Wednesday, January 1, 2014

टीओडी मिटर ‘जाँच’को छानबिन गर्दै अख्तियार

भीम गौतम\राजधानी
काठमाडौं, १६ पुस
अख्तियार दुरुपयोग अनुसन्धानआयोगले कर्मचारीको मिलेमतोमा टीओडी मिटर जाँचमा अनियमित तरिकाले जाँच भइरहेको भन्दै परेको उजुरीविरुद्ध अनुसन्धान अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको मिलेमतोमा ठूला उद्योगहरूमा जडान गरिएका टीओडी मिटरहरूको जाँच अनियमित तरिकाले भएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
प्राधिकरणका अनुसार बिजुली ग्राहकबाट प्रत्येक वर्ष २९ अर्ब महसुल उठ्ने गरेकोमा करिब ३० प्रतिशत टीओडी मिटर जडान गरेका उद्योगीहरूबाट मात्र महसुल उठ्ने गरेको छ । कुल २६ लाख ग्राहकमध्ये ८ हजार ग्राहक मात्र टीओडी मिटर जडान गर्नेछन् । टीओडी मिटर इन्जिनियरमार्फत जाँच गर्नुपर्नेमा मिटर रिडरहरूले गर्ने, मिलेमतोमा उद्योगहरूमा जडित पुराना टीओडी मिटरहरू नष्ट वा जलाएर नयाँ जडान गर्ने, प्रलोभनमा परेर मिटरको जाँच राम्रोसँग नगर्ने जस्ता कारणबाट प्राधिकरणले करोडौं घाटा बेहोरिरहेका भन्दै अख्तियारमा उजुरी परेको छ ।
ठूला–ठूला उद्योगका व्यापारीहरूसँग मिलेर प्राधिकरणका कर्मचारीहरूले आर्थिक लाभ लिई धेरै बिल चढेको टीओडी मिटरहरू जलाउने, नष्ट गर्ने कार्य हुँदै आएको उजुरीमा उल्लेख छ । उजुरीका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारले प्राधिकरणसँग टीओडी मिटरको अवस्था, विवरण र जाँचको प्रक्रियाबारे पत्र लेख्दै जानकारी मागेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘उद्योगधन्दा भएको क्षेत्रमा त्यहाँ प्रमुख र कर्मचारी मिलेर आर्थिक प्रलोभनमा परी प्राधिकरणलाई करोडौं घाटा पु¥याएको उजुरीपछि अहिले छानबिन गरिरहेको छ,’ प्राधिकरणका ती अधिकारीले भने, ‘अख्तियारमा पर्ने उजुरीमध्ये धेरै टीओडी मिटरबारे पनि छन्, यसबारे अख्तियारले विस्तृत विवरण र अवस्था मागेको छ ।’ अख्तियारले टीओडी मिटरबारे समेत अनुसन्धान सुरु गरेपछि प्राधिकरण व्यवस्थापन दुरुपयोग रोक्नका लागि सक्रिय भएको छ ।
प्राधिकरणले तीन÷तीन महिनामा अनिवार्य रूपमा टीओडी मिटर जाँच गर्नुपर्ने भए पनि वर्षौंदेखि जाँच नगरेको र आर्थिक हिनामिना भएको पत्ता लागेपछि प्राधिकरण व्यवस्थापनले केही कडाइ गरे पनि अझै नियमित रूपमा जाँच हुन सकेको छैन । अख्तियारले टीओडी मिटरबारे प्राधिकरणको प्रोग्रामिङ मागेपछि बल्ल हालै बैठक गरी तीन महिनाभित्र सबै क्षेत्रीय कार्यालयहरूमा प्रोगामिङ गर्ने निर्णय गरेको छ । त्यसैगरी जलेका, नष्ट गरिएका टीओडी मिटरमध्ये १० प्रतिशत मिटरहरूको स्थलगत रूपमै निरीक्षण गरी प्रतिवेदन तयार गर्ने निर्णयसमेत प्राधिकरणले गरेको छ ।
वार्षिक ६ अर्बभन्दा बढी चुहावट हुने प्राधिकरणमा चुहावटको एक कारण टीओडी मिटरमा भएको अनियमिततालाई समेत लिने गरिएको छ । प्राधिकरणले समेत टीओडी मिटर समयमै निरीक्षण नभएको, मिटरिङ युनिट चेक नगरिएको वा गलत कनेक्सन हुन सक्ने भन्दै यो अनियमितता रोक्नका लागि छुट्टै कार्ययोजना बनाउने कार्य अघि बढाएको जनाएको छ ।
प्राधिकरणको चुहावट महाशाखाले मात्र कर्मचारीको मिलेमतोमा मिटरिङमा अनियमितता फेला पारेर हालसम्म ५ करोडभन्दा बढी रकम जरिवाना गरिसकेको छ भने निरीक्षणको क्रममा टीओडी मिटरको दुरुपयोग बढेको भेटिएको छ । टीओडी मिटर दुरुपयोग पत्ता लगाएपछि सम्बन्धित उद्योगलाई कारबाही गरे पनि संलग्न कर्मचारीहरूलाई प्राधिकरण भित्रबाटै जोगाउने खेलको कारणसमेत दुरुपयोग बढेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

No comments: