Sunday, June 14, 2015

राहुघाटको ठेकेदारसँग ठेक्का तोड्ने निर्णय

काठमाडौं/रास— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्कासम्झौता तोड्ने निर्णय गरेको छ । बिहीबार राति ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समितिको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।
बैठकले ठेकेदार आईभीआरसीएल लिमिटेडले राखेको धरौटी रकमसमेत जफत गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार ठेकेदार कम्पनीले राखेको २४ लाख ८० हजार डलर र ९ करोड ३५ लाख रुपैयाँ धरौटी जफत गर्न लागिएको हो । यो निर्णयसँगै प्राधिकरण अब ठेकेदार कम्पनीलाई सूचना दिएर बाँकी हरहिसाब फरफारक गरी बिदाइ गर्नुका साथै नयाँ ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जनाएको छ ।
ठेकेदार कम्पनीले काम नगरेपछि प्राधिकरणले ठेक्कासम्झौता तोड्ने प्रक्रिया अघि बढाएसँगै त्यसविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । प्राधिकरणको पक्षमा फैसला आएपछि बाटो खुलेको हो । समस्याग्रस्त अवस्थामा पुगेको सो आयोजना निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेदार आईभीआरसीएल लिमिटेडस“ग सम्झौता तोड्ने प्रक्रियाअन्तर्गत प्राधिकरणले पत्र समेत पठाइसकेको थियो । २२ डिसेम्बर अर्थात गत ७ पुसमा एक महिनाभित्र ९१ मिटर अडिटअन्तर्गतको सुरुङ पूरा नगरे ठेक्कासम्झौता तोड्ने प्राधिकरणले कम्पनीलाई सूचना दिएको थियो । त्यसविरुद्ध ठेकेदार कम्पनीले मुद्दा दायर गरेको थियो ।
http://rajdhani.com.np/article/0184274001434165498

No comments: