Wednesday, June 17, 2015

बिल आउँछ बिजुली आउँदैन

  • भूकम्पका बेला व्यस्त भयौं : प्राधिकरण वितरण केन्द्र
  • च्याम्राङबेंसीमा मात्र किन यस्तो : स्थानीय
भीम गौतम/राजधानीकाठमाडौं, १ असार
काभ्रेको विकट क्षेत्र डाँडापारिको च्याम्राङबेंसी गाविस–४ र ९ नम्बर वडामा बिजुली आउन छाडेको चार महिना पुगिसक्यो तर बिजुलीको बिल भने आइरहेको छ । गत माघको अन्तिम साता ट्रान्सफर्मर जलेका कारण फागुनदेखि यहाँका बासिन्दाले बिजुलीको उज्यालो देख्न पाएका छैनन् तर बिल भने तिर्नुपरिरहेको उनीहरूको गुनासो छ ।
‘बिजुलीको बिल त महिनैपिच्छे आइरहेको छ तर बिजुली देख्न नपाएको चार महिना बितिसक्यो,’ स्थानीय वडा नागरिक मञ्चका अध्यक्ष चिरञ्जीवी दाहालले भने, ‘नतिरे जरिवाना हुन्छ भनेर महिनाको ८० रुपैयाँ तिरिरहेका छौं ।’ पटक–पटक जलेको ट्रान्सफर्मर फेरेर बिजुलीको व्यवस्था गर्नका लागि आग्रह गर्दा पनि प्राधिकरणले चासो नदिएपछि साढे दुई महिनाअघि बिजुली बाल्न स्थानीयले निवेदन दिएका थिए ।
स्थानीयवासीका अनुसार च्याम्राङबेंसी गाविस–९ का ८२ र ४ का १४ घरधुरीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन चार वर्षअघि पुगेको थियो । बिजुलीको ट्रान्सफर्मर जलेपछि तांग्रेमाराङ, हात्तीढुंगा, सुकुम, फेदी, झिंगे, लामीडाँडालगायतका गाउँ अँध्यारोमा बस्नुपरेको छ । ‘बारम्बार प्राधिकरण वितरण केन्द्र बनेपामा आग्रह गर्दा पनि बन्न सकेको छैन,’ स्थानीय विष्णु तिमल्सिनाले भने, ‘विकट भएकाले सडक पुग्ने क्षेत्रसम्म जलेको ट्रान्सफर्मर ल्याउन प्राधिकरणले भनेको ल्यायौं तर लगेर अर्को फेरिदिएको छैन ।’ स्थानीयका अनुसार धेरै टाढाबाट ल्याउनुपर्ने कारण २० हजारभन्दा बढी खर्चेर सडकसम्म जलेको ट्रान्सफर्मर ल्याइएको थियो । उनीहरूले ११ वैशाखमा सडक पुगेको कलंकसिंहसम्म ट्रान्सफर्मर ल्याएर राखेका छन् ।
प्राधिकरण वितरण केन्द्र बनेपा प्रमुख प्राथ्र्व श्रेष्ठले जलेको ट्रान्सफर्मर ल्याएर मर्मत गरी सो गाउँमा बिजुली बत्ती पु¥याउन नसकेको स्विकारे । ‘टाढा छ, विकट ठाउँबाट सडकमा ल्याउन भनेका हौं तर त्यसपछि भूूकम्प गएर अन्तै व्यस्त हुनुप¥यो,’ उनले भने, ‘ट्रान्सफर्मर मर्मत गर्न लैनचौरको वर्कसप पनि बन्द भएको तथा भूकम्पका बेला व्यस्त हुनुपरेकाले नल्याएको हो, अब छिट्टै ल्याएर बिजुली दिन्छौं ।’
१२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण गएको पहिरोले अहिले सडकबाट गाउँसम्म ट्रान्सफर्मर पु¥याउनसमेत कठिन रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार भूकम्पका कारण धेरै पोलसमेत ढलेका छन् । स्थानीयवासीका अनुसार चट्याङका कारण चार वर्षभित्र १४ ट्रान्सफर्मर जलिसकेका छन् ।
गुणस्तरहीन र थोत्रा ट्रान्सफर्मर पठाएका कारण चट्याङ पर्दा जलेको स्थानीयको आरोप छ । ‘छमेकी ललितपुरको ठुलादुर्लुङ, चन्दनपुरमा पनि चट्याङ पर्छ तर ट्रान्सफर्मर जलेको थाहा छैन,’ अध्यक्ष दाहालले भने, ‘तर, हामीकहाँ ल्याएको मात्र जल्छ, प्राधिकरणको लापरबाही यसमा देखिन्छ ।’ प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे भने चट्याङ प्रतिरोधी ट्रान्सफर्मर भए पनि पटक–पटक ट्रान्सफर्मर जल्नुको कारणबारे थप अध्ययन गरेर मात्र भन्न सकिने बताउँछन् ।
http://www.erajdhani.com/article/0036925001434514884

No comments: