Tuesday, November 25, 2014

सार्कले विश्वलाई नयाँ सन्देश दिनेछ


     महेन्द्रबहादुर पाण्डे, परराष्ट्रमन्त्रीे


आगामी १० र ११ मंसिरमा काठमाडौंमा १८औं सार्क शिखर सम्मेलन हुँदै छ । सन् १९८७ मा तेस्रो तथा सन् २००२ मा ११औं शिखर सम्मेलन आयोजना गरेको नेपालले यो तेस्रोपटक सार्क सम्मेलनको आयोजना गर्न लागेको हो । सार्क सम्मेलनका लागि आवश्यक सबै तयारीहरू पूरा भइसकेको छ । सार्क सम्मेलनका लागि सबैभन्दा बढी सक्रिय परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री महेन्द्रबहादुर पाण्डे सार्क सम्मेलन सफल बनाउनका लागि दिनरात सक्रिय छन् । दक्षिण एसियाभित्र भिन्न राजनीतिक माहोल बनिरहेका बेला सार्कको तयारीदेखि एजेन्डा र यसले दिने सन्देशबारे राजधानीका लागि भीम गौतमले परराष्ट्रमन्त्री पाण्डेसँग गरेको कुराकानीको मूल अंश 
० तेस्रो पटक नेपालले सार्क शिखर सम्मेलन गर्दै छ, विगतका सार्क सम्मेलनभन्दा के हिसाबले भिन्न हुन्छजस्तो लागेको छ ?
धेरै हिसाबले यो शिखर सम्मेलन भिन्न छ । पहिला त राजनीतिक रूपमै भिन्न छ । पहिलो शिखर सम्मेलन नेपालले गर्दा जनता प्रजा थिए र त्यतिखेर राजतन्त्र बलियो थियो । राजामा सार्वभौमिकता भएको बेलामा त्यो सम्मेलन गरिएको थियो । दोस्रोपटक गर्दा बहुदलीय शासन पद्धति आइसकेको थियो । सार्वभौमिकता राजा र जनतामा विभाजित भएको अवस्था थियो । अहिले तेस्रो पटक गर्दा अहिले गणतान्त्रिक व्यवस्थामा छौं र राजतन्त्रको अन्त्य भइसकेको अवस्था छ । सम्पूर्ण रूपमा नेपाली जनता सार्वभौम सम्पन्न भएको अवस्था छ । संसार गतिशील र परिवर्तनशील छ । अहिले जुन सार्क सम्मेलन गर्न गइरहेका छांै, अहिले हामी २१आंै शताब्दीको दोस्रो दशकमा छांै । यसका मान्छेको शिक्षा, चेतना परिवर्तन भएको अवस्था छ । पहिले गर्दा गरिबीको अवस्था माथि थियो भने अहिले लगभग २३ प्रतिशतमा झरेको अवस्था छ । आर्थिक रूपमा पनि अघि बढिरहेको अवस्था छ । पहिलो पटक गर्दा राजाको निर्देशनमा सबै कुरा हुन्थ्यो भने दोस्रो पटक गर्दा सरकार र राजा दुवैको मुख हेर्नुपर्ने अवस्था थियो । अहिले यसको व्यवस्थापन र सञ्चालन गर्दा तथा यसका विषयवस्तु तयार गर्दा नेपालका सार्वभौम सम्पन्न अनुभवी मान्छेहरू, बुद्धिजीवी र विभिन्न तह र तप्कामा बसेका मानिस अनि विभिन्न संघ÷संस्थाका विचारलाई समेटेर काठमाडौं घोषणापत्र तयार गर्ने क्रममा छौं । यसै आधारमा यसको मस्यौदा तयार भइसकेको छ । पहिले पहिलेको अवस्थालाई हेर्ने हो भने त धेरै परिवर्तन छ । सार्क क्षेत्रभित्रकै अवस्थालाई हेर्ने हो भने पनि सदस्य राष्ट्रभित्रको आन्तरिक राजनीतिक जीवनमा पनि परिवर्तन आएको छ । नेपालमा पनि द्वन्द्व समाप्त भएको छ । अहिले हतियार द्वन्द्व सिद्धिएर हतियार चलाउनेहरूको मानसिकतामा अलि अलि नकारात्मक प्रवृत्ति बाँकी रहेको र त्यसलाई समाप्त गर्ने क्रममा नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्ने, राजनीतिक स्थिरता दिने र आर्थिक सम्पन्नतामा अघि बढ्ने अवस्थाको पहिचान छ । सार्कमा आउने पाहुनाले यसलाई यसरी बुझ्नुपर्ने अवस्था छ । यसकारण विगतमा गरिएका दुई सम्मेलनभन्दा यो भिन्न रहनेछ ।
० यसले विश्वमा नेपाललाई कुन रूपमा चिनाउला भन्ने अपेक्षा लिनुभएको छ ?
नेपाल प्रकृतिले संसारसामु चिनिएको देश हो । नेपाललाई चिन्नेहरूले सर्वोच्च शिखर सगरमाथाको देश पनि भन्छन् । शान्तिका दूत गौतमवुद्ध जन्मेको देश भनेर पनि चिन्छन् । अर्को महŒवपूर्ण कुरा नेपाल बहुभाषिक, बहुजाती र बहुसांस्कृतिक मुलुक हो । विभिन्न भाषा र संस्कृतिका मान्छेहरू कुनै पनि किसिमको द्वन्द्व नगरी हातेमालो गरेर जीवन बिताएको यो नेपाल शान्तिपूर्ण देश हो । सार्ककै कुरा गर्ने हो भने अहिलेको परिस्थितिमा अन्तर्राष्ट्रिय सम्मेलन, कार्यक्रम सफल रूपमा सम्पन्न गर्न सक्ने क्षमतावान् मुलुक नेपाल हो भनेर नेपाललाई भन्छन् । किनभने दक्षिण एसियामा यी राष्ट्रहरूको सम्मेलनलाई सुरु सुरुमा भन्दा आर्थिक रूपमा कमजोर भएका मुलुकको संगठन हो भन्थे तर नेपाल सक्षम छ भनेर देखाउन लागेको छ । अर्को कुरा सार्क क्षेत्रका विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखको विचारलाई समेट्ने, यसका पर्यवेक्षक मुलुक र संस्थाहरूको विचार पनि समेट्ने तथा सार्कलाई सशक्त र क्रियाशील बनाउनका निमित्त नेपालमा भएको १८आंै सार्क शिखर सम्मेलनले ठूलो योगदान ग¥यो भन्ने हिसाबले यो देशलाई चिनाउने अवस्था अहिले रहेको छ । विशेष त सार्क सम्मेलनले विश्वलाई नयाँ सकारात्मक सन्देश दिनेछ ।
० १७ आंै शिखर सम्मेलनसम्मको निर्णय कार्यान्वयनको अवस्था हेर्दा त सन्तोषजनक देखिँदैन नि ?
दुनियाँमा पूर्ण सन्तुष्टि भनेको गाह्रो कुरा हो । अर्को कुरा सार्क क्षेत्रभित्रका मुलुकमा भएको आन्तरिक र पारस्पारिक सम्बन्धका कारणले पनि धेरै घोषणा भएका कुरा र निर्णयहरू लागू नभएको अवस्था निश्चित हो । यसलाई भन्ने हो भने विस्तारै कार्यक्रमहरू अघि बढेको, विस्तारै लागू गर्न अघि बढिरहेको अवस्थाचाहिँ छ । तर, सार्क जनता र सहभागीले अपेक्षा गरेअनुसार त्यसको उपलब्धि हासिल नभएको मात्र हो । केही पनि भएन भन्ने होइन तर अपेक्षाकृत नभएको पक्कै हो । अब सार्क क्षेत्रको परिस्थित बदलिएको हुनाले सधैंभरि गुनासो गर्ने र केही भएन भनेर मुर्झाएर बस्ने भन्दा सशक्त रूपले क्रियाशील हुने र विवेकपूर्ण तरिकाले कार्यक्रम बनाउने र यसलाई लागू गर्ने तथा आआफ्नो देशका जनता र सिंगै सार्क क्षेत्रका जनताले यसका उपलब्धि प्राप्त गर्ने गरी अबको कार्यक्रम अघि बढाउनुपर्ने कुरा १७आंै शिखर सम्मेलनसम्मले पाठ सिकाएको छ । १७आंै शिखर सम्मेलनसम्मका निर्णय भएर कार्यान्वयन नभएका तर सबै राष्ट्रलाई आवश्यक साझा कुरालाई १८औं शिखर सम्मेलनले पुनर्ताजगी गर्ने र यसलाई पुनः पुस्ट्याइँ गर्दै अघि बढाउने कुरालाई पनि यो सम्मेलनमा अघि बढाउन लागिएको छ । त्यसकारण आउँदा दिन उज्यालो दिन हुने अवस्था छ ।
० सन् २००२ मा नेपालमा भएको शिखर सम्मेलनमा सार्कलाई साउथ एसिया इकोनोमिक युनियन बनाउने प्रस्ताव पारित भएको थियो । पुनः नेपालमा हुन लागेको यो सम्मेलनमा त्यसबारे के गर्नुहुन्छ ?
फोकस त यो विषयमा पनि भइहाल्छ । यो सम्मेलनको एजेन्डाको कुरा गर्नुभयो भने गरिबी निवारण छ । आफैं गरिबी निवारण हुँदैन, यसलाई गुणात्मक ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्छ । हामीले स्रोतसाधनलाई ठीक तरिकाले परिचालन गर्नुपर्ने हुन्छ । हामीले पूर्वाधार ठीक तरिकाले निर्माण गर्नुपर्ने हुन्छ । यो सबै गर्नका लागि आवश्यक शक्तिको विकास गर्नुपर्ने हुन्छ । त्यस्तै, समाजमा शान्ति स्थापना गर्नुपर्ने हुन्छ । त्यसकारण द्वन्द्वको समाप्ति, यहाँ हुने सबै किसिमको आतंकवादको अन्त्य अनि शान्तिलाई स्थापित गर्ने र समृद्धिको बाटोमा हिँड्ने भनेर अहिले सार्कको मूल मोटो नै शान्ति र समृद्धिका निमित्त गम्भीर चिन्तन र एकीकृत भएर जाने भनेर भनेका छौं । त्यो विचार र व्यवहारका साथै पारस्परिक हितमा जनशक्तिलाई एकीकृत गर्ने, हामीभित्र भएको क्षमता, योगदान, ज्ञान, विज्ञान र प्रविधिलाई एकीकृत गर्ने । यस्तो ढंगले जाने भनेर त हामीले यसको मूल मोटो नै यही बनाएका छौं । जुन अहिले हामीले काम अघि बढाइरहेका छौं, यसले आगामी दिनमा गुनासो होइन, आगामी दिनमा झन् कर्मठ र क्रियाशील हुनुपर्ने अवस्था अएको छ । अठारौं सार्क शिखर सम्मेलनले यसलाई अघि बढाउनका लागि अग्रसर गराउँछ ।
० सार्क सम्मेलनहरू हेर्दा त आर्थिक, सामाजिक, राजनीतिक सबै विषयवस्तु समेटेको देख्छौ तर नेपाल पछिल्लो समयमा हरेक क्षेत्रमा परनिर्भर भइरहेको छ । अझ नेपाल अधोगतितिर गइरहेको जस्तो लाग्दैन ?
उद्योगतितिर लागेको भन्ने होइन कि हामी त्यो गतितिर गयौ भन्ने विषयलाई वस्तुगत ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ । यही बीचमा नेपालमा लामो द्वन्द्व पनि चल्यो । धेरै पूर्वाधार ध्वस्त पनि भए । यही बीचमा छिमेकी र कतिपय सहयोगी देशसँगको निकटता पनि रहेन । सँगै बसेर गर्नुपर्ने कतिपय काम पनि भएनन् । यी सबै कारणले गर्दा यस्तो देखिएको हो । यी सबै कुरालाई हेरेर बस्ने मात्र नभई, समाधानको बाटोमा जानुपर्ने कारणले यो सरकारले छिमेकी देशसँगको द्विपक्षीय कुरामा जकडिएर बसेका वस्तुलाई क्लियर गरिसकेको अवस्था छ । ऊर्जाकै कुरा गर्ने हो भने पनि क्षेत्रीय तहमा संयन्त्र बनाउन लागेका छौं । अहिले द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय हितका लागि छिमेकी राष्ट्रसँग सहकार्य गरेर अघि बढेको अवस्था छ । यसका पनि विशेष ऊर्जालाई प्राथमिकता दिएको अवस्था छ । जहिल्यै पनि नेपाल ओरालो लाग्यो भन्ने होइन, नेपालसहित सार्क क्षेत्रका सार्कहरू गरिबी, अभावमा लटपटिएर बस्ने अवस्था होइन । अब त हामी समृद्धितिर, विकास निर्माणतिर, उद्योग, व्यवसायतिर, व्यापार सन्तुलन गरेर राष्ट्र उत्थान र सामाजिक उत्थानमा पनि लाग्नुपर्छ । यसो गर्दा महिला, बालबालिकामाथि हुने हिंसा, मानिस–मानिसबीचको अन्र्तद्वन्द्व यसलाई समाप्त गरेर अग्रगतिमा जाने अहिलेको एउटा परिवेश सिर्जना भएको छ । त्यसलाई हामीले सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।
० यी त सैद्धान्तिक कुरा भए, नेपाललाई परनिर्भर बन्नबाट जोगाउनका लागि सार्क सम्मेलनको भूमिका के हुन सक्छ, स्पष्ट भन्नूस् न ?
सबैभन्दा पहिला त घोषणापत्रमा आधारित भएर स्रोतसाधन परिचालनका लागि योजना बनाउँछ । मुख्य उद्देश्य नै हामीले शान्ति र समृद्धि बनाएका छौं । नेपालमा शान्ति त स्थापना हुँदै गएको छ, अलि अलि त अशान्ति होला तर यसको अन्त्य भएर अब नेपालीलाई सिर्जनशील बनाउँदै लैजान्छ । सिर्जनाले यसलाई प्रतिस्थापन गर्दै जान्छ । जब मानिसको दिमाग सिर्जनशील हुन्छ उसले धेरै पक्ष विचार गरेर अघि बढ्छ । घोषणापत्र यसरी समृद्धिसँग जोडिँदै जान्छ । समृद्धिका लागि केके गर्नुपर्छ भनेर उसले योजना बनाउँछ । राष्ट्रले पनि योजना बनाउँछ । त्यो योजनाहरू कार्यावन्यन हुन्छ । यसले गर्दा धेरै उपलब्धिहरू हासिल हुँदै जान्छ । यही सम्मेलनमा पनि विभिन्न राष्ट्रबाट विभिन्न जिम्मेवारी बोकेका सरकार÷राष्ट्र प्रमुखदेखि लिएर धेरै सम्मानित व्यक्तित्वहरूले यसमा सहभागिता जनाउँदै हुनुहुन्छ । नेपाल हेरेपछि उहाँहरूका विचार पनि हामी सुन्छांै । बुझ्छौ, त्यसले पनि हामीलाई अघि बढाउन मद्दत गर्छ । हाम्रो परिस्थिति जानकारी गराएपछि नेपालमा राजनीतिक स्थायित्व र शान्ति कायम हुँदै रहेछ, स्रोतसाधन व्यापक रहेछ, यसलाई विकास गर्दा नेपालीलाई धेरै फाइदा हुने रहेछ र हाम्रा लगानीकर्तालाई पनि फाइदा हुने रहेछ अनि नेपालको सभ्यता, सौन्दर्यता हेर्न हाम्रा मान्छे पठाउन पाइयो भने, ती मान्छेको ज्ञान, विवेक पनि बढ्छ र पठाउनुपर्छ भन्ने भावना जागृत हुँदा हाम्रो पर्यटन विकास हुन्छ । सम्मेलन सम्पन्न गरेपछि हाम्रो आत्मविश्वास पनि बढ्छ । यस्ता धेरै कुरा छन् हामीले यो सम्मेलनबाट फाइदा लिन सक्छौं ।
० सार्क सम्मेलन सफल बनायौं भने विश्वकै विश्वास बढ्छ भन्न खोज्नुभएको हो ?
विल्कुल हो । यसमा सदस्य राष्ट्र मात्र होइन, विश्वका धेरै देशका पर्यवेक्षक छन् । ती पर्यवेक्षकहरूले पनि नेपालको अहिलेको वातावरण थाहा पाउँछन् । पर्यवेक्षकसँग हाम्रो आयोजना विकासमा आधारित सहकार्यमा जोड दिएका छौं । विभिन्न आयोजना ल्याउने र त्यसमा पारस्परिक हित आदानप्रदान गर्ने भन्ने कुरा धेरै छ । यसले गर्दा संसारका उन्नत राष्ट्रहरू र गतिशील राष्ट्रभित्र भएका र हामीबीचका सुसम्बन्धलाई जोड्ने काम हुन्छ । यसमा सांस्कृतिक रूपमा परिमार्जन हुन्छौं, सामाजिक रूपमा अग्रगमनमा जान्छांै । आर्थिक रूपमा प्रतिफलमुखी भएर समृद्धितिर अघि बढ्छांै । यो धेरै महŒवपूर्ण अवसर हो । हामी बढी चुनौती देखिरहेका हुन्छौं, उपलब्धि देख्ने ठाउँमा सानो आँखाले हेर्छौं । हामीले सानो आँखाले चुनौती हेर्ने र ठूलो आँखाले उपलब्धि हेर्ने दिन आउँछ, हामी त्यो बाटोमा छौं ।
० १८औं शिखर सम्मेलनमा त एजेन्डा त धेरै पुरानै देखिन्छन्, नयाँ के कुरा लाँदै छौं र ?
जीवन त उस्तै हुन्छ नि त । खानुपर्ने, लाउनुपर्ने, शिक्षा पाउनुपर्ने, स्वास्थ्यका निमित्त औषधि पाउनुपर्ने । हिजो पनि त्यही गथ्र्यो, आज पनि गर्छ भनेर हुँदैन क्या । परिस्थितिअनुसार परिवर्तन हुन्छ । हिजो पढेको र आज पढेको पुस्तकको तह नै फरक हुन्छ । हिजोको आवश्यकता र आजको आवश्यकता फरक हुन्छ । इतिहासलाई फर्केर हेरेर सधैंभरि त्यसबाट तर्सिने होइन, इतिहासलाई हेरेर सिक्ने, वर्तमानमा मुर्झाएर र छाती खुम्च्याएर बस्ने होइन, तनक्क तन्केर दुढतापूर्वक अघि बढ्ने हो । भविष्य उज्यालो छ । त्यसो भएर विकासप्रति उन्मुख र सिर्जनशील भएको मान्छे जहिले पनि समाजको अग्रगमनको निमित्त दृढताका साथ अघि बढेको मान्छेले भविष्य निर्माणका लागि वर्तमानको बाटो खोज्दै भविष्यका लक्ष्य पहिल्याउँछ रे । त्यसो गर्न नसक्ने मान्छे भूततिर फर्कन्छ र हिजोको दिनसँग कुस्ती खेलीराख्छ रे । अब हामी भूततिर फर्केर कुस्ती खेल्ने होइन, वर्तमान दृढतापूर्वक अघि बढ्ने र भविष्य निर्माण गर्ने बेला हो, त्यसकारण भूतको कुरा छोडेर वर्तमान के के गर्ने र भविष्यमा के के लक्ष्य पूरा गर्ने भन्नेतिर लाग्नुपर्छ ।
० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनको अवसर पारेर काठमाडौंबाहिर गर्ने भ्रमणबारे सरकारी निकायबीच नै असमन्वय देखियो नि ? यसले अन्योल पनि पैदा ग¥यो, यो के कारणले भयो ?
यी बेकारमा नेपालमा अनावश्यक रूपमा उठाइएका विषय हुन् । मैले धेरैपटक भनेको छु, परराष्ट्र नीतिलाई ठीकसँग चलाउने र यसबारे आधिकारिक रूपमा बोल्ने परराष्ट्र मन्त्रालय हो । त्यसको सबैभन्दा बढी जिम्मेवारी लिएर बस्ने परराष्ट्र मन्त्री हुन्छ । तर, नेपालमा परराष्ट्र मन्त्रालयका कतिपय कुरालाई नबुझीकन र परराष्ट्र मन्त्रालयमा आएका सुचनालाई नबुझीकन, त्यसमा आधारित नहुँदै बीच बीचमा अनेकन खालका परिकल्पना गर्ने र त्यही ढंगले विचारलाई बाहिर लगेर अन्योल सिर्जना गर्ने कार्य गरिएको भन्ने यसले पुष्टि गरेको छ । भारतीय प्रधानमन्त्री नेपालमा आउने भनेको मुख्यतया त सार्क शिखर सम्मेलनमा हो । उहाँ आउने निश्चित छ । आउने क्रममा अरू राष्ट्र प्रमुखहरूले जस्तै उहाँले पनि हाम्रो ऐतिहासिक, धार्मिक र रमणीय क्षेत्रहरू हेर्ने कुरा गर्दा हाम्रो गौरवको कुरा हो । यस्तो चाहना राख्दा हामीलाई खुसी लाग्छ नि । यसले गर्दा हाम्रो पर्यटन विकासमा ठूलो योगदान पुग्छ । यस क्रममा उहाँहरूले व्यक्त गरेका विचारले त्यो क्षेत्रको विकासमा ठूलो योगदान पुग्छ नै । त्यस्ता क्षेत्रमा जाने भन्नुभयो, भारतीय प्रधानमन्त्री मात्र होइन, अरुले पनि भन्नुभएको छ । उहाँहरू जो जो जहाँ जहाँ जाने भन्नुभएको छ, त्यहाँको व्यवस्थापन हामीले एक ढंगले ग¥यांै । अहिले जहाँसम्म भारतीय प्रधानमन्त्रीको कुरा छ उहाँ धेरै देशभन्दा बाहिर रहेको र भारतमा निर्वाचनको प्रक्रिया चलिरहेकाले यसमा केही परिवर्तन भएको होला । परराष्ट्र मन्त्रालयलाई प्राप्त खबर के छ भने भारतको आन्तरिक कारणले र कतिपय पहिल्यै निर्णय भएका कार्यक्रमले गर्दा उहाँले सार्क समिटमा मात्र आउने र व्यक्तिगत रूपमा गर्ने भनिएका भ्रमणपछि उचित समयमा भ्रमण गर्ने बताउनुभएको छ ।
० सार्क सम्मेलनको क्रममा नेपालले के के तयारी पूरा गरेका छौं, जसले नेपाल आकर्षक गन्तव्य भनेर देखाउँदै छ ?
पहिलो सार्क सम्मेलनको क्रममा पारित गर्ने घोषणापत्रहरू, प्रस्तावहरू धेरै अगाडि नै तयार गरेर सबै देशमा मस्यौदा पठाइसकेका छौं । यसबारे विभिन्न सुझाव बोकेर राष्ट्रप्रमुखहरू आउँदै हुनुहुन्छ भने सम्बन्धित देशका अन्य विभिन्न तह र तप्काको त छलफल नै सुरु भइसकेको छ । सह–सचिव र सचिव तहमा छलफल भइसकेको छ । यो अगाडि बढ्छ । यसमा कुनै अभाव खड्किने अवस्था छैन । दोस्रो जुन बैठकका लागि तयारीको कुरा छ, यो पनि पूरा भइसकेको छ । सबै मिटिङ गर्न हल तयार छन् । बैठकहरू चलिरहेका पनि छन्, तलमाथि छैन, अभाव छैन । अब सार्क शिखर सम्मेलन गर्ने राष्ट्रिय सभा गृह पनि तयारी छ । रिट्रिट गर्नका लागि व्यवस्थापन पूरा भएको छ । मोटरबाटोको तयारी जुन छ, यसमा पहिला सम्मलन गर्दा सानो बाटो थियो । अहिले ठूलो बाटो बनाउँदै गयौ । यसमा केही ढिलाइ भएको हो । बर्खामा काम गर्न नसक्दा केही कामहरू ढिला भएका हुन् । तर, अहिले पूर्ण रूपमा सम्पन्न भएका छन् । सार्क सम्मेलनसँग जोडेर गर्नुपर्ने तयारी कुनै बाँकी छैन ।
० दक्षिण एसियामा सुचना सम्प्रेषणमा स्वतन्त्रतासँगै सन्तुलित र निष्पक्ष हुनुपर्ने आवाज उठिरहेको छ, यसबारे सार्कमा छलफल हुन्छ कि हुँदैन ?
हामीले सर्वाङ्गीण विकासको कुरा गर्दा सबैभन्दा महŒवपूर्ण कुरा नै सूचना हो । सूचना पाएपछि मान्छेको दिमागमा जान्छ, त्यसलाई उसले ग्रहण गर्छ । यसको आधारमा विचार बनाएर सिर्जना निकाल्छ । यसलाई कार्यान्वयन गरेपछि विवेक बढ्छ । यस्ता कुरामा सार्क सम्मेलनमा ध्यान नदिने भन्ने कुरै हुँदैन । सार्कका लागि सूचनाको आदानप्रदान भनेको त पूर्वाधार नै हो । यो त नभै हुँदै, हुँदैन । यसमा सबैको चासो हुन्छ । नेपालमा संविधानमै हरेक नेपालीको सूचना अधिकार छ भन्ने स्पष्ट छ । बरु गलत सूचना नहोस्, यसतर्फ सचेत हुनुपर्ने अवस्था छ । गलत सूचना दिएर समाजलाई उचाल्ने, पछार्ने नगरियोस् । यसलाई कसरी नियन्त्रण गर्ने र ठीक ढंगले त्यसलाई च्यानलाईज गर्ने कुरामा ध्यान पुग्नुपर्छ भन्नेमा पनि हामी सचेत छौ ।
० सार्क सम्मेलन सकेर आठका राष्ट्र÷सरकार प्रमुखहरू के नयाँ सन्देश लिएर ती देश फर्केलान् अनि हामी नेपालले के नयाँ ग¥यौं भनेर गर्व गर्ने अवस्था आउला ?
कार्यावन्यन गर्ने कुरा घोषणा ग¥यौं, यो कार्यान्वयन गर्ने घोषणालाई आ–आफ्नो मुलुकमा गएर आवश्यक पर्ने ऐनकानुन पनि बनाउँछौ र त्यहीअनुसारको नीति र कार्यक्रम पनि बनाउँछौ । अब सार्क क्षेत्रका हामी राष्ट्रहरू हातेमालो गरेर सम्पन्नताको बाटोमा हिँड्ने अनि एकले अर्कालाई पूर्ण रूपले विश्वास गर्ने वातावरण सिर्जना गर्ने, हाम्रो बीचको सम्बन्धलाई सुसम्बन्ध कायम गर्ने, यो निर्णयमा पुगौं, यो आजको आवश्यकता हो । यसबाट नयाँ कदम सुरु भयो । यसरी नै आ–आफ्नो मुलुकमा बस्दा पनि सञ्चारबाट पनि जोडिन्छौ र विकास निर्माणबाट पनि कनेक्सनमा हुन्छौ । स्रोत साधन परिचालनमा पनि सँगसँगै लाग्छौ । यो क्षेत्रको गरिबी उन्मूलन र हिंसाको अन्त्य अनि शिक्षामा गुणस्तर कायम, पूर्वाधारको विकास, ऊर्जाको विकास र सदुपयोगमा सहकार्य गर्छौं भनेर जान्छांै । संसारले सार्कलाई गतिशील संगठनका रूपमा हेर्ने दिन आएछ भन्ने सन्देश बोकेर सबै सार्कबाट फर्कनेछौं । सार्क क्षेत्रको समृद्धिका लागि साझा प्रतिबद्धता बोकेर सबै राष्ट्र÷सरकार प्रमुखहरू जानुहुनेछ र आ–आफ्नो देशमा गएर पस्कनुहुनेछ । सिंगो जनतालाई विश्वास दिलाएर अब सार्क अघि बढ्छ भन्ने सन्देश सबैतिर प्रभावित हुनेछ ।

सार्क क्षेत्रका विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखको विचारलाई समेट्ने, यसका पर्यवेक्षक मुलुक र संस्थाहरूको विचार पनि समेट्ने तथा सार्कलाई सशक्त र क्रियाशील बनाउनका निमित्त नेपालमा भएको १८औं सार्क शिखर सम्मेलनले ठूलो योगदान ग¥यो भन्ने हिसाबले यो देशलाई चिनाउने अवस्था अहिले रहेको छ ।
हाम्रो परिस्थिति जानकारी गराएपछि नेपालमा राजनीतिक स्थायित्व र शान्ति कायम हु“दै रहेछ, स्रोतसाधन व्यापक रहेछ, यसलाई विकास गर्दा नेपालीलाई धेरै फाइदा हुने रहेछ र हाम्रा लगानीकर्ता पनि फाइदा हुने रहेछ अनि नेपालको सभ्यता, सौन्र्दयता हेर्न हाम्रा मान्छे पठाउन पाइयो भने, ती मान्छेको ज्ञान, विवेक पनि बढ्छ र पठाउनुपर्छ भन्ने भावना जागृत हु“दा हाम्रो पर्यटन विकास हुन्छ ।
परराष्ट्र नीतिलाई ठीकस“ग चलाउने र यसबारे आधिकारिक रूपमा बोल्ने परराष्ट्र मन्त्रालय हो । त्यसको सबैभन्दा बढी जिम्मेवारी लिएर बस्ने परराष्ट्र मन्त्री हुन्छ । सार्क क्षेत्रका हामी राष्ट्रहरू हातेमालो गरेर सम्पन्नताको बाटोमा हि“ड्ने अनि एकले अर्कालाई पूर्ण रूपले विश्वास गर्ने वातावरण सिर्जना गर्ने, हामीबीचको सम्बन्धलाई सुसम्बन्ध कायम गर्ने, यो निर्णयमा पुगांै, यो आजको आवश्यकता हो ।
http://rajdhani.com.np/article/0948343001416885889

No comments: