Monday, June 22, 2015

जोखिममुक्त काठमाडौं उपत्यका बनाउन जुटे सभासद्

राजधानी समाचारदाता
काठमाडौं, ६ असार
उपत्यकालाई जोखिममुक्त क्षेत्रका रूपमा विकास गर्न काठमाडांै उपत्यकाका सभासद्हरू जुटेका छन् । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको काठमाडौंलाई जोखिममुक्त बनाउन उनीहरू जुटेका हुन् ।
कांग्रेस, एमाले, एमाओवादी, नेमकिपा लगायतका अधिकांश दलका सभासद्हरू सो अभियानमा लागेका छन् । १२ वैशाखमा गएको भूकम्प र त्यसले गरेको क्षतिपछि भविष्यमा काठमाडांैलाई जोखिममुक्त बनाउन उनीहरूले नयाँ योजना बनाउन थालेका छन् । उनीहरूले विज्ञहरूसँग छलफल तथा कार्ययोजना बनाउन सुरु गरेका छन् । ‘सबै सरोकारवाला पक्षहरूसँग छलफल गरी काठमाडौं उपत्यकालाई जोखिममुक्त बनाउन स्पष्ट कार्ययोजना बनाउँछौं,’ अभियानका अगुवा सभासद् नवीन्द्रराज जोशीले भने, ‘अहिले तत्कालीन कार्ययोजना प्रधानमन्त्रीलाई १० असारमा हुने दाता सम्मेलनअघि नै बुझाउँछौं र दीर्घकालीन रूपमा त्यसपछि बुझाउँछौं ।’ कार्ययोजना निर्माणका लागि काठमाडांै, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रको स्थलगत अध्ययनसमेत उनीहरूले गरेका थिए ।
आइतबार विज्ञहरूलाई बोलाएर छलफल गरेका सभासद्हरूले सोमबार, मंगलबार र बुधबार यसबारे थप छलफलसहित कार्ययोजना बनाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउने लक्ष्य राखिएको सभासद् जोशीले जानकारी दिए । ‘काठमाडौंको सम्पदा र संस्कृतिलाई जोगाउने गरी भूकम्पपछिको तत्कालीन पुनर्निर्माण सहितको स्पष्ट कार्ययोजना बुझाउँछौं र हामी प्रधानमन्त्रीलाई यो कार्ययोजनासमेत दाता सम्मेलनसमक्ष प्रस्तुत गर्न आग्रह गर्छौं,’ उनले भने । आइतबारको छलफलमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, पूर्वमन्त्री केशव बडाल, नेमकिपाका नेता सुनिल प्रजापतिसहित काठमाडांैका अधिकांश निर्वाचित र समानुपातिक सभासद्हरू
सहभागी थिए । छलफलमा विज्ञ माधव माथेमाले मुलुकको ९ प्रतिशत जनसंख्या ओगटेको तथा २३ प्रतिशत जीडीपीमा योगदान गरेको नेपालको आर्थिक र सांस्कृतिक पावर हाउसका रूपमा चिनिएको काठमाडौं उपत्यकाको व्यवस्थित योजना नहुँदा जोखिममा रहेको बताए । ‘विनायोजना ३० वर्षमा १ लाख ८० हजार रोपनीमा भवनहरू बनाइए,’ उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘३ अर्बको कोष स्थापना गरेर पुनर्निर्माण गर्नुपर्छ ।’
छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त योगेश्वर पराजुलीले भूकम्प, भूक्षय, बाढी र आगलागीको उच्च जोखिममा रहेको बताउँदै यसको समाधानका लागि संवेदनशील भूउपयोग योजनाको तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार, प्राधिकरणले एकीकृत बस्ती विकास, भवन निर्माण मापदण्डको आवश्यक संशोधन र कार्यान्वयन, सडक प्रणाली सुदृढीकरणका लागि सडक सञ्जालको तह निर्धारण र इमर्जेन्सी रोड नेटवर्क पहिचान र निर्माण, ऐतिहासिक विकासका लागि सहर पुनर्निर्माण र हाउस पुलिङ बनाउनुपर्ने कार्यलाई प्राधिकरणले प्राथमिकताका साथ अघि बढाएको छ । छलफलमा सभासद् दीपक कुइँकेल, रूपा महर्जन लगायतले काठमाडौं उपत्यकाको संस्कृति, सम्पदा जोगिने गरी र भविष्यमा हुने सबै किसिमका जोखिमको अन्त्य हुने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।
अभियानअन्र्तगत सोमबार काठमाडांै उपत्यकाको जोखिमबारे अध्ययन गरेको जापान सहयोग नियोग (जाइका) विज्ञहरूसँग छलफल हुनेछ । ९ असारसम्म अभियानअन्तर्गत काठमाडांै उपत्यकाका तिनै जिल्लाका पूर्वजनप्रतिनिधिहरूका साथै नगरपालिकाका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
http://rajdhani.com.np/article/0808254001434935679

No comments: