Friday, November 21, 2014

मोदीको काठमाडौं बाहिरका भ्रमण रद्द

एमाओवादी र मधेसवादी दलको अवरोधले भ्रमण रद्द  सरकार

भीम गौतम, सुजितकुमार झा\राजधानी
काठमाडौं / जनकपुर, ४ मंसिर
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको छ । जनकपुर भ्रमणको विषयलाई लिएर स्थानीय तहमा विवाद बढेपछि भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनका क्रममा जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण रद्द गरेका हुन् ।

जनकपुरमा मोदीको अभिनन्दन स्थलबारे विवाद बढेपछि नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण रद्द भएको जानकारी गराएको हो । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द गरिएको जानकारी आएको बताए । ‘भारतीय प्रधानमन्त्रीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द गरिएको जानकारी आएको छ,’ मन्त्री पाण्डेले भने । भारतीय टेलिभिजन आजतकले पनि मोदीको काठमाडौं उपत्यकाबाहिरका सबै भ्रमण रद्द गरिएको जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले आगामी ९ मंसिरमा जनकपुर र १२ मंसिरमा लुम्बिनी तथा मुक्तिनाथको भ्रमण गर्न लागेका थिए । सरकारले मोदी भ्रमणको व्यवस्था मिलाउन जनकपुरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र लुम्बिनीमा ऊर्जामन्त्री राधा ज्ञवालीलाई खटाएको थियो । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द गरेको जानकारी गराएलगत्तै मन्त्री निधिले बिहीबार नै विज्ञप्ति जारी गरी जनकपुर भ्रमणबारे एकीकृत माओवादीसहितका केही मधेसवादी दलहरूले कूटनीतिक मर्यादाविपरीत कार्य गरेकाले भ्रमण रद्द भएको जनाएका छन् । ‘भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले भारतका प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द गराएको जानकारी दिएको छ,’ मन्त्री निधिले राजधानीसँग भने, ‘अन्य क्षेत्रको मलाई थाहा छैन तर जनकपुर भ्रमण रद्द भएको जानकारी स्पष्ट रूपमा आएको छ ।’
एमाओवादी र मधेसवादी दलको अनुचित कामकै कारण मोदीको जनकपुर भ्रमण रद्द भएको उनले बताएका छन् ।
‘एमाओवादीको नेतृत्वमा केही मधेसवादी दलहरूले गैरजिम्मेवारपूर्ण तरिकाले तयारीको विरोधमा जिल्ला प्रशासनमा गई उग्ररूपले जुलुस प्रदर्शन गरेको, ज्ञापनपत्रमार्फत समानन्तर मञ्च बनाउन र सुरÔा घेरा तोड्ने धम्की दिइयो,’ निधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यति मात्र होइन, कूटनीतिक प्रचलनको विपरीत वीरगन्जस्थित भारतीय काउन्सिलरको कार्यालयमा गई ज्ञापनपत्र दिएको जस्ता अवाञ्छित र अतिवादी व्यवहार गरी अभिनन्दन कार्यक्रम बिथोल्ने चेतावनी दिएको र विवादित वातावरण सिर्जना गरेको कार्यप्रति म घोर भत्र्सना गर्दछु ।’ लुम्बिनीको भ्रमण तयारीका क्रममा भारतीय दूतावासका कर्मचारी बस्न भन्दै बुकिङ गरिएको भैरहवाको ¥याडिसन रिसोर्टका ३० कोठासमेत रद्द गरिएको छ । नेपाल–भारतमैत्री संघका वरिष्ठ उपाध्यÔ सिद्धार्थ अग्रवालले होटलका महाप्रबन्धक अमृत खनाललाई टेलिफोन गरी होटलको बुकिङ रद्द गरेको बताइएको छ ।
भारतीय दूतावासले भने भ्रमण रद्दको विषयमा आधिकारिक रूपमा कुनै जानकारी नआएको बताएको छ । दूतावासका प्रेस तथा सञ्चार प्रमुख अभय कुमारले प्रधानमन्त्रीको भ्रमण रद्दबारे अफिसियल जानकारी नआएको बताए । ‘विदेश मन्त्रालयले अफिसियल रूपमा केही भनेको छैन, भारतीय दूतावासले पनि कसैलाई पनि आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन,’ उनले राजधानीसँग भने ।

विरोधमा जनकपुर बन्द

जनकपुर÷रास– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि एकीकृत नेकपा माओवादीसहितका २२ दलले शुक्रबार (आज) जनकपुर बन्दको आह्वान गरेका छन् । मोदी भ्रमण रद्दको समाचार आउन साथ २२ दलको जनकपुरमा बैठक बसी सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गर्दै जनकपुर बन्दको आह्वान गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य डा. विजयकुमार सिंहले बताए ।
भ्रमण रद्द भएको सार्वजनिक भएसँगै बिहीबार साँझ जनकपुरमा व्यापक विरोध प्रदर्शन भएको छ । स्थानीय युवाहरूले भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिविरुद्ध नाराबाजी गर्दै जनकपुरमा विरोध प्रदर्शनसमेत गरेका छन् । उनीहरूले जनकपुरका चोकचोकमा टायर बालेर विरोध गरेका थिए ।
प्रदर्शनकारीले सरकारले षड्यन्त्रपूर्वक मोदीको जनकपुर भ्रमण रद्द गराएको आरोप लगाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका क्रममा नागरिक अभिनन्दन गर्ने स्थानको विषयलाई लिएर सरकार र २२ दलबीच विवाद देखिएको थियो । सरकारले जानकी मन्दिर दर्शनको समयमा मन्दिरको प्रांगणमा अभिनन्दनको कार्यक्रम तय गरेको थियो भने २२ दलले जनकपुरको बाह्रबिघा मैदानमा अभिनन्दन गर्नुपर्ने माग गर्दै आएका थिए । यसै विषयलाई लिएर २२ दलले बुधबार जनकपुरमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका थिए । २२ दलले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा समेत खुला स्थलमा अभिनन्दन गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । तर, मोदीको भ्रमणका लागि व्यवस्थापन गर्न खटिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले जानकी मन्दिरकै प्रांगणमा कार्यक्रम गर्ने निर्णय सुनाएका थिए । मोदी भ्रमण रद्द भएपछि जनकपुरका हिन्दुवादी संघ÷संगठनले पनि विरोध जनाएका छन् । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बिहीबार विज्ञप्ति जारी गरी हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री मोदीलाई पूजाअर्चना गर्न रोक लगाउने हिसाबले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

No comments: