भीम गौतम / राजधानी
काठमाडौंैं, १३ मंसिर
काठमाडौंैं, १३ मंसिर
तीन महिनाअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण क्षतिग्रस्त भएको
१० दशमलव ५ मेगावाटको सुनकोसी जलविद्युत्को बिजुली केन्द्रीय ग्रिडमा
जोडिएको छ ।
गत १७ साउनमा गएको भीषण पहिरोका कारण जनधनको क्षतिका साथै नेपाल विद्युत्
प्राधिकरणको सो आयोजनामा पनि क्षति भई विद्युत् अवरुद्ध भएको थियो ।
क्षतिग्रस्त भएको बाँध निर्माण गरेपछि जलविद्युत् आयोजनाको बिजुली
केन्द्रीय ग्रिडसँग जोडिएको हो । ‘सुनकोसीको बिजुली केन्द्रीय ग्रिडमा
जोडिएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
पहिरोका कारण ४५ मेगावाटको भोटेकोसीका साथै सानिमा माईको सुनकोसी,
भैरवकुण्ड, सानो सुनकोसीलगायतका आयोजनाबाट उत्पादित ६७ मेगावाट विद्युत्
अवरुद्ध भएको थियो । अझै ४५ मेगावाटको भोटेकोसी र २ दशमलव ५ मेगावाटको
सानिमा माईको सानो सुनकोसी जलविद्युत् आयोजनाको बिजुली
केन्द्रीय ग्रिडमा जोडिएको छैन । प्राधिकरणले बाँधलाई अस्थायी रूपमा
निर्माण गरेर सुनकोसी आयोजना सञ्चालनमा ल्याएपछि बढ्दो लोडसेडिङबाट केही
राहत मिलेको प्राधिकरणभारप्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले बताए ।
‘लोडसेडिङ बढ्दो अवस्थामा रहेको बेला थोरै भए पनि सुनकोसी जोडिएपछि राहत
मिलेको छ,’उनले भने ।
जुरेको पहिरोका कारण सानो सुनकोसीको विद्युत् गृह पुरिएका कारण
पुनर्निर्माणका लागि समय लाग्ने अवस्था रहेको छ । भोटेकोसीका ५ टावरमा
क्षति पुगेकाले ती टावर निर्माण हुन नसक्दा अझै बिजुली केन्द्रीय ग्रिडमा
जोड्न सकिएको छैन । सिन्धुपाल्चोकका नेपाली कांग्रेस, एमाले, एकीकृत
माओवादीलगायतका राजनीतिक दलका स्थानीय कार्यकर्ताले सेयर मागेर टावर बनाउन
नदिएपछि सो विद्युत् कहिले जोड्ने भन्ने अन्योल छ ।
प्राधिकरणका अधिकारीहरू भोटेकोसीमा राजनीतिक समस्या देखिएकाले सरकारले
छिट्टै समाधान नगरे लोडसेडिङ बढ्ने अवस्था रहेको बताउँछन् । तर, सरकारले
हालसम्म समस्या समाधान गर्न सार्थक पहल गरेको छैन ।
अहिले विद्युत् प्राधिकरणले साताको आठ घन्टा घोषणा गरे पनि भारतबाट थप
विद्युत् आयातलगायतका कारण त्योभन्दा कम छ । प्राधिकरणका अनुसार, भोटेकोसी
समयमै नआएमा लोडसेडिङ बढ्ने अवस्थामा छ । प्राधिकरणअनुसार, हाल भारतबाट २
सय मेगावाट आयात गरिएको छ भने निजी क्षेत्र र प्राधिकरणको उत्पादन ६
मेगावाट छ । करिब साढे ११ सय मेगावाट बिजुलीको माग रहेकामा साढे ३ सय
मेगावाटको लोडसेडिङ छ । खोलामा पानीको बहाव कम हुँदै गएकाले थप लोडसेडिङ
बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।http://rajdhani.com.np/article/0949364001417324307
No comments:
Post a Comment