Wednesday, November 19, 2014

सार्क पर्यवेक्षकमा खटाइए ‘हेभी वेट’

भीम गौतम\राजधानी
काठमाडौंं, २ मंसिर
आगामी १० र ११ मंसिरमा काठमाडौंमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८आंै शिखर सम्मेलनको पर्यवेक्षणमा उच्च राजनीतिक नेतृत्व खटाइएको छ । छिमेकी चीनसहित पर्यवेक्षणका लागि इच्छुक अन्य मुलुकहरूले सार्कमा ‘हेभी वेट’ का पदाधिकारी खटाएका हुन् ।
सार्क सम्मेलनको संयोजन गरिरहेको परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म पर्यवेक्षण गर्न चाहेका नौमध्ये पाँच राष्ट्रले आफ्ना पर्यवेक्षकहरूको सूची पठाइसकेका छन् । सार्क सम्मेलनमा नौ राष्ट्रका पर्यवेक्षकहरूको सहभागिता हुन लागेकोमा पाँच राष्ट्रले आफ्ना पर्यवेक्षकहरूको नाम पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म चीन, जापान, अमेरिका, अस्ट्रेलिया र दक्षिण कोरियाले पर्यवेक्षक प्रतिनिधिहरूको नाम पठाएका छन् । इरान, मोरिसस, म्यानमार र युरोपियन युनियनले भने अझैसम्म पर्यवेक्षकको नाम पठाएका छैनन् । सार्क सम्मेलनका लागि पठाइएका पर्यवेक्षक प्रतिनिधिहरूमा उपविदेशमन्त्रीदेखि सहायक विदेश सचिवसम्मका हैसियतवाल पदाधिकारी रहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी राष्ट्र चीनबाट पर्यवेक्षकको रूपमा उपविदेशमन्त्री ल्यू चनमिन सहभागी हुन लागेका छन् । सार्क मामिलामा जानकार ल्यूलाई चीनले पर्यवेक्षकको रूपमा खटाएको हो । यस्तै, दक्षिण कोरियाबाट समेत उपविदेशमन्त्री क्युङ सू ली सार्क पर्यवेक्षकका रूपमा सहभागी हुन लागेका छन् । त्यसैगरी, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची पनि सार्क सम्मेलनमा पर्यवेक्षकको रूपमा सहभागी हुँदै छन् । सार्क सम्मेलनमा अस्ट्रेलियाबाट परराष्ट्र सचिव सिनेटर ब्रेट मासोन र अमेरिकाबाट दक्षिण र मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश सचिव निशा देसाई विश्वाल सार्क सम्मेलनमा पर्यवेक्षकको रूपमा सहभागी हुन लागेका छन् । स्थापनाकालमा गरिबहरूको क्लबको संज्ञा दिने गरे पनि पछिल्लो समयमा सार्कको भूमिका र क्षमता वृद्धि भएका कारण हैसियतवाल पदाधिकारीलाई सार्कको पर्यवेक्षकका रूपमा पठाएको मन्त्रालयका एक अधिकारीले बताए ।
नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका कार्यकारी प्रमुख सहभागी रहने शिखर सम्मेलनमा नौ राष्ट्रलाई पर्यवेक्षकको रूपमा सहभागी गराउन लागिएको छ । बाँकी राष्ट्रका पर्यवेक्षकको नामसमेत छिट्टै आउने आशा प्रवक्ता अधिकारीले व्यक्त गरे । श्रीलंका, अफगानिस्तान र माल्दिभ्समा कार्यकारी राष्ट्रपति भएकाले ती देशका राष्ट्रपति तथा अन्य देशमा कार्यकारी प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीले सम्मेलनको प्रतिनिधित्व गर्दै छन् । सरकार प्रमुखबाहेक सार्क सम्मेलनमा प्रतिनिधित्व गर्ने सबै प्रतिनिधिहरूको अन्तिम नामावली भने आइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइपुग्यो ‘बुलेट प्रुफ’ गाडी

सार्क शिखर सम्मेलनका लागि विदेशी पाहुनाहरूले प्रयोग गर्ने ३२ ओटा अत्याधुनिक गाडी काठमाडौं आइपुगेका छन् । शिखर सम्मेलनमा सार्क मुलुकबाट आएका विशिष्ट पाहुनाका लागि भारतले उपलब्ध गराएको मर्सिडिज र बीएमडब्लू गाडी मंगलबार साँझ काठमाडांै ल्याइएको हो ।
सार्कका पाहुनाका लागि अत्याधुनिक ३२ गाडी काठमाडांै आइपुगेको परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले जानकारी दिए । यसअघि ६ ओटा ‘बुलेट प्रुफ’ गाडी एयर कार्गोबाट नेपाल आइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने गाडी उनको भ्रमणसँगै आउनेछ भने पाकिस्तानी प्रधानमन्त्री नबाज सरिफले चढ्ने गाडी भने पाकिस्तान आफैंले व्यवस्था गर्न लागेको छ । ती सबै गाडी सार्क सम्मेलनपछि नेपालले फिर्ता पठाउने बताइएको छ ।
http://rajdhani.com.np/article/0909858001416367932

No comments: