Thursday, June 4, 2015

अमेरिकादेखि आएर नगददेखि जस्तासम्म सहयोग


राजधानी समाचारदाताकाठमाडौं, १९ जेठ
गत महिना गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारणपीडित भएकाहरूलाई अमेरिकामा बस्दै आएका नेपालीहरूको संस्थाले नगददेखि लिएर जस्तापातासम्म सहयोग गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी भेल र आसपासमा पुगेका नेपालीको संस्था सन्नी सगरमाथा सोसाइटी, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र नेपाल जनजाति आदिवासी महासंघ क्यालिफोर्नियाको सहयोगमा भूकम्पबाट अति प्रभावित क्षेत्रमा नगदका साथै जस्तापाता, त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो ।
‘अमेरिकामा रहेका सहयोगी दाताहरुले दिएको तथा संस्थामा आवद्ध रहेका व्यक्तिबाट संकलित रकमबाट भूकम्पबाट अति प्रभावित क्षेत्रका बासिन्दालाई नगद, जस्ता, खाद्यान्न लगायत सहयोग गरेका छांै,’ सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले भने ।
अमेरिकाबाट आएर उनीहरूले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, नुवाकोट, काठमाडांै जिल्लाका विभिन्न क्षेत्रमा पुगेर सहयोग गरेका थिए । संस्थाहरूले काभ्रेका नयाँगाउँ देउपुर गाविस–५ का ६५ घरधुरीलाई जस्तापाता, काशीखण्ड नगरपालिका –७ स्थित खाक्सीमा ८७ घरधुुरीलाई त्रिपाल र रासन तथा पनौती नपा–१० र ११ मा ६५ घरधुरीलाई जस्तापाता वितरण गरेका थिए । त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको फुल्पिङडाँडा गाविस–४ र ५ को दलित बस्तीमा १ सय परिवारलाई त्रिपाल, खाद्य सामग्री र औषधि पनि वितरण गरेको उनले जानकारी दिए ।
त्यसैगरी, नुवाकोट जिल्लाका पुमरी गाविसको मुडवरी टोलमा २८ घरधुरीका लागि जस्तापाता र लिखु गाविस–८ गुरुङटोलमा १ सय घरका लागि त्रिपाल र खाद्य सामग्री वितरण गरेको न्यान्स सचिव जुजित सिंहले बताए । त्यसका साथै ललिपुरका पीडितलाई आश्रय दिएकोे सिद्धिपुरस्थित मुनलाइट फार्मेसीका लागि १ लाख ७५ हजार रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको उनले जानकारी दिए ।
सो टोलीले काठमाडौंस्थित जोरपाटीमा रहेको अर्थोपेडिक अस्पतालमा अमेरिकाबाट ल्याइएका प्राथमिक उपचारका सामग्रीसमेत हस्तान्तरण गरेको थियो ।
त्यसैगरी, गोर्खा जिल्लाको गोर्खा नगरपालिका छेपेटारको अम्लापानीका १७ घरधुरीलाई त्रिपाल र रासन, धादिङ जिल्लको त्रिपुरेश्वर गाविस–१ सुकौराका १ सय ४६ परिवारलाई खाद्यान्न तथा तनहुँ जिल्लाको किहुँ र अरुणोदय गाविसका ५५ घरधुरीलाई जस्तापाता दिइएको जनाएको छ ।
भूकम्पका कारण क्षति भएका भोजपुर जिल्लाको दोभाने, नेपालेडाँडा, खातम्मा र चौकीडाँडा गाविसका २ सय १५ परिवार, रामेछाप जिल्लाको भिरपानी गाविसमा २० घरधुरीलाई जस्तापाता वितरण गरेको छ ।
त्यस्तै सोलुखुम्बुको तिङला र सल्यान गाविसमा ३ सय ६० घरधुरीलाई त्रिपाल समेत सहयोग गरेको छ । अमेरिकामा बसोवास गर्ने नेपालीहरूको सो संस्थाले राहात वितरणको सुरुआत कीर्तिपुरमा रहेका बेबीलाइफ होमका २१ बालबालिकालाई त्रिपाल र खानेकुरा दिएर गरेका थिए । संस्थापक अध्यक्ष सापकोटा, सदस्य नारायण खनाल, न्यान्सका सचिव सिंह लगायतले उनीहरुलाई मंगलबार सहयोग हस्तान्तरण गरेका थिए ।
पहिलो चरणको सहयोग कार्यक्रमको समापन पनि सोही होममा रहेका बालबालिकालाई थप सहयोग गरेर समापन गरेको संस्थापक अध्यक्ष सापकोटाले बताए । उनले अब दोस्रो चरणमा आफूहरूले पुनर्निर्माणका लागि सहयोगको कार्यक्रम लिएर आउने तयारी रहेको बताए ।
http://www.erajdhani.com/article/0444949001433302933

No comments: