काठमाडौं÷रास– नेपाल विद्युत् प्राधिकरणले दैनिक १२ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणले पुसमा १३ घन्टा तथा माघ र फागुनमा १४ घन्टा, चैतमा १३ र वैशाखमा १२ घन्टा लोडसेडिङ प्रक्षेपण गरिए पनि १२ घन्टा भन्दा बढ्न नदिने दाबी गरेको हो ।
हाल पूर्व क्षेत्रमा साताको ६८ घन्टा, सुदूर पश्चिममा ४२ घन्टा र अन्य क्षेत्रमा ८० घन्टा लोडसेडिङ हुने गरेको छ । भारतबाट विद्युत् थप गरेर र डिजेल प्लान्ट सञ्चालन गरेर भए पनि १२ घन्टा लोडसेडिङ बढ्न नदिने प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार, ३० मेगावाट विद्युत्का लागि डिजेल प्लान्ट तयारी अवस्थामा राखिएको छ भने थप ४० मेगावाट विद्युत् भारतबाट आयात गर्ने सम्भावना छ । हाल ११ सय ७६ मेगावाट माग रहेकोमा भारतबाट १ सय ९० मेगावाट आयात भइरहेको छ भने ३ सय २० मेगावाट निजी र प्राधिकरणबाट उत्पादन भइरहेको छ ।
जसमा ९२ मेगावाटको कुलेखानी जलाशयको विद्युत्को पनि योगदान रहेको छ । प्राधिकरणका अनुसार, दैनिक १ करोड ६० लाख युनिट विद्युत् आवश्यक पर्नेमा ४० लाख युनिट अभाव छ ।
No comments:
Post a Comment