Tuesday, November 25, 2014

सार्क राष्ट्रका प्रमुख आज आउँदै

भीम गौतम, सञ्चिता घिमिरे / राजधानी
काठमाडौंं, ८ मंसिर
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८आंै शिखर सम्मेलनमा सहभागी हुन सातओटै राष्ट्रका सरकार प्रमुख तथा सात पर्यवेक्षक राष्ट्रका प्रतिनिधि आज (मंगलबार) काठमाडांै आइपुग्ने भएका छन् । बुधबारदेखि सुरु हुने दुईदिने शिखर सम्मेलनमा भाग लिन भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका राष्ट्र÷सरकार प्रमुख काठमाडौंं आउन लागेका हुन् ।

त्यसैगरी, सार्क सम्मेलनमा नौ पर्यवेक्षक राष्ट्रमध्ये सात राष्ट्र अमेरिका, चीन, अस्ट्रेलिया, कोरिया, इरान, मोरिसस र म्यानमारका प्रतिनिधि पनि नेपाल आउन लागेका छन् । जापान र ईयूको तर्फबाट भने नेपालका लागि राजदूतले सम्मेलनमा प्रतिनिधित्व गर्नेछन् । मंगलबारदेखि सुरु हुने सार्क मन्त्रिपरिषद्को बैठकका लागि श्रीलंकाबाहेक सार्क राष्ट्रका विदेशमन्त्री भने सोमबार नै काठमाडांै आइपुगेका छन् । श्रीलंकाका विदेशमन्त्री गामिनी लक्ष्मण पेरिस मंगलबार बिहान काठमाडौंं आउने कार्यक्रम छ । फरक समयमा आइपुग्ने सात राष्ट्रका राष्ट्र÷सरकार प्रमुखलाई अन्तर्राष्ट्रिय विमानस्थलमा उप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जनकपुर हुँदै सडक मार्गबाट आउने योजना बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आउने समय निश्चित भए पनि जाने समयको भने टुंगो नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण तालिकामा मोदीको आगमन मिति उल्लेख भए पनि फिर्ता हुने मिति भने उल्लेख छैन । मोदी आज (मंगलबार) मध्याह्न साढे १२ बजेदेखि १ बजेसम्म विशेष विमानबाट काठमाडौंं आइपुग्ने कार्यक्रम छ । सदस्य मुलुकका प्रमुखमध्ये श्रीलंकाका राष्ट्रपति सबैभन्दा चाँडो आइपुग्ने भएका छन् । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे बिहान साढे ९ बजे आइपुग्ने छन् । राष्ट्रपति राजापाक्षेको मंगलबार नै लुम्बिनी दर्शन गर्ने कार्यक्रम छ । अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानी १० बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ । भुटानका प्रधानमन्त्री लियोन चेन छिरिङ तोब्गे बिहान पौने १२ बजे आइपुग्ने छन् । यस्तै, माल्दिभ्सका राष्ट्रपति अब्दुला यामिन गैयुम मध्याह्न १२ बजे आइपुग्ने परराष्ट्रले बताएको छ । पाकिस्तानका प्रधानमन्त्री मुहमद नवाज सरिफ सवा ३ बजे स्पेसल एयरक्राफ्टबाट काठमाडौं आउँदै छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अपराह्न सवा ४ बजे आइपुग्ने छिन् । उनी बीएच–७०१ को फ्लाइटबाट काठमाडौं आउने तय भएको छ ।
सबै देशका सरकार प्रमुख÷राष्ट्राध्यक्ष एकै दिनमा आउने भए पनि फरक दिनमा फर्कने भएका छन् । अफगानिस्तान, श्रीलंकाका प्रमुख कार्यक्रम सकिएकै दिन बेलुका फर्कने भएका छन् । बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानका प्रमुखले फरक समयमा शुक्रबार फर्कने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट पाहुना आइपुग्ने समयलाई शून्य मानेर कार्यतालिका बनेको छ । शिष्टाचार शाखाका प्रमुख कालीप्रसाद पोखरेल र मिसनका प्रमुखले सरकार प्रमुख÷राष्ट्राध्यक्ष र उनीहरूका श्रीमतीलाई स्वागत गर्नेछन् ।
विमानबाट झरेपछि उनीहरूलाई स्वागत कक्षसम्म पु¥याउनका लागि उपप्रधानमन्त्रीद्वयले सहजीकरण गर्नेछन् । उनीहरूलाई सलामी कक्षसम्म पु¥याउनका लागि मुख्य सचिव लीलामणि पौडेल, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय र प्रधानमन्त्रीका सल्लाहकार बसन्तकुमार गौतमले स्वागत गर्ने कार्यक्रम छ । सलामी कक्षमा पुग्दा राष्ट्राध्यक्ष÷सरकार प्रमुख, उनीहरूका श्रीमतीका साथमा शिष्टाचार प्रमुख, उपप्रधानमन्त्री सँगै हुनेछन् । उपप्रधानमन्त्रीले नेपाली सेनाका प्रमुख गौरवशमशेर जबरालाई परिचय गराउने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रका अनुसार प्रत्येक राष्ट्रका प्रमुख आउँदा दुवै मुलुकको राष्ट्रिय गीत बज्नेछ । उपप्रधानमन्त्रीले उनीहरूलाई अति विशिष्ट कक्षमा पु¥याउनेछन् । त्यहाँबाट सोझै सोल्टी होटल पु¥याइनेछ । सोल्टीमा सरकार प्रमुख÷राष्ट्राध्यक्षलाई सांस्कृतिक पहिरनसहितको स्वागत हुनेछ । राष्ट्रिय झन्डासहित परम्परागत सांगीतिक धुनले उनीहरूको स्वागत गर्ने कार्यक्रम छ । होटलमा महिला मन्त्रीले स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी राष्ट्र चीनबाट पर्यवेक्षकको रूपमा उपविदेशमन्त्री ल्यु चनमिन सहभागी हुन लागेका छन् भने कोरियाबाट समेत उपविदेशमन्त्री क्युङ सु ली सहभागी हुन लागेका छन् । त्यसैगरी, सार्क सम्मेलनमा अस्ट्रेलियाबाट परराष्ट्र सचिव सिनेटर ब्रेट मासोन र अमेरिकाबाट दक्षिण र मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेश सचिव निशा देसाई विश्वाल सार्क सम्मेलनमा विदेशी पर्यवेक्षकको रूपमा सहभागी हुन लागेका छन् । इरानबाट सडक र सहरीमन्त्री डा. अवास अखण्डी तथा म्यानमारबाट उपविदेशमन्त्री टिनओ ल्विन सार्क शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
यसैगरी, सार्क मन्त्रिपरिषद्को बैठकका लागि विदेशमन्त्रीहरू क्रमशः भारतका सुष्मा स्वराज, अफगानिस्तानका जरार अहमद ओसमानी, बंगलादेशका अब्दुल हसन महम्मद अली, भुटानका ल्यान्पो रिन्जिन दोर्जे र माल्दिभ्सका दुन्या मौमुन सोमबारै काठमाडौं आइपुगेका छन् । त्यसैगरी, मन्त्रिपरिषद्को बैठकमा पाकिस्तानबाट भने प्रधानमन्त्रीका सल्लाहकार सरताज अजिज पनि काठमाडौं आइपुगेका छन् ।

सुजातालाई श्रीमती घुमाउने जिम्मा

बुधबार र बिहीबार गरेर दुई दिनसम्म सम्मेलन चल्नेछ । पहिलो दिन प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने सम्मेलन कक्षमा पाहुनाहरू बिहान ८ बजे नै पुग्नेछन् । उद्घाटन सत्रको कार्यक्रम २ बजेसम्म चल्नेछ । पाहुनाको बसाइ रहेको सोल्टी होटलमा प्रधानमन्त्री कोइरालाले रात्रिभोजलगायतका कार्यक्रम राखेका छन् । सो भोज साँझ ६ बजेबाट सुरु हुँदा झन्डै राति १० बजेसम्म चल्नेछ । झन्डै २० मिनेटसम्म सांस्कृतिक कार्यक्रम हुने तय भएको छ ।
हेलिकोप्टरबाट बिहीबार बिहानै पाहुनाहरू ‘रि ट्रिट’ का लागि धुलिखेल पुग्नेछन् । पाहुनासँगै प्रधानमन्त्री कोइराला, परराष्ट्रमन्त्री पाण्डे र सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल पनि धुलिखेल जाने तय भएको छ । धुलिखेलमा सामूहिक फोटो र लन्च हुनेछ । उनीहरू साढे २ बजे फर्कने कार्यक्रम छ । उनीहरू फर्किएपछि नै सभागृहमा समापन कार्यक्रम हुनेछ । बिहीबारको रात्रिभोज भने राष्ट्रपति डा. रामवरण यादवले आफ्नो निवास शीतलनिवासमा आयोजना गर्दै छन् । यस्तै, पूर्वपराष्ट्रमन्त्री सुजाता कोइरालाले सरकार प्रमुख÷राष्ट्राध्यक्षका श्रीमतीहरूलाई भक्तपुर घुमाउन लैजानेछिन् ।

सार्क महिला फोरम प्रस्तावित

काठमाडौं÷रास– दक्षिण एसियाली Ôेत्रीय सहयोग संगठन (सार्क) को स्थायी समिति बैठकले दक्षिण एसियाली महिला विकास फोरमको प्रस्ताव गरेको छ । समितिको बैठकले सार्कका तीन केन्द्र खारेज र चार केन्द्र गाभ्ने निर्णयसमेत गरेको छ ।
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीले नयाँ प्रस्तावको रूपमा सार्क महिला विकास फोरम गठनको निर्णय गरिएको जानकारी दिए । उनका अनुसार सार्कभित्र रहेका ११ केन्द्रमध्ये सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज भएका छन् । त्यसैगरी, वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय Ôेत्र व्यवस्थापन केन्द्र र जलवायु केन्द्रलाई गाभेर सार्क वातावरण तथा विपत्ति व्यवस्थापन केन्द्र (सीईडीएमसी) बनाइएको छ । शनिबार बसेको सार्क कार्यक्रम समितिको बैठकले तीन केन्द्र खारेज र चार केन्द्र मर्जको सिफारिस गरेकोमा आइतबार र सोमबार बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । सो समितिले गरेको नयाँ केन्द्र गठन तथा पुराना खारेज र मर्जरलाई मंगलबार बस्ने सार्क मन्त्रिपरिषद्ले अन्तिम रूप दिनेछ । सो प्रस्ताव १० र ११ मंसिरमा हुने १८आंै सार्क शिखर सम्मेलनमा छलफल भई पारित हुनेछ ।
बैठकमा सार्क सम्मेलनमा सहभागी पर्यवेक्षक मुलुकका प्रतिनिधिहरूका लागि आयोजनामा आधारित भएर र सार्क राष्ट्रले निर्धारण गरेको प्राथमिकता प्राप्त आयोजनाबारेमा केन्द्रित गराउने छलफलसमेत
भएको थियो । बैठकमा भक्तपुरमा रहेको सार्क Ôयरोग तथा एचआईभी÷एड्स केन्द्रलाई स्तरोन्नतिका साथै काठमाडौंमा रहेको सार्क सचिवालयलाई नया“ स्थानमा राख्नेबारे पनि छलफल भएको थियो ।
स्थायी समितिले कृÈिको उत्पादकत्व वृद्धि, जलवायु परिवर्तन, सार्क कनेक्टिभिटी, सार्कभित्रको प्रविधि विकास र हस्तान्तरण गर्नेलगायतका विषयलाई अझ सुदृढ बनाएर अघि बढ्ने निर्णयसमेत गरेको छ । बैठकमा सार्क विकास कोषलाई बलियो बनाउने तथा निष्क्रियजस्तै अवस्थामा रहेको आर्थिक र पूर्वाधारको संयन्त्रलाई सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव वैरागीले नेतृत्व गरेका थिए भने सार्क राष्ट्रका अन्य विदेश सचिवको सहभागिता थियो ।
बैठकमा सार्कभित्र प्रमुख समस्या र चुनौतीमा साझा सहकार्यका साथै गरिबी निवारण, सामाजिक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य विकासलगायतका विषयमा समेत छलफल भएको थियो । सोमबार ¥याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा कामु सचिव वैरागीले सार्क सम्मेलनका क्रममा रेल–वे, मोटर–वे र ऊर्जा व्यापारसमेत सम्झौता हुन लागेको जानकारी दिए । ‘मुख्यतया सार्क राष्ट्रभित्रको कनेक्टिभिटीअन्तर्गत रेल–वे, मोटर–वे र सार्क ग्रिडको अवधारणामा आधारित भएर ऊर्जा व्यापारको फ्रेमवर्कबारे सम्झौता हुँदै छ,’ उनले भने ।
http://rajdhani.com.np/article/0183722001416880585

No comments: