Sunday, June 7, 2015

विपत्तिको बेला विद्युत् प्राधिकरण ‘पोल’ विहीन


राजधानी समाचारदाता
काठमाडौं, २३ जेठ
१२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएपछिको यो विपत्तिमा नेपाल विद्युत् प्राधिकरणलाई धेरै पोल आवश्यक छ तर विद्युत् प्राधिकरण भने पोलविहीन बनेको छ ।
प्राधिकरणको भण्डारमा रहेको ३ हजार पोल तथा छिमेकी राष्ट्र भारतबाट भुकम्पपछिको तत्कालीन उद्धारका लागि सहायता आएको ३९ सय ३२ पोल तत्काल विद्युत् सुरुका लागि सकिएपछि प्राधिकरण पोलविहीन भएको हो । तत्काल भूकम्पबाट क्षति पुगेका सहरदेखि गाउँसम्मका क्षेत्रसम्म पोल उपलब्ध गराएर विच्छेद विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राधिकरण सञ्चालक समितिले वैशाख तेस्रो साता नै छोटो मार्गबाट ६ हजार पोल किन्ने निर्णय भए पनि हालसम्म
त्यो बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर नहुँदा कार्यान्वयन भएको छैन । ‘बरु भारत सरकारले तत्काल रेस्क्युका लागि जेठको पहिलो साता ४ हजारजति पठायो तर सरकारले यस्तो विपत्तिका बेला प्राधिकणले निर्णय कार्यान्वयन गर्न सकेन ।’ प्राधिकरणका एक अधिकारीले भने, ‘भारतले पठाउने, नेपालले किन्नसमेत नसक्ने कस्तो लाजमर्दो कुरा ।’
कार्यकारी निर्देशक पोल किन्ने प्रक्रियामा प्राधिकरण रहे पनि अहिले भने अभाव
खड्किएको बताए । ‘कतिपय भूकम्पले क्षति पु¥याएको ठाउँमा पोल पु¥याउनु छ तर पोल किन्न सकिएको छैन,’ उनले भने ।
प्राधिकरणका अनुसार, भूकम्पका कारण झन्डै ५० हजार पोलमा क्षति पुगेको छ भने अहिले तत्काल १० हजार पोल आवश्यक छ तर प्राधिकणसँग एउटा पोल पनि छैन । ‘अहिले त एउटा पोल पनि छैन, यसले तत्काल ग्राहककहाँ बिजुली पु¥याउन समस्या परेको छ ।’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने,
‘जताततैबाट पोलको माग छ तर दिन सकेका छैनाँै ।’ प्राधिकरणका जिल्ला–जिल्लाबाट बिजुलीको पोलको माग आए पनि त्यो पूरा गर्न नसकिएको प्राधिकरणका अधिकारी बताउँछन् । ‘माग आइरहेको छ तर दिन सकेका छैनौँ, हुँदाहुँदै माथिल्लो निकायबाट पोलका लागि पावरसमेत आउन लागिसक्यो तर दिन सक्ने अवस्था छैन,’ प्राधिकरणका एक अधिकारीले भने ।
१२ वैशाखमा आएको विनाशकारी भूकम्प तथा त्यसपछिको पराकम्पन र पछिल्लो समयमा चलेको हावाहुरीले बिजुलीको पोल क्षति हुने क्रम बढेको प्राधिकणले जनाएको छ । भूकम्पबाट क्षति भएका कतिपय विकट क्षेत्रमा प्राधिकरण पुग्न नसकेका कारणले धेरै विकटबाट समेत यसको माग बढ्दो छ तर प्राधिकरणले केन्द्रीय कार्यालयमा बिजुलीको पोलका लागि आएका क्षेत्रीय तथा जिल्ला वितरण केन्द्रका कर्मचारीलाई फकाउने गरेको छ । ‘पोल माग्न त धेरै आएका छन् तर फर्काउनुको विकल्प छैन,’ उपकार्यकारी निर्देशक पाण्डेले भने ।
प्राधिकरणको भण्डारमा ३ हजार मात्र पोल रहेको र प्राधिकरण सञ्चालक समितिबाट ६ हजार पोल किन्ने निर्णय भए पनि कार्यान्वयन नभइरहेका बेला भारत सरकारले राहतस्वरूप पठाएको ४ हजार पोलले ग्रामीण क्षेत्रमा बिजुली सेवा पुनः सञ्चालन गर्न धेरै सहयोग पुगेको प्राधिकरणले जनाएको छ ।
http://www.erajdhani.com/article/0224760001433652287

No comments: