Monday, January 20, 2014

यस्तो छ सडक विस्तारमा विद्युत् प्राधिकरणको योजना

भीम गौतम / राजधानी

काठमाडौं, ६ माघ । काठमाडौं उपत्यकाभित्र सडक विस्तारका क्रममा नेपाल विद्युत् प्राधिकरणले आगामी असार मसान्तभित्र सबै सडकमा काम सम्पन्न गर्ने योजना अघि सारेको छ ।
प्राधिकरणका अनुसार आगामी चैतसम्ममा ५ र असार मसान्तसम्ममा १० सडक फराकिलो पार्ने योजनाको विद्युतीकरणअन्तर्गतको काम सम्पन्न गर्ने योजना अघि सारेको हो । विद्युत् प्राधिकरणले सडक विस्तारका क्रममा बिजुलीको पोल सार्ने, तार व्यवस्थित गर्नेलगायतका कार्य गर्नुपर्ने हुन्छ ।
प्राधिकरणका अनुसार चैत मसान्तभित्र उपत्यकाभित्रका सडकखण्डअन्तर्गत कमलपोखरी–हात्तीसार–जयनेपाल, पुतलीसडक–डिल्लीबजार–चारखाल, डिल्लीबजार–कालिकास्थान–ज्ञानेश्वर ग्यालेक्सी चोक, गल्फुटार–बूढानीलकण्ठस्थित लामटांगी मार्ग, चण्डोल–चुडालदेवी सडकमा विद्युतीकरण व्यवस्थित गर्ने योजना छ । त्यसैगरी असार मसान्तभित्र बागबजार–पुतलीसडक, कमलादी–कृष्णपाउरोटी, सोह्रखुट्टे–बालाजु, मण्डीखाटार–गल्फुटार, महाराजगन्ज डेन्टल अस्पतालदेखि रसियन एमबेसी, बालुवाटार–विशालनगर, जीवनगुञ्ज–चुनदेवी मन्दिर, आशीर्वाद स्कुल–दक्षिण, राष्ट्रपति निवास–सामाखुसी र चाइनिज एम्बेसी–विशालनगर सडक विस्तार क्षेत्रभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।
सडक विस्तारका क्रममा विद्युत् प्राधिकरणले ढिलाइ गर्दा समस्या भइरहेको भनिए पनि प्राधिकरणका अधिकारीहरू भने समयमै काम गरिरहेको दाबी गरेका छन् । लाजिम्पाट क्षेत्रमा तुलनात्मक रूपमा काममा केही ढिलाइ भए पनि अन्य क्षेत्रमा काम सुचारु भएको तथा केही क्षेत्रमा नगर विकास प्राधिकरणले जग्गा अधिग्रहणलगायतका कार्यमा ढिलाइ गर्दा समस्या आएको उनीहरू बताउँछन् । ‘सडक फराकिलो पार्ने क्षेत्रमा कहीं पनि विद्युत् प्राधिकरणको तर्फबाट काममा ढिलाइ भएको छैन,’ सडक विस्तार आयोजनामा विद्युत् प्राधिकरणबाट समन्वय गरिरहेका प्राधिकरण रत्नपार्क केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘बिजुली भएको समयमा काम गर्दा धेरै गुनासो आएकाले लोडसेडिङको समयमा काम गरिरहेका छौं तर प्राधिकरणको कारण ढिलाइ भएको छैन ।’
नगर विकास प्राधिकरणले ढिलाइ गर्दा कतिपय क्षेत्रमा भने विद्युत् प्राधिकरणले काम गर्न सकेको छैन । कृष्ण पाउरोटीदेखि जयनेपाल हलसम्मको क्षेत्रमा विद्युतीकरणका लागि टेन्डर गरेर ठेक्का सम्झौता भए पनि भत्काउने काम नगर्दा प्राधिकरणले पोल गाड्न पाएको छैन भने पुतलीसडकदेखि डिल्ली बजारसम्मको क्षेत्रमा पनि पूर्ण रूपमा भत्काउने काम नगर्दा प्राधिकरणलाई समस्या परेको छ ।
पहिला–पहिला सडक विभाग, विस्तार आयोजना, नेपाल टेलिकमलगायत बीच सडक फराकिलो पार्ने क्रममा समन्वय नहुँदा सुरुमा समस्या देखिए पनि अहिले भने समन्वय भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ । ‘पहिला सुरुमा समस्या थियो । तर, अहिले विद्युत् प्राधिकरणले काममा ढिलाइ गरेको छैन,’ काठमाडौं सडक विस्तार सुधार आयोजनाका श्याम खरेलले भने, ‘बरु नगर विकास प्राधिकरणले समयमै भत्काउने काम नगर्दा थप समस्या भएको छ ।’
लोडसेडिङको समयमा मात्र काम गर्नुपर्ने, रातिको समयमा काम गर्न अप्ठ्यारो हुनेलगायतका कारण रहे पनि विद्युत् प्राधिकरणले समयमै काम गर्दै आएको छ । प्राधिकरणका अनुसार सडक विस्तारका क्रममा गर्नुपर्ने विद्युत्को कामका लागि बजेटको अभाव छैन तर कतिपय क्षेत्रमा घर भत्काउने कार्य समयमै नगरिदिँदा थप कार्यका लागि अप्ठ्यारो परेको छ ।
http://erajdhani.com/en/business/21553-2014-01-20-01-38-13

No comments: