार्फत विद्युत आपुर्ति गर्ने निर्णय सरकारले गरेको थियो । ‘चीन सरकारको तर्फबाट विशेषज्ञसहितको टोली आएर आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।’–उर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने–‘सम्भाव्यता अध्ययनको क्रममा सिंहदरबारभित्र र आसपासमा रहेका सरकारी भवनहरुको तथ्यांक संलकन गरिने छ, त्यो आधारमा कति विद्युत उत्पादन हुन सक्ने निक्र्योल हुनेछ ।’ उनका अनुसार, प्रारम्भिक रुपमा दुई मेगावाट विद्युत उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।
चीनीयाँ विज्ञहरुको अध्ययनको प्रतिवेदनको आधारमा चीनीयाँ सरकारले सहयोग गर्ने निर्णयपछि चीन र नेपालको उर्जा मन्त्रालयबीच सम्झौता भई सोलार आयोजना अघि बढ्ने मन्त्रालयले जनाएको छ । ‘सिंहदरबारभित्रका भवनहरुको छतछतमा अव सोलार जडान गरिनेछ, सिंहदरबारभित्र आवश्यक विद्युत त्यही सोलारमार्फत आपुर्ति गर्ने लक्ष्य छ ।’–प्रवक्ता अधिकारीले भने–‘सिंहदरबारमा जडान गरिएका सोलारमार्फत उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रीडमा जडान गर्ने लक्ष्य छ ।’
प्रति मेगावाट सोलारबाट विजुली निकाल्न २२ करोड लाग्ने अनुमान गरिएको छ । हिउँदमा दैनिक १२ घण्टा लोडसेडिङ भईरहेको बेला सिंहदरभित्र र काठमाडौ उपत्यकाभित्र रहेका सरकारी भवनहरुमका जडान गरिने सोलारबाट उर्जा संकट न्यूनीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिंहदरबारभित्र ४० भवन छन् । सिंहदबार बाहिर रहेका सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय लगायतका थप एक दर्जन सरकारी कार्यालयमा पनि सोलार राख्ने योजना छ ।
http://www.rajdhani.com.np/en/national


No comments: