भीम गौतम /राजधानी
काठमाडौं, ६ मंसिर
काठमाडौं, ६ मंसिर
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनको सम्पूर्ण
तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्कका लागि आवश्यक
भौतिक पूर्वाधारका साथै सुरक्षा प्रबन्ध, अतिथि सत्कार, सांस्कृतिक
कार्यक्रम, यातायात व्यवस्थापन, आवास प्रबन्ध, बिजुली व्यवस्थापनलगायतका
सबै काम पूरा भएको हो ।
‘सार्कका सबै तयारी पूरा भएर कार्यक्रम समितिको बैठक नै सुरु भइसकेको छ,’
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘मुख्यतया सार्क सम्मेलन यस
क्षेत्रको विकासमा केन्द्रित हुनेछ ।’ सन् १९८७ मा पहिलो पटक नेपालले
आयोजना गरेको सार्क शिखर सम्मेलन त्यसपछि सन् २००२ मा नेपालले गरेको थियो ।
मंसिर १० र ११ हुन नेपालमा तेस्रो पटक हुन लागेको यो शिखर सम्मेलनको
अवसरमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र
अफगानिस्तानका सरकार प्रमुखसहित साढे ३ सय प्रतिनिधि सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा अमेरिका, चीन, जापान, अस्ट्रेलिया,
कोरिया, इरान, मौरिसस, म्यानमार र ईयूका प्रतिनिधि पर्यवेक्षकका रूपमा
सहभागी हुन लागेका छन् ।
सार्क सम्मेलनमा नेपालबाट प्रधानमन्त्री सुशील कोइराला, भारतबाट
प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानबाट प्रधानमन्त्री मुहम्मद नवाज
सरिफ, बंगलादेशबाट प्रधानमन्त्री सेख हसिना र भुटानबाट प्रधानमन्त्री
ल्योन्छेन छिरिङले नेतृत्व गर्नेछन् । त्यसैगरी, श्रीलंकाबाट राष्ट्रपति
महिन्द्रा राजापाÔ, माल्दिभ्सबाट राष्ट्रपति अब्दुल्लाह यमेन अब्दुल गयुम र
अफगानिस्तानबाट राष्ट्रपति मोहम्मद असरफ घानीले आफ्नो देशबाट नेतृत्व
गर्नेछन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीका अनुसार सार्कमा
नेपालबाट २६, भारतबाट २७, पाकिस्तानबाट ५१, बंगलादेशबाट ७२, श्रीलंकाबाट
७५, अफगानिस्तानबाट ५५, भुटानबाट २१ र माल्दिभ्सबाट २३ प्रतिनिधि सहभागी
हुन लागेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले शिखर
सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री कोइरालासहित परराष्ट्रमन्त्री
महेन्द्रबहादुर पाण्डे, मुख्य सचिव लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका
कामु सचिव शंकरदास वैरागी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव
तुलसीप्रसाद सिटौला, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलगायतको सहभागिता
हुने जनाएको छ । सम्मेलनमा विशेष गरी सार्कभित्र ठूलो समस्याका रूपमा
देखिँदै आएका आतंकवादका साथै सीमा सुरक्षा, लागूऔषध नियन्त्रण, मानव
बेचबिखन तथा ओसारपसार, जलवायु परिवर्तन, गरिबी निवारण, कृषि तथा ग्रामीण
विकास, सामाजिक विकास, स्वास्थ्य जनसंख्यालगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलनले सार्कभित्रका समस्या, चुनौती र सम्भावनालाई समेटिने परराष्ट्र
मन्त्रालयले जनाएको छ । ३१ बुँदे घोषणापत्र तयार गरेर सम्बन्धित मुलुकमा
पठाइसकिएको छ । ती मुलुकबाट आएका सुझावसहित समेटेर घोषणापत्र जारी गरिने
परराष्ट्रमन्त्री पाण्डेले जानकारी दिए । ‘सदस्य मुलुकमध्ये कतिको सुझाव
पठाइसकेका छन् भने पठाउने क्रम जारी छ,’ उनले भने, ‘पठाइएकोे प्रारम्भिक
मस्यौदामा आएका सुझावलाई समेटेर शिखर सम्मेलनको अघिल्लो दिन बस्ने सार्क
मन्त्री स्तरीय बैठकबाट पारित भएर मुख्य बैठकमा प्रवेश गर्छ ।’ उनका अनुसार
नेपालमा हुने सम्मेलन पारस्परिक हित र विकासका साथै १७औं शिखर सम्मेलनसम्म
भएका निर्णय र कार्यान्वयनबारे केन्द्रित हुनेछ ।
विगतमा भएका निर्णयको कार्यान्वयनका साथै शिखर सम्मेलनका क्रममा सार्क
राष्ट्रहरूबीच ऊर्जा व्यापार सम्झौता, मोटर सञ्जाल र रेलवे सञ्जाल
जोड्नेबारे सम्झौतासमेत हुन लागेको छ । शिखर सम्मेलनकै अवसर पारेर पाँच
वर्षअघि निर्माण सम्पन्न भएको ट्रमा सेन्टर हस्तान्तरणका साथै ९ सय
मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी सतलज
निगमसँग आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षरसमेत हुन लागेको छ ।
शनिबार भएको सहसचिव स्तरीय सार्क समिति बैठकले सार्कभित्र रहेका केही
संरचनाहरू गाभ्ने तथा खारेज गर्ने निर्णय गरेको छ । खारेज गर्न सिफारिस
गरिएका केन्द्रहरूमा सार्क सूचना केन्द्र, मानव संशाधन केन्द्र र सार्क
अनुसन्धान केन्द्रलगायत रहेका छन् । त्यस्तै, वन व्यवस्थापन केन्द्र, विपद्
व्यवस्थापन केन्द्र, तटीय Ôेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान
केन्द्रलाई आपसमा गाभेर एउटै केन्द्र बनाउन पनि बैठकले सिफारिस गरेको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले
गरेका थिए । बैठकमा कार्यक्रम समितिको अध्यक्षता माल्दिभ्सका विदेश सहसचिव
लियसा जाहिरले सहसचिव हमाललाई हस्तान्तरणसमेत गरेका छन् । बिहान होटल
सोल्टीमा भएको समितिको बैठकमा सार्कका आठओटै सदस्य राष्ट्रका विदेश
मन्त्रालयका सहसचिवहरूको टोली सहभागी थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार ७ मंसिरदेखि हुन लागेको दुईदिने सचिव स्तरीय
सार्क समितिको बैठकका लागि अन्य सार्क राष्ट्रका विदेश सचिवहरू काठमाडौं
आइपुगेका छन् । आज (आइतबार) र भोलि ८ मंसिरमा परराष्ट्र सचिव स्तरीय सार्क
स्थायी समितिको बैठकपछि ९ मंसिरमा सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक
बस्नेछ । १० र ११ मंसिरमा सरकार प्रमुखको सहभागितामा सार्क शिखर सम्मेलन
हुनेछ । नेपालले तयार पारेको ३१ बुँदे प्रस्तावबारे कार्यक्रम समितिको
रायसुझावका आधारमा सार्क स्थायी समितिले थप छलफल गरेर परिमार्जनसहित
निष्कर्ष निकाल्नेछ । स्थायी समितिले तयार पारेको निष्कर्षबारे सार्क
मन्त्रिपरिषद्ले आवश्यक संशोधन भए पारित गरेपछि त्यो प्रस्ताव शिखर
सम्मेलनमा प्रस्तुत गरिनेछ । शिखर सम्मेलनमा समेत राष्ट्र प्रमुखहरूबाट
रायसुझाव लिएपछि सम्मेलनबाट पारित गरिने परराष्ट्रमन्त्री पाण्डेले जानकारी
दिए ।
१० मंसिरमा प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने शिखर सम्मेलनका
सोही दिन प्रधानमन्त्री कोइरालाले विशिष्ट अतिथिहरूको सम्मानमा रात्रिभोज
दिने कार्यक्रम तय गरिएको छ भने ११ मंसिरमा विशिष्ट अतिथिहरूलाई धुलिखेलमा
रिट्रिट गराउने कार्यक्रम छ । ‘रिट्रिटमा सार्क सरकार प्रमुखहरूबीच
द्विपक्षीय र बहुपक्षीय अनौपचारिक छलफलसमेत हुने भएको छ,’ परराष्ट्रमन्त्री
पाण्डेले भने । ११ मंसिरमा समापनपछि सार्कका विशिष्ट अतिथिहरूको सम्मानमा
राष्ट्रपति डा. रामवरण यादवले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ
। परराष्ट्रले राष्ट्रपतिको रात्रिभोज अगाडि उनीसँग सार्कका
राष्ट्रप्रमुखहरूको सामूहिक भेटको कार्यक्रमसमेत तय गरिएको छ । सोही
सम्मेलनमा क्रममा प्रधानमन्त्री कोइरालाले समेत सार्क राष्ट्रका
प्रमुखहरूसँग छुट्टाछुट्टै भेट गरी द्विपक्षीय, क्षेत्रीय र
अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ । शिखर सम्मेलनका
क्रममा पर्यवेक्षक राष्ट्रका प्रतिनिधिहरूलाई समेत आ–आफ्ना विचार र अनुभव
राख्ने अवसर दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
http://www.erajdhani.com/article/0454974001416713929
No comments:
Post a Comment