भीम गौतम\राजधानी
काठमाडौं, १ मंसिर
काठमाडौं, १ मंसिर
काठमाडौंमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को
१८औं शिखर सम्मेलन अवधिभर विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा
लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको प्रतिष्ठासँग
गाँसिएको भन्दै विदेशी पाहुना बस्ने र ओहोरदोहोर गर्ने क्षेत्रमा लोडसेडिङ
नगर्ने भएको हो ।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा दैनिक पाँच घन्टासम्म लोडसेडिङ
गर्दै आएको विद्युत् प्राधिकरणले सार्क सम्मेलन अवधिभरका लागि लोडसेडिङ
नगर्ने भएको हो । प्राधिकरणका अनुसार कुलेखानी जलाशयलाई पूर्ण रूपमा
सञ्चालनका साथै भारतबाट समेत बिजुली आयात गरेर लोडसेडिङ नगर्ने लक्ष्य
प्राधिकरणको छ । हाल दैनिक पाँच घन्टा घोषित लोडसेडिङ भने पनि त्योभन्दा कम
गर्दै आएको छ ।
नेपालसहित सार्कका आठ र पर्यवेक्षक एक गरी नौ राष्ट्रका प्रतिनिधिहरूको
बसोबास रहने तथा उनीहरूले रिट्रिट गर्ने र ओहोरदोहोर गर्ने सबै क्षेत्रमा
लोडसेडिङ नहुने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज
काफ्लेले जानकारी दिए । ‘हामीले सार्क सम्मेलन अवधिभरका लागि लोडसेडिङ
नहुने गरी व्यवस्था मिलाएका छौं,’ काफ्लेले राजधानीसँग भने । सरकारले
सार्कमा आउने पाहुनाका लागि सोल्टी होटलमा बस्ने व्यवस्था गरेको छ भने शिखर
सम्मेलन राष्ट्रिय सभागृहमा गर्न लागिएको छ । सार्कका पाहुनाले धुलिखेलमा
रिट्रिट गर्नुका साथै राष्ट्रपति डा. रामवरण यादवलगायतलाई भेट्ने कार्यक्रम
छ । प्राधिकरणले ती सबै क्षेत्रमा लोडसेडिङ नहुने गरी प्रबन्ध मिलाइने तथा
ओहोरदोहोर गर्ने सडकमा
पनि लोडसेडिङ नहुने गरी बिजुलीको व्यवस्था गरिएको जनाएको छ । सार्कका
पाहुना ओहोरदोहोर गर्ने अधिकांश सडकमा सोलार बत्तीको व्यवस्थापन गरिसकेको
प्राधिकरणले थप स्थानमा समेत बिजुलीको व्यवस्था गर्ने जनाएको छ ।
विद्युत् प्राधिकरण व्यवस्थापन समितिको बैठकले सार्क सम्मेलन तयारीका लागि
सबै कार्य गर्न प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी
निर्देशक रामचन्द्र पाण्डेको संयोजकत्वमा उपकार्यकारी निर्देशक शेरसिंह
भाट, राजीव शर्मा, रामेश्वर कलवार, भुवन क्षत्री, भानुभक्त भट्टराईलगायत
रहेको समितिसमेत गठन गरेको छ ।
सार्क सम्मेलनको बिजुली व्यवस्थापनका सम्पूर्ण कार्य गर्ने जिम्मेवारीसमेत
समितिलाई दिइएको प्राधिकरणले जनाएको छ । समितिले सार्कका लागि तत्काल भएको
कार्यको विवरण हेरेर थप गर्नुपरेमा आवश्यक निर्णय गरी तत्काल अघि बढाउन
सक्ने अख्तियारीसमेत दिएको छ ।
http://rajdhani.com.np/article/0566991001416276331
No comments:
Post a Comment