भीम गौतम\राजधानी
गल्याङ (स्याङ्जा), १७ कात्तिक
गल्याङ (स्याङ्जा), १७ कात्तिक
आँधीखोला जलविद्युत् आयोजनाको क्षमता वृद्धिको क्रममा सुरुङ साँघुरिने
(स्क्युजिङ) समस्या देखिएको छ ।२३ वर्षअघि निर्माण सम्पन्न भई ५.१ मेगावाट
क्षमताको आयोजनालाई वृद्धि गरेर ९.४ मेगावाट उत्पादन कार्य अघि बढाउने
क्रममा आयोजनाको टेलरेसमा सुरुङ साँघुरिने समस्या देखिएको हो ।
क्षमता
वृद्धिसँगै १ हजार ६५ मिटर लामो टेलरेसमध्ये करिब ४ सय मिटरमा सुरुङ
साँघुरिने समस्या देखिए पनि १ सय मिटरमा विशेष समस्या देखिएको आयोजनाको
कन्स्ट्रक्सन मेनेजर टेकेन्द्र भण्डारीले जानकारी दिए । ‘अलि बढी समस्या
देखिएकामध्ये ३० मिटर सुरुङमा कंक्रिट लाइनिङ गर्ने कार्य सकिएको छ,’ उनले
भने ।
आयोजनाका अनुसार, क्षमता वृद्धि गर्नुअघि २.६० मिटर रहेको टेलरेसको
सुरुङलाई २.१० मिटर बढाउने क्रममा सुरुङ साँघुरिने समस्या देखिएको थियो ।
साँघुरिएको सुरुङको कारण लक्ष्यअनुसार पूरा हुन समस्या देखिए पनि लक्षित
मिति १५ डिसेम्बरभित्र सम्पन्न गर्ने गरी कार्य अघि बढेको आयोजना प्रमुख
विष्णुबहादुर सिंहले जानकारी दिए ।
‘ठेकेदार कम्पनीले १५ डिसेम्बरभित्र सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ,
समयमै बन्छ, साँघुरिएको सुरुङको समस्या पनि छिट्टै सकिन्छ,’उनले भने ।
बुटबल पावर कम्पनी (बीपीसी) द्वारा निर्माण गरिएको सो आयोजना १ अर्ब ३०
करोड रुपैयाँमा निर्माण हुन लागेको हो । मेगा बैंक र अन्तर्राष्ट्रिय
वित्तीय निगम (आईएफसी) को ऋण सहयोगमा बीपीसीले निर्माण गर्न लागेको सो
आयोजनाको क्षमता अभिवृद्धि गर्ने निर्णय सन् २००९ मा भएको थियो । आयोजनाको
क्षमता वृद्धिका लागि २१ नोभेम्बर २०१२ मा आयोजनाको उत्पादन बन्द गरी
क्षमता अभिवृद्धि गर्ने कार्य सुरु गरिएको थियो ।
पहिला नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि थप संरचना
निर्माणले गर्दा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत टेलरेसको
गहिराइमा वृद्धि, सर्च ट्याक परिवर्तनका साथै विद्युत्गृहमा आठ मिटर थप
गरेर दुईओटा टर्वाइन रहेकामा तीन टर्वाइन बनाइएको छ ।
विद्युत् गृहनजिकबाटै स्याङ्जा र पाल्पाका विभिन्न गाविसका ३ सय ९ हेक्टर
जमिनमा सिँचाइ सुविधासमेत दिँदै आएको सो आयोजनाले क्षमता वृद्धिपछि ५ सय ९९
हेक्टर जमिनमा सिँचाइ सुविधा दिन लागेको छ । अहिले क्षमता वृद्धिको कार्य
अन्तिम चरणमा रहेको र ड्याममा छुट्टै पाइप राखेर सिँचाइ सुविधाको निरन्तरता
दिइरहेको आयोजनाले निर्माण सम्पन्न गर्न १५ दिन सिँचाइ बन्द गर्नुपर्ने
अवस्था छ । तर, स्थानीयले सिँचाइ बन्द गर्न नदिँदा आयोजना अघि बढाउन समस्या
छ । आयोजनाले स्थानीयसँग छलफल भइरहेकाले छिट्टै समाधान हुने आयोजनाले
जनाएको छ ।
त्यसैगरी, स्थानीयले सुरुङ निर्माणको क्रममा ब्लास्टिङ गर्न नदिँदा पनि
आयोजना निर्माणमा केही ढिलाइ भएको थियो । हिमाल हाइड्रोले सिभिल र एसिया
प्यासिफिक पावर ट्रेक चाइनाले इलेक्ट्रो मेकानिकलको काम अघि बढाइरहेको सो
आयोजनामा हावाको आधारमा चल्ने रबर ड्याम रहेको बताएको छ । सो आयोजनाको
क्षमता वृद्धि सम्पन्न भएमा आगामी हिउँदमा हुने लोडसेडिङ न्यूनीकरणका लागि
सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चमेलिया जलविद्युत् आयोजनामा पनि सुरुङ साँघुरिने समस्या देखिएपछि यसबारे
निर्णय गर्न नेपाल विद्युत् प्राधिकरणलाई एक वर्ष लागेको थियो । तर,
बीपीसीले समस्या देखिएपछि तुरुन्तै निर्णय गरेर त्यसको कंक्रिट लाइलिङ अघि
बढाएको थियो ।
No comments:
Post a Comment