पशुपति मुरारका,
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन् ।
सिमेन्ट उत्पादक संघ र स्टिल रोलिङ एसोसिएसनका सदस्यसमेत रहेका मुरारका
अर्घाखाँची सिमेन्ट प्रालि, बागेश्वरी आइरन एन्ड स्टिल प्रालिलगायतका धेरै
उद्योग व्यवसायका लगानीकर्ता हुन् । विद्युत् महसुल निर्धारण आयोगका
पूर्वसदस्य रहेका उनले चर्नावती जलविद्युत् र तल्लो मोदी जलविद्युत्
आयोजनामा पनि लगानी गरेका छन् । भर्खरै सकिएको सार्क सम्मेलनमा भएका
सम्झौता र आर्थिक एजेन्डाका साथै नेपालमा रहेको लगानीमैत्री वातावरण तथा
उद्योग व्यवसायमा देखिएको समस्याबारे उनीसँग राजधानीका लागि भीम गौतम ले गरेको कुराकानी :
० भर्खरै सकिएको सार्क सम्मेलनमा आर्थिक एजेन्डाहरू समेत पारित भएका छन्,
तपाईं उद्योगी, व्यवसायीको नेताको नाताले यसले नेपाललाई के फाइदा पु¥याउला ?
— हरेक देशको मुख्य लक्ष्य भनेकै त्यो देशको समृद्धि हो । सार्कका क्रममा
धेरै आर्थिक एजेनडा थिए । नेपालकै विषय हेर्ने हो भने ऊर्जासम्बन्धी
सम्झौता भएको छ । त्यसले नेपालको ऊर्जा विकासमा ठूलै सहयोग पु¥याउँछ । हालै
भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) ले नेपाल र भारतबीचमा समेत ऊर्जा
विकासका लागि ठूलो योगदान पु¥याउँथ्यो । अहिले सार्कसँगै सम्झौता भइसकेपछि
नेपालमा लगानी गरे सार्कभित्रका सबै मुलुकमा बेच्न पाइन्छ भनेर नेपालको
बिजुली बजारलाई विस्तार गरिएको छ । उत्पादकहरू अब एउटै देशमा भर पर्नुपर्ने
अवस्था पनि रहेन । बिजुली सजिलै बेच्न पाउने भएपछि लगानीकर्तालाई बढी
सुरक्षा हुन्छ । यो त प्रत्यक्ष फाइदा भयो, अप्रत्यक्ष फाइदामा भन्दा
नेपालले सार्क सम्मेलन सम्पन्न गरेपछि नेपालप्रतिको विश्वास पनि बढाएको छ ।
यसले लगानीको वातावरण पनि राम्रै बन्ला । यसले पर्यटन विकासमा पनि फाइदा
पु¥याउला । सार्क सम्मेलनले नेपालको आर्थिक विकासमा ठूलै फाइदा पु¥याउँछ ।
० नेपालमा सन्धी, सम्झौता धेरै हुन्छन्, बिप्पा, साफ्टा, पीटीए, अहिले
सार्क ऊर्जा सम्झौता आदि तर कार्यान्वयनपक्ष कमजोर देखिन्छ, किन कमजोर
रह्यो होला कार्यान्वयन ?
— नेपालका लागि यो सबैभन्दा गहन प्रश्न हो । कार्यान्वयन किन हुँदैन ।
यसमा सरकारको इच्छाशक्ति र सरकारको छोटो आयु नै मुख्य कारण हो । बेला
बेलामा सरकार परिवर्तन भइरहन्छ । अर्को कुरा सरकार परिवर्तन हुँदा
कर्मचारीतन्त्रमा पनि परिवर्तन हुन्छ । यो पनि कारण छ । अर्को कुरा
राजनीतिक एजेन्डालाई सबैभन्दा बढी महŒव दिइन्छ । आर्थिक एजेन्डा पछाडि
पारिन्छ । आर्थिक एजेन्डासँग जोडिएका सम्झौता कार्यान्वयन खासै चासो दिएको
देखिँदैन ।
० नेपालको अर्थ–राजनीति कमजोर छ भन्न खोज्नुभएको हो ?
— एक शब्दमा भन्दा अर्थ राजनीति नै कमजोर हो । राजनीतिक एजेन्डालाई बढी
प्राथमिकतामा राखिन्छ । सञ्चारमाध्यममा पनि त्यही देखिन्छ । राजनीतिक
विषयमा बढी हामी छलफल गर्छौं । जब कि देशको समृद्धिका लागि आर्थिक विषयलाई
बढी अगाडि बढाउनुपर्ने हो ।
० तपाईं त व्यवसायीको नेता पनि हुनुहुन्छ, राजनीतिक नेताहरूलाई अर्थ राजनीति बुझाउन नसक्नु तपाईंहरूको पनि त कमजोरी हो नि ?
— कमजोरी त हो, म यसलाई मान्छु तर सरकार परिवर्तन भइरहन्छ । एउटालाई बुझाई
नसक्दै अर्को आउँछ । एकमना सरकार छैन, संयुक्त सरकार हुन्छ । यसले पनि असर
पारेको छ । प्रयास त गरेका हौं तर सार्थक देखिएको छैन ।
० उद्योग व्यवसाय प्रवद्र्धनका लागि नेपालका नीति, कानुन, कार्यक्रम र योजनामा कत्तिको कमजोरी देख्नुहुन्छ ?
– नीति कस्तो छ भन्नेमा पनि लगानीको कुरा भरपर्छ । अर्को नीतिको
कार्यान्वयन पनि महŒवपूर्ण हुन्छ । नीतिका कारण रोकिएको अवस्था पनि छ ।
हाम्रो नीतिमा नकारात्मक शब्द बढी छन् । यो गर्न पाइने छैन, मिल्ने छैन
जस्ता शब्द छन् । यसलाई सकारात्मक बनाउनु आवश्यक छ । यसलाई यो गर्न सकिन्छ
भन्ने शब्द राख्नु आवश्यक छ । सरकार लगानीका लागि सकारात्मक सोच राखी अघि
बढ्नुपर्छ । सरकारले सहजीकरणभन्दा पनि निषेधमा बढी जोड दिएको देखिन्छ ।
अर्को कार्यान्वयन पक्ष त ज्यादै फितलो छ । ऐननियममा सरकारले यो दिएको छ त
भनिन्छ तर कार्यान्वयन हुन्छ कि हुँदैन, यसमा विश्वास गर्न सक्ने अवस्था
छैन । लागू भएन भने अदालत जानुप¥यो, अदालती प्रक्रिया धेरै लामो हुन्छ ।
यसकारण ऐन, कानुनमा लेखिएका कुरा कार्यान्वयनमै समस्या छ ।
० लगानी गर्नका लागि अझै पनि धेरै चुनौती छन् होइन ? के के देख्नुहुन्छ ?
– सधैँ भन्दै आएको ऊर्जा संकट छ । तर, ऊर्जा संकटलाई अवसरको रूपमा पनि
लिन सकिन्छ । त्यो लिन पनि समस्या छ । मेरो विचारमा त अहिले सबैभन्दा ठूलो
समस्या भनेकै ऐन, नियम कानुनको छ । भएको कानुन कार्यान्वयन नगर्नेलाई
उत्तरदायी पनि बनाइएको छैन । यो सबैभन्दा ठूलो पक्ष हो । अर्को उद्योग,
व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोण गलत छ । राज्यको उद्योगी,
व्यवसायीहरू भनेका मुनाफा आर्जन गर्ने मात्र हुन् भन्ने भावना छ । उनीहरूले
देशका केही फाइदा पुग्दैन भन्ने छ तर उद्योग व्यवसाय पनि सेवाकै क्षेत्र
हो नि । उद्योग, व्यवसायले लाखौँ लाखलाई रोजगारी दिएको छ । राज्यलाई कर पनि
तिरेको छ तर राज्यले त्यो दृष्टिकोणले हेर्न सकेको छैन ।
० सरकारका जिम्मेवार व्यक्तिहरूले लगानीका लागि उचित वातावरण बनाइरहेको सार्वजनिक गरेका छन्, उसो भए यो गफ मात्रै हो त ?
– हामी व्यापार गर्ने मान्छेले बाहाना बनाएर बस्नु जरुरी छैन नि । हामीले
मौका पाए थप व्यापार गरिहाल्छाँै नि । पेसा नै त्यही हो । यदि, वातावरण
भएको भए उद्योग जसको आर्थिक वृद्धिदरमा १२ प्रतिशतको योगदान थियो, अहिले ६
प्रतिशतमा आएको छ । त्यो आउँदैनथ्यो नि । किन घटेको छ त ? यो हामीले
व्यापार गर्न नचाहेर होइन । कतिपय नीति, कानुन छन् तर सरकारले नचाहेकाले
कार्यान्वयन भएको छैन ।
० सरकारले के के वातावरण बनायो भने लगानीकर्ता नेपालमा आउन सक्छन् त ?
भनिदिनुस् न, जसले अर्थतन्त्र बलियो बनाउँछ र देश समृद्धिमा जान्छ ?
– आर्थिक क्षेत्रसँग जोडिएका २०÷२२ ऐन, नियम पेन्डिङ अवस्थामा छन् । श्रम,
उद्योग व्यवसाय, ऊर्जालगायतका त्यस्ता ऐन अहिलेसम्म आउन सकेका छैनन् । यी
क्षेत्रमा ३० वर्षसम्म पुराना ऐन, कानुनले चल्नुपरेको छ । यी ऐन, कानुन
छिट्टै आउनुप¥यो । अर्को कुरा आजसम्म सरकारी निकायले तिम्रो उद्योग किन
बन्द छ, यो उद्योग सञ्चालनमा ल्याउन सरकारले के गर्नुपर्छ भनेर सोध्न आएको
छैन । त्यो सोच सरकारमा आउँदै आएन । हामी उद्योग बन्द भयो भनेर गयौँ भने
हुन्छ, गरौँला मात्र भन्छन् । त्यो प्रक्रिया लम्ब्याउने क्रम मात्र
भइरहेको छ । सरकार वा कर्मचारीतन्त्रले बोलाएर समस्या समाधान गर्न सहजीकरण
गर्नुपर्ने हो नि । छिमेकी देश चीनमै हेर्ने हो भने सरकार आफँै गएर
तपाईंलाई के सुविधा दिँदा उद्योग चल्ने हो भनेर सोधिन्छ र सहजीकरण सरकारले
गर्छ । उद्योग सञ्चालनका लागि हाम्रो देशका सरकारका अधिकारीहरूको सोचमै
परिवर्तन आउनु जरुरी छ ।
० उसो भए हाम्रो सरकार, भ्याट, ट्याक्समा बढी सक्रिय र सहजीकरणमा कम सक्रिय भयो ?
– एकदम, सरकार बढी राजस्वमुखी भयो । राजस्व बढी उठाउने भूमिकामा मात्र
सरकार सक्रिय भयो । उद्योग त राजस्व उठाउने मात्र संस्था होइन, यसले त
रोजगारी पनि दिइरहेको हुन्छ । स्थानीय कच्चा पदार्थको उपयोग पनि गरिरहेको
हुन्छ । निर्यात बढाउँछ, आयात घटाउँछ । मुनाफा र रोजगारी सिर्जनाबाट आउने
ट्याक्स पनि त आउँछ । तर, खाली राज्य उद्योग सञ्चालनमा सहजीकरणभन्दा
राजस्वमै केन्द्रित भयो ।
० अहिले दैनिक २ हजार नेपाली बिदेसिरहेका छन्, सरकारले नेपालमै उद्योग
सञ्चालनको वातावरण बन्यो भने बताइदिनूस् न उनीहरूलाई स्वदेशमै रोजगारी दिन
सकिन्छ ?
– नेपाल अवसर नभएको मुलुकचाहिँ होइन । धेरै अवसर छ । अब गर्ने कसरी भन्ने
मात्र हो । भोलि ऊर्जा सस्तो भयो भने नेपालमा त्योसँग जोडिएर कति उद्योग
आउन सक्छन् ? सरकारले अलिकति बाटो, बिजुली पु¥याइदिँदा कति सिमेन्ट उद्योग
बढेका छन् ? त्यो हेर्नुपर्छ । लगानीकर्ता त तयार छन् भन्ने देखिएको छ नि ।
भारतको रिलायन्स सिमेन्ट लगानीका लागि आएको छ । नाइजेरियाको डंगोटीले पनि
प्रस्ताव गरेको छ नि । लगानी त नेपालमा गर्न सकिन्छ । कृषि, पर्यटनमा पनि
लगानी गर्ने ठूलो अवसर छ । शिक्षा, स्वास्थ्य आदिमा पनि लगानी गर्न सक्ने
अवस्था छ । सरकारले उचित वातावरण बनाए नेपालबाट बिदेसिने होइन, विदेशबाट
कामदार आउने दिन पनि आउन सक्छ, नेपालमा । लगानीमैत्री वातावरण भए नेपालमा
लगानी ओइरिने निश्चित छ ।
० त्यो दिन आउला त ?
– अवश्य, एकातिर चीन र अर्कोतिर भारत छ । जहाँको जनसंख्या ठूलो छ । यहाँ
क्षमता छ, अवसर छ तर वातावरण छैन । नीति, नियम स्पष्ट छैनन् । मानसिकता
कमजोर पनि हुन सक्छ ।
० ऊर्जाको कुरा गराँै न, सम्भावना पनि छन्, माग पनि छ तर लोडसेडिङ छ,
उत्पादन कम छ, तपाईं आफैँले पनि जलविद्युत्मा लगानी गरिरहनुभएको छ, नेपालमा
यसका लागि अवरोध देख्नुभएको छ ?
– ऊर्जामा लगानी गर्न अरू उद्योगभन्दा बढी जोखिम छ । म पूर्वाधार र
व्यापार दुवै उद्योगमा सक्रिय छु । ऊर्जामा लगानी गर्दा प्रतिफल कति पाउँछु
भन्ने नै निश्चित छैन । प्रतिफलका लागि लगानी गर्ने हो । ऊर्जामा लगानी
गर्न त्यति सजिलो छैन । भविष्यका लागि ऊर्जामा लगानी गर्नुपर्छ भनेरै लगानी
गरेको हुँ । तर, यसमा विभिन्न समस्या छन् । पहिलो समस्या, सरकारले सहजीकरण
गर्दैन । स्थानीय तहमा ठूलो समस्या छ । आयोजना बनाउन गएपछि हामीले के
पाउने भनेर स्थानीयले माग राख्न थाल्छन् । हामीले त सरकारलाई रोयल्टी
तिर्ने हो । त्यो ठाउँमा विकास गर्न गएको त होइन नि । जागिर दिन पनि गएको
होइन नि तर आकांक्षा यति धेरै बढी हुन्छ कि आयोजनाले सबै बनाइदिन्छ भन्ने
भावना छ । त्यो त सबै सरकारको काम हो नि । निश्चित विकासको काम त आयोजनाले
गर्ला तर त्यो भन्दा बढी गर्नुपरे सरकारले गर्छु भनेर त प्रतिबद्धता
जनाउनुप¥यो नि । आयोजना बनेपछि स्थानीयले मुनाफा त पाइहाल्छन् । १०
प्रतिशतसम्म सेयर दिनु पनि राम्रै हो नि । तर, ५ हजार पर्ने जग्गालाई ५ लाख
चाहिन्छ भनेर भन्न थालेपछि आयोजना बनाउन कसरी सक्नु नि । अर्को सरकारको
एकद्वार प्रणाली पनि भएन । वन, वातारण, विद्युत् विकास विभागमा समस्या छ ।
नेपाल विद्युत् प्राधिकरणको एकाधिकारको समस्या छ । २५ वर्षसम्मको विद्युत्
खरिद सम्झौता (पीपी) ले मूल्य निर्धारण गरिएको हुन्छ । भोलि तलब, कर, बैंक
ब्याज बढ्दै गयो भने कसरी प्रतिफल पाउने ? अर्को कुरा सम्झौताभन्दा बढी
विद्युत् उत्पादन गरे, प्राधिकरणले लिँदैन । लोडसेडिङको बेला त लिनुपर्ने
हो नि । लिएर प्रोत्साहित गर्नुपर्ने हो । अर्को कुरा जलविद्युत्मा लगानीका
लागि अन्य उद्योगभन्दा ब्याजदर बढी छ । किन उच्च जोखिम छ । यसकारण अहिलेको
अवस्थामा ऊर्जा क्षेत्रमा लगानी गर्दा त्यति फलदायी छैन ।
० सिंहदरबारदेखि स्थानीयसम्म सबैतिर समस्या भएकाले मात्रै उद्योगी व्यवसायीले ऊर्जा क्षेत्रमा खासै लगानी गर्न नखोजेका हुन् त ?
– लगानीकतासँग पनि लगानी गर्ने पुँजी त सीमित नै हुन्छ । बैंकहरूबाट लगानी
लिने हो । भएको पुँजीबाट लगानीका लागि कुन क्षेत्र उपयुक्तभन्दा
ऊर्जाभन्दा अरू देखिन्छ ।
० स रकारले कस्तो नीति ल्यायो भने ऊर्जामा लगानी बढ्छ र बगिरहेको पानीलाई बिजुली बनाउन सकिएला ?
– सरकारले जलविद्युत् आयोजना बनाउन सहजीकरण गर्नुपर्छ । विद्युत्
प्राधिकरणको एकाधिकार अन्त्य गरेर प्रतिस्पर्धा गर्न अन्य पावर ट्रेडिङ
कम्पनीहरू स्थापना गर्नुपर्छ । अहिले भारतसँग भएको पीटीएका आधारमा अब
आयोजनाको लगानी कसरी घटाउने भन्नेतिर केन्द्रित हुनुपर्छ । अहिले क्यू ४०
मा जलविद्युत् आयोजना बनाउनुपर्छ भनिएको छ, अब पीटीए भएपछि यसको सीमारेखा
हटाउँदै जानुपर्छ । फाइदाका लागि पीपीए मूल्यमा पनि परिवर्तन गर्नुपर्छ ।
० नेपालमा मुरारका परिवारले उद्योग व्यवसायमा गरेको संघर्षबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट भयो भने थप प्रगति गर्न सकिँदैन । संक्रमणकाल, द्वन्द्वकाल र
अस्थिर राजनीतिका बाबजुद नेपाली उद्योगीले जसरी काम गरेका छन्, यसमा गर्व
गर्नुपर्छ, म पनि गर्छु । यसले नेपाली उद्योगी व्यवसायी क्षमतावान् छन्
भन्ने देखाउँछ । अलि सरकारले उचित वातावरण बनायो भने लगानी थपिन्छ । आफ्नो
पारिवारिक योगदानको लामो संघर्ष छ । अहिले नै निराश हुने अवस्था छैन ।
सरकारसँग वातावरण नबनाएकामा केही कुरामा हाम्रा पनि विमति होलान् तर
नेपालमा अवसर छ भन्ने कुरामा म ढुक्क छु ।
यदि, वातावरण भएको भए उद्योग जसको आर्थिक वृद्धिदरमा १२ प्रतिशतको योगदान
थियो, अहिले ६ प्रतिशतमा आएको छ । त्यो आउ“दैनथ्यो नि । किन घटेको छ त ? यो
हामीले व्यापार गर्न नचाहेर होइन । कतिपय नीति, कानुन छन् तर सरकारले
नचाहेकाले कार्यान्वयन भएको छैन ।
http://rajdhani.com.np/article/0432240001417325210