भीम गौतम, बलराम घिमिरे / राजधानी
काठमाडौं, रसुवा, १० माघ । आउँदो आइतबारदेखि मात्र रसुवाली समुदायले पाएको चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत सेयर बजारमा बिक्री गर्न पाउनेछन् तर त्यो अगाडि नै सर्वसाधारणलाई छक्याएर सेयर माफियाले सर्वसाधारणको सेयर ठगी गरेको पाइएको छ ।
२२ मेगावाटको रसुवामा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाले रसुवाका २६ हजार सर्वसाधारणलाई ९ लाख ६० हजार कित्ता अर्थात १० प्रतिशत सेयर दिएको थियो । तीन वर्षसम्म सेयर बजारमा बिक्री गर्न नपाउने गरी दिइएको सो सर्वसाधारणको सेयर आइतबारदेखि बिक्री गर्न पाउने भएपछि सस्तोमा सेयर किन्नका लागि गाउँगाउँमा पुगेर माफियाले सर्वसाधारणलाई ठगेका हुन् ।
माफियाले शिक्षक, विभिन्न राजनीतिक दललगायतका कार्यकर्ता र स्थानीय टाठाबाठाहरूलाई एजेन्टका रूपमा परिचालन गरी सेयर किनिरहेका छन् ।
बिहीबारको धितोपत्र बोर्डमा भएको कारोबारअनुसार चिलिमेको प्रतिकित्ता सेयर १५ सय १ रुपैयाँ छ तर एजेन्टमार्फत रसुवाका गाउँगाउँमा प्रतिकित्ता ६ सयदेखि ९ सयसम्ममा किनबेच गरिरहेका छन् । तीन वर्षभित्र १ सय कित्ता सेयर लिने सर्वसाधारणलाई चिमिलेले लाभांश र बोनसबापत मात्र १ सय ३६ कित्ता सेयर दिइसकेको छ ।
सर्वसाधारणको सो लाभांश सेयर बैंकमै रहेको तथा अधिकांशलाई त्यसबारे जानकारीसमेत नभएकाले माफियाहरूले १ सय कित्ता सेयर किनेर लाभांश सेयरसमेत घोटाला गर्ने योजना बनाएको बताइएको छ ।
स्थानीय एजेन्टहरूलाई प्रतिकित्ता ५० रुपैयाँदेखि १ सय रुपैयाँ दिएर सेयर माफियाहरूले गाउँगाउँमा एजेन्ट परिचालन गरेका छन् । ‘माफियाहरूले रसुवाली जनताका नाममा रहेको सेयर कागज बनाएर किनिरहेको जानकारी आएको छ ।’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘गाउँगाउँमा सेयर ठगी भएका प्रमाण आएकाले छानबिन गरी ठगीको मुद्दामा कारबाही गर्छांै ।’ उनले स्थानीय सर्वसाधारणले समेत ठगी गर्नेमाथि कारबाहीका लागि भनेको उल्लेख गर्दै उनले प्रशासन परिचालन गरेर ठगी गर्ने सबैलाई कारबाही हुने बताए । उनका अनुसार, करिब सर्वसाधारणको २० हजार कित्ता सेयर माफियाहरूले सस्तो दरमा किनेर ठगेको प्रारम्भिक सूचना आएको छ । प्रारम्भिक सूचनाका आधारमा मात्र हालसम्म माफियाहरूले करिब ३ करोडभन्दा बढीको घोटाला गरिसकेका छन् । ‘१५ सयको सेयर ७÷८ सयमा किनेका छन् भने थप पाएको लाभांश सेयरसमेत निःशुल्क लिन खोजेका छन्,’ एक सर्वसाधारणले भने ।
संविधानसभाको चुनाव अघिदेखि नै रसुवाका गाउँगाउँमा सेयरमाफिया सर्वसाधारणको सेयर सस्तोमा किन्न सक्रिय भए पनि स्थानीय प्रशासनले खासै चासो दिएको थिएन । सेयर बजारमा कारोबार गर्न पाउने दिन नजिकिँदै जाँदा दलालको सक्रियता बढेसँगै प्रशासन चनाखो बनेको हो । स्थानीय नागरिक समाजका अगुवा एवं नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङ सर्वसाधारणलाई सेयर दलालहरूले ठगेको पाइएकाले त्यसबारे प्रशासनलाई कारबाहीका लागि दबाब दिने बताउँछन् ।
‘सर्वसाधारणको सेयर ठगीबारे जानकारी पाएका छौं, नागरिक समाजका तर्फबाट प्रशासनलाई थप दबाब दिन्छौं,’ उनले भने ।
http://erajdhani.com/en/business/21740-2014-01-24-01-01-55
No comments:
Post a Comment