Monday, November 3, 2014

प्राधिकरणले बनाउने भो २५ मेगावाटको सोलार


– विश्व बैकको १३ करोड डलर ऋण सहयोग
भीम गौतम\राजधानी
काठमाण्डौ, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणले २५ मेगावाटको सोलार सौर्य उर्जा (सोलार) प्लान्ट निर्माण गर्ने पक्का भएको छ ।
विश्व बैकको अनुदान सहयोगमा बनाउने भनेपनि नेपाललाई दिँइदै आएको अनुदान कटौती गरेपछि र लगानीको कारण समस्या रहेको सो सोलार आयोजना विश्व बैकको सहुलियत ऋणमा बन्ने पक्का भएको हो । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले विश्व बैकले सहुलियत ऋण दिने ग्यारेण्टी भएकोले अब आयोजना अघि बढ्ने बताए । ‘विश्व बैकले सोलारसहितको आयोजनाका लागि सहुलियत ऋण दिने पक्का भएको छ, अब यो आयोजना अघि बढ्छ ।’–उनले भने ।
विश्व बैकले सोलारसहित चुहावट नियन्त्रण, ग्रामीण विद्युतीकरण र वितरण गुरुयोजनाका लागि १३ करोड डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आगामी सोमबार अर्थ मन्त्रालय र विश्व बैकबीच सम्झौता समेत हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ । गत अगष्टदेखिनै सुरु भैसक्ने आयोजना लगानी लगायतका विविध कारणले अघि बढ्न सकेको थिएन । अब सोलार निर्माणका लागि टेण्डर आह्वान गरी यसबारे विस्तृत अध्ययन गरी एक बर्षभित्र आयोजना निर्माण गरिसक्ने लक्ष्य प्राधिकरणको छ ।
पहिला विश्व बैकले सोलारसहितको आयोजनाका लागि ८७ मिलियन डलर दिने भनेकोमा थपेर अहिले १३ करोड डलर पुर्याएको र सो आयोजनाको कार्य सम्पादन राम्रो भएमा थप ५० मिलियन डलर समेत सहयोग गर्न सक्ने विश्व बैकका प्रतिनीधिहरुले बताएको पनि उपकार्यकारी निर्देशक पाण्डेले बताए ।
प्राधिकरणले उर्जा संकट न्यूनीकरणका लागि भन्दै दुई बर्ष अघि विश्व बैक समक्ष सहयोगका लागि प्रस्ताव गरेको थियो । सुरुमा ४२ मिलियन डलर अनुदान दिने बताएपनि पछि अनुदान कटौती गरेको विश्व बैक सहुलियत ऋण दिन तयार भएको थियो । सहुलियत ऋणमध्ये ५० मिलियन डलर सोलार निर्माणका लागि र बाँकी चुहावट नियन्त्रण र वितरण प्रणाली गुरुयोजना तयार गरिने योजना छ ।
जलविद्युत आयोजना निर्माणमा सीमित प्राधिकरणले सोलार बनाउन लागेको भन्दै आलोचना भएपनि प्राधिकरण उर्जा न्यूनीकरणका लागि जलविद्युतको तुलनामा तत्काल बढाउन सक्ने  र डिजेल प्लान्टका तुलनामा सोलार सस्तो हुने भन्दै सोलार बनाउने निर्णय गरेको थियो ।
प्राधिकरणले डिजेल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट चुहावटसहित ४० रुपिया“ पर्ने र सोलार निर्माण गर्दा प्रतियुनिट १५ र १६ रुपिया“मा आउने भएकाले प्राधिकरणले अहिलेको ऊर्जा संकटको न्यूनीकरणका लागि वैकल्पिक ऊर्जा प्रणलीका रुपमा लिइने सोलारलाई महत्व दिइएको बताउँदै छ । सोलारबाट उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने भएकोले यसले हिउँदको लोडसेडिङ घटाउन सहयोग पुग्ने आशा प्राधिकरणको छ ।
हालसम्म प्राधिकरणले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्धारा सुन्दरीघाट Ôेत्रमा निमिर्त सौर्य ऊर्जा प्रणली आयोजनाबीच विद्युत खरिद सम्झौता (पिपिए) गरेर ६८०.४ किलोवाट सोलार ग्रिडमा जोडिसकेको छ । एक अध्ययन अनुसार सोलार प्रविधिबाट नेपालमा २१ सय मेगावाट विद्युत उत्पादनको सम्भावना छ, तर सरकारको प्राथमिकतामा परेको छैन ।

No comments: