Thursday, January 9, 2014

‘माथिल्लो त्रिशूली–१ छ वर्षभित्रै’

राजधानी समाचारदाता- काठमाडौं, २४ पुस- निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना आगामी ६ वर्षभित्रै निर्माण सम्पन्न हुने भएको छ । प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा आयोजित राउन्ड टेबल कार्यक्रममा सो जानकारी दिइएको हो । कोरियाका तीन कम्पनीको ७५ प्रतिशत, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) १५ र स्थानीय जादे पावरको १० प्रतिशत सेयर रहने आयोजनाको लागत ५ सय ५० मिलियन डलर रहेको छ ।
कम्पनीका व्यवस्थापकीय निर्देशक युन अनसाङले सेप्टेम्बर २०१४ भित्र वित्तीय व्यवस्थापन सकेर निर्माण सुरु गरी अक्टोबर २०१९ भित्र निर्माण सम्पन्न गर्ने जानकारी दिए । उनले आयोजना निर्माण अवधि पाँच वर्षभित्र ५ देखि १० हजारसम्म तथा ३० वर्षसम्म १ सयजनाले रोजगारी पाउने बताए । आयोजनाले स्थानीय क्षेत्रमा विद्यालय निर्माण, आयआर्जन वृद्धि, स्वास्थ्य केन्द्रमा सहयोग, महिलाको क्षमता अभिवृद्धि, ग्रामीण विद्युतीकरण, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने जनाएको छ ।
काठमाडौंबाट ७० किलोमिटर नजिक रहेको आयोजनाबाट विद्युत् उत्पादन भएपछि लोडसेडिङ न्यूनीकरणमा सहयोग पुग्ने कार्यक्रममा आयोजनाका अधिकारीहरूले जानकारी दिएका थिए । आयोजना विकास सम्झौता (पीडीए) का लागि ऊर्जा मन्त्रालयमा निवेदन दिएको आयोजना र मन्त्रालयबीच आगामी मंगलबारदेखि वार्ता हुन लागेको आयोजनाले जनाएको छ ।
छलफलमा आयोजनाको लागत महँगो भएकोबारे प्रश्न उठेपछि आयोजनाले ईपीसीका आधारमा ठेक्का दिइएकाले भेरियसन नहुने र लागत नबढ्ने युनले बताए । रसुवामा निर्माण हुने आयोजनालाई सन् २००७ मा सर्भे लाइसेन्स दिइएको थियो ।

No comments: