जीडीपी ३.०४ प्रतिशतमा सीमित
भीम गौतम /राजधानी
काठमाडौं, २५ जेठ
काठमाडौं, २५ जेठ
चालु
आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ३ दशमलव शून्य ४
प्रतिशतमा सीमित हुने भएको छ । भूकम्पअघि जीडीपीको वृद्धिदर ४ दशमलव ५८
प्रतिशत अनुमान गरेकोमा भूकम्पपछिको क्षतिका कारण त्यसमा झन्डै डेढ प्रतिशत
घटेर ३ दशमलव शून्य ४ प्रतिशतमा सीमित हुने भएको हो ।
यो
जीडीपीको वार्षिक वृद्धिदर आठ वर्षयताको सबैभन्दा न्यून हो । आर्थिक वर्ष
सन् २००६÷०७ मा २ दशमलव ७५ प्रतिशत जीडीपी रहेकोमा त्यसपछि बढ्ने र घट्ने
क्रम जारी रहे पनि यति कम भएको थिएन । अघिल्लो आर्थिक वर्षमा जीडीपीको
वार्षिक वृद्धिदर ५ दशमलव शून्य ५ प्रतिशत रहेको थियो । १३ वैशाखमा चालु
आर्थिक २०७१÷०७२ मा जीडीपी सार्वजनिक गर्ने कार्यक्रम तय गरिएकोमा १२
वैशाखको भूकम्पले स्थगित भएको थियो ।
भूकम्पपछिको
क्षति र नोक्सानीसहितको आर्थिक विश्लेषण गरी केन्द्रीय तथ्यांक विभागले
सोमबार नयाँ जीडीपीको प्रक्षेपण गरेको हो । उद्योग, कृषि, निर्माण, होटल,
यातायात, रियल स्टेट, शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवालगायतका १५
वस्तुहरूको उत्पादन तथा सेवालाई विश्लेषण गरेर जीडीपीको प्रक्षेपण गरिएको
विभागका महानिर्देशक विशाल विष्टले जानकारी दिए ।
विभागले
गरेको क्षति विश्लेषणको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा
३१ खर्ब ९५ अर्बबराबरको वस्तु तथा सेवाको उत्पादन हुने अनुमान गरिएकोमा
भूकम्पपछि घटेर ३० खर्ब ९५ अर्ब पुग्ने अनुमान छ ।
भूकम्पका
कारण झन्डै ५१ अर्बबराबरको वस्तु तथा सेवाको उत्पादनमा कमी हुने अनुमान
छ । यो भूकम्पपछिको ८३ दिनमा देखिन सक्ने क्षतिको प्रक्षेपण हो । विभागका
अनुसार चालु वर्षमा २१ खर्ब ६१ अर्बबराबर जीडीपी हुने अनुमान गरिएकोमा
भूकम्पपछि २१ खर्ब २५ अर्बबराबर मात्र उत्पादन हुने अनुमान गरिएको छ ।
भूकम्पका कारण ३६ अर्बबराबरको जीडीपीमा कमी हुने अनुमान छ । त्यसैगरी, चालु
वर्षमा वस्तु तथा सेवाको उत्पादनमा उपभोग हुने बजार मूल्य ११ खर्ब ५६
अर्बबराबरको रकम खर्च हुने अनुमान गरिएकोमा २० अर्बबराबर उपयोगमा कमी आउने
प्रक्षेपण विभागको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति वार्षिक आय ७७ हजार
३ सय ११ रुपैयाँ हुने अनुमान गरिएकोमा भूकम्पका कारण २ हजार ३ सय २६
रुपैयाँले कमी आउने अनुमान तथ्यांक विभागको छ । अघिल्लो वर्ष ७ सय १७ डलर
प्रतिव्यक्ति आय रहेकोमा यस वर्ष ७ सय ८५ डलर पुग्ने अनुमान गरे पनि
भूकम्पका कारण घटेर ७ सय ६२ डलरमा सीमित हुने प्रक्षेपण पनि विभागको छ ।
विभागले
सार्वजनिक गरेको तथ्यांकअनुुसार बृहत् औद्योगिक समूहअनुसार जीडीपीको
प्राथमिक क्षेत्रअन्तर्गत कृषि तथा वन, मत्स्य र खानी तथा उत्खननमा २ दशमलव
२७ प्रतिशत वृद्धि हुने अनुमान गरिएकोमा भूकम्पका कारण घटेर १ दशमलव ८५
प्रतिशतमा सीमित भएको छ । यस्तै, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण,
उद्योग, विद्युत्, ग्याँस र पानीमा ४ दशमलव ५८ प्रतिशत अनुमान गरिएकोमा
भूकम्पपछि २ दशमलम ६५ प्रतिशतमा सीमित हुने अनुमान छ । त्यसैगरी, सोही
समूहअन्तर्गत तृतीय क्षेत्रको थोक तथा खुद्रा व्यापार, होटल तथा
रेस्टुरेन्ट, यातायात, सञ्चार, भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा
व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य तथा
अन्य सामुदायिक, सामाजिक र व्यक्तिगत सेवातर्फ ५ दशमलव ९८ प्रतिशत वृद्धि
हुने लक्ष्य राखिएकोमा भूकम्पपछि ३ दशमलव ८६ प्रतिशतमा सीमित हुने अनुमान
गरिएको छ । १५ विभिन्न वस्तुको उत्पादन तथा सेवालाई आधार बनाएर सार्वजनिक
गरिएको जीडीपीमा १३ वस्तु तथा सेवाको अनुमानित प्रक्षेपणमा कम हुने देखिएको
छ भने एउटामा वृद्धि र एउटामा स्थिर देखिएको छ । विभागका अनुसार भूकम्पका
कारण सबैभन्दा बढी रियल स्टेटमा नोक्सानी भएको छ । सामान्य अवस्थामा रियल
स्टेटको जीडीपी वृद्धिदर ४ दशमलव ८६ प्रतिशत पुग्ने अनुमान गरेकोमा
भूकम्पपछि शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने भएको छ । सार्वजनिक
सेवातर्फ ५ दशमलव ७६ प्रतिशत रहेकोमा स्थिर रहेको छ भने स्वास्थ्य तथा
सामाजिक कार्यतर्फ ९ दशमलव ८२ प्रतिशतको अनुमान रहेकोमा बढेर १० दशमलव
शून्य ४ प्रतिशतमा पुग्ने प्रक्षेपण विभागको छ । भूकम्पका कारण उपचार हुने
क्रम बढेसँगै यो प्रक्षेपणमा वृद्धि भएको हो ।
विभागको
तथ्यांकअनुसार चालु आर्थिक वर्षको जीडीपी वृद्धिदर ९ वर्षभित्रको दोस्रो
कम हो । आर्थिक वर्ष सन् २००१÷०२ मा शून्य दशमलव १६ प्रतिशत रहेको जीडीपी
वृद्धिदर सन् २००६÷०७ मा २ दशमलव ७५ प्रतिशत पुगेको थियो । सबैभन्दा बढी
नेपालमा जनआन्दोलन सफल भएको वर्ष सन् २००७÷०८ मा ५ दशमलव ८० पुगेको थियो
भने त्यसपछिको राजनीतिक अस्थिरतालगायतका कारण घटबढ हुने क्रम जारी छ ।
विभागका अनुसार सन् २००८÷०९ मा ३ दशमलव ९० प्रतिशत, २००९÷१० मा ४ दशमलव २६
प्रतिशत, २०१०÷०११ मा ३ दशमलव ८५ प्रतिशत, २०११÷१२ मा ४ दशमलव ६१ तथा
२०१२÷१३ मा ३ दशमलव ७६ प्रतिशत जीडीपीको वार्षिक वृद्धिदर थियो ।
अघिल्लो
वर्ष ५ दशमलव शून्य ५ प्रतिशत रहेको वार्षिक वृद्धिदर यस वर्ष झन्डै दुई
प्रतिशत घट्ने प्रक्षेपण गरेपछि सरकारलाई समेत चुनौती थपिएको छ ।
‘केन्द्रीय तथ्यांकको प्रक्षेपणले अर्थतन्त्रमा थप चुनौती देखाएको छ,’
तथ्यांक सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.
गोविन्दराज पोखरेलले भने, ‘चुनौतीबारे थप अध्ययन गरेर अघि बढ्ने छांै ।’
उपाध्यक्ष पोखरेलले सन् २०२२ भित्र नेपाललाई अति कम विकसित राष्ट्रबाट
विकासोन्मुख राष्ट्रमा पु¥याउने सरकारको लक्ष्यमा केही चुनौती थपिए पनि
लक्ष्य हासिल गर्न सकिने दाबी गरे । ‘प्रतिव्यक्ति आयको लक्ष्यमा पुग्न
कठिन छ, सामाजिक सूचांकको लक्ष्यमा पुग्छौं, शिक्षा÷स्वास्थ्य सूचांक पूरा
गर्न चुनौती भए पनि पूरा गर्नुपर्छ,’ उनले भने, ‘भूकम्पपछिको नोक्सानीलाई
पुनःस्थापना गर्न सक्छौं ।’ सार्वजनिक कार्यक्रममा आयोगका सदस्य डा.
स्वर्णिम वाग्लेले जीडीपी झन् बढाउँदै लैजाने भनेकोमा भूकम्पले ठुलो धक्का
दिएको बताए । ‘रियल स्टेट, कृषि र पर्यटनमा भूकम्पले ठुलो आर्थिक क्षति
पु¥याएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा ४ खर्ब २३ अर्ब राजस्व उठाउने
लक्ष्य राखिएकोमा ३ खर्ब ९० अर्बमा खुम्चिने अर्थ मन्त्रालयले प्रक्षेपण
गरिसकेको छ ।’
भूकम्पले डेढ प्रतिशत घटायो जीडीपी
५१ अर्बबराबर उत्पादन कम
प्रतिव्यक्ति आय ७ सय ६२ डलर
सबैभन्दा बढी नोक्सान रियल स्टेटमा
प्रक्षेपण वृद्धि स्वास्थ्य सेवामा मात्र
http://www.erajdhani.com/article/0100398001433808525
No comments:
Post a Comment