Monday, January 27, 2014

‘२०१४ भित्रै चार आयोजनासँग पीडीए’

राजधानी समाचारदाता

काठमाडौं, १४ माघ । लगानी बोर्डले सन् २०१४ भित्रै चार ठूला जलविद्युत् आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गरिसक्ने दाबी गरेको छ । सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोर्डले छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी बन्न लागेका चारै आयोजनाको पीडीए सन् २०१४ भित्रै गर्ने जनाएको हो ।
निर्यात गर्ने गरी बनाउन लागिएका ९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो, ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र ६ सय मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाले पीडीएका लागि निवेदन दिएका छन् । सन् २०१२ जुनदेखि ती आयोजनाहरूसँग पीडीए नेगोसेसन गरेको जनाए पनि अहिलेसम्म कुनै आयोजनासँग पीडीए गर्न सकेको छैन । जसका कारण ती चारै आयोजनाको निर्माण सम्पन्न मिति अन्योलमा परेको छ ।
ठूला आयोजना भएको जोखिमको अवस्थासमेत उच्च रहेको बताउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पीडीए नेगोसेसन सकारात्मक रहेको जानकारी दिए । ‘ठूला जलविद्युत् बनाउन ठूला चुनौतीहरू छन्, विदेशी लगानीकर्ताहरूलाई आश्वस्त पार्न पीडीए नेगोसेसनको अन्तिम चरणमा पुगेका छांै,’ उनले भने, ‘पीडीएबारे सबै राजनीतिक दलदेखि सरोकारवालाहरूलाई जानकारी दिन्छौं, नेपाल र प्रवद्र्धक कम्पनी दुवैले जित्ने गरी मात्र यो हुन्छ ।’
नेपालको विद्युतीय माग, आर्थिक मुनाफा, आयोजना खतराको अवस्था, सन्तुलन, उच्च वातावरणीय दिगोपन, औद्योगिक र रोजगारी मुनाफा, नमुना सामुदायिक फाइदालगायतका नौ सिद्धान्तलाई आधार मानेर बोर्डले असल जलविद्युत् सहमतिमा जोड दिइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
बोर्डका सतीश जोशीले जलविद्युत्बारे मिसन, भिजन र रणनीति बनाएर बोर्ड अघि बढेको बताउँदै बोर्डले लगानीकर्ताका लागि पेमेन्ट ग्यारेन्टी, निर्यात संयन्त्र निर्माण, बजार अध्ययन, उद्योग र स्थानीयलाई मुनाफालगायतमा जोड दिएको बताए । कार्यक्रममा चार निर्यातयोग्य आयोजनाबाट १० हजारभन्दा बढीले रोजगारी पाउने जानकारी दिँदै छिट्टै पीडीए नेगोसेसन सिध्याएर आयोजना निर्माणलाई अघि बढाइने जानकारी दिइएको थियो ।

No comments: