आगामी हिउँदमा दैनिक १८ घण्टाको प्रक्षेपण
भीम गौतम\राजधानी
काठमाडौं, २३ भदौ
उर्जा मन्त्री, उर्जा सचिव वा नेपाल विद्युत प्राधिकरण प्रतिनीधिसँग धेरै सर्वसाधारणको प्रश्न हुन्छ–लोडसेडिङ अन्त्य कहिले हुन्छ ? यसको स्पष्ट उत्तर उनीहरुसँग छैन । जलाशययुक्त आयोजनाहरु बनेपछि मात्र लोडसेडिङ अन्त्य हुन्छ भन्ने उनीहरुको उत्तर सर्वसाधारणका लागि झन अस्पष्ट र अन्योलपूर्ण छ । अझ प्राधिकरणले गरेको प्रक्षेपणमा त आगामी हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने उल्लेख छ ।
अहिले बर्षामा मात्र भारतबाट दैनिक ११० मेगावाट विद्युत आयात गरेर चार घण्टा लोडसेडिङ गरिरहेको प्राधिकरणको आगामी हिउँदमा २ सय ५४ मेगावाटसम्म ल्याउने योजना छ । भारतबाट उक्त परिणाममा विद्युत आयात नगरे र कुलेखानीको जलाशय नभरिए आगामी हिउँदमा प्राधिकरणले दैनिक १८ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण गरिसकेको प्राधिकरणका अधिकारीले जनाएका छन् ।
हुन त विद्युत ऐन २०४९ ले नीजि क्षेत्रलाई जलविद्युतमा लगानी गर्नका लागि बाटो खोलेपछि जलविद्युत भारतलाई बेच्ने सपनाहरु सरकारसँग थिए तर अहिले लोडसेडिङ घटाउनका लागि भारतलाई गुहार्नुपर्ने अवस्था छ । आर्थिक बर्ष २०६०÷०६१ बाट हप्ताको चार घण्टाबाट सुरु भएको लोडसेडिङको तालिका प्रत्येक बर्ष बढीरहेको छ । अहिलेको बर्षामा मात्र भारतबाट दैनिक ११० मेगावाट विद्युत आयात गरेर दैनिक चार घण्टा लोडसेडिङ गरिरहेको छ । ‘भारतबाट गत हिउँदमा १ सय ८० मेगावाटसम्म विद्युत आयात गरिएको थियो र कुलेखानी जलाशय पनि भरिएको थियो ।’–प्राधिकरणका एक अधिकारीले भने–‘यो बर्ष थप ७० मेगावाट भारतले दिए र कुलेखानी भरिए मात्र १२÷१४ घण्टासम्म सीमित गर्न सकिने अवस्था छ तर कुलेखानी जलाशय भरिने लक्ष्यण देखिएको छैन । प्राधिकरणका अनुसार, १५ सय ३० मिटर जलाशय रहेकोमा हाल १५ सय २५ मिटर मात्र भरिएको छ । गत बर्ष भदौ र असोजमा कुलेखानी जलाशययुक्त आयोजनाबाट उत्पादन नगरी भरिएको थियो तर यसपाली प्राधिकरणले उत्पादन गरिरहेको छ ।
प्राधिकरण भार प्रेषण केन्द्रले अहिलेको लोडसेडिङ एक घण्टा बढाएर कुलेखानी जलाशय भर्न प्रस्ताव गरेपनि प्राधिकरण व्यवस्थापनले नमानेपछि यसको थप भार आगामी हिउँदमा पर्ने भएको छ । प्राधिकरणले आगामी हिउँदमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्रक्षेपण गरेपछि उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारी भने आगामी हिउँदमा १२ घण्टामै सीमित राख्ने गरी प्रकृया अघि बढाइएको बताउँछन् । ‘आगामी हिउँदमा १२ घण्टाभन्दा नबढ्ने गरी लोडसेडिङ सीमित गर्न मन्त्रालयले योजना बनाउँदै छ, कटैया–कुसुहाबाट थप ७० मेगावाट विद्युत ल्याउनका लागि सरकारले प्रयास जारी राखेको छ ।’–उनले भने ।
विद्युत प्राधिकरणका अनुसार, हाल २४० मेगावाट नीजि क्षेत्रको समेत गरी ७ सय १३ मेगावाट विद्युत उत्पादन छ भने १० हजार ५० मेगावाट विद्युत आवश्यक छ । जसको कारण बर्षामा समेत दैनिक ४ घण्टाको लोडसेडिङ छ । १० बर्ष अघिदेखि हप्ताको चार घण्टाबाट लोडसेडिङ सुरु भएको थियो तर लोडसेडिङको चार्ट प्रत्येक बर्ष बढीरहेको छ । गत हिउँदमा हप्ताको ८४ घण्टा अर्थात दैनिक १२ घण्टासम्म भएको थियो । सरदर बर्षको ९ देखि १२ प्रतिशत अर्थात सरदर एक सय मेगावाटको माग बढ्छ । तर विगत १० बर्षमा करिब १ सय ५० मेगावाट विद्युत उत्पादन मात्र बढ्यो ।
प्राधिकरणका अुनसार, हप्ताको क्रमशः आर्थिक बर्ष २०६०÷०६१ मा ४ घण्टा, ०६२÷०६३ मा १७ घण्टा, ०६३÷०६४ मा २५ घण्टा, ०६४÷०६५ मा १०८ घण्टा, ०६५÷०६६ मा ८४ घण्टा, ०६६÷०६७ मा ९८ घण्टा, ०६७÷०६८ मा ८८ घण्टा, ०६८÷०६९ मा ८४ घण्टा तथा ०६९÷०७० मा ८४ घण्टासम्म लोडसेडिङ भएको थियो । ०६१÷०६२ मा लोडसेडिङ भएन भने ०६४÷०६५ मा दुहबी कटैया प्रशारण लाइन बिग्रेपछि लोडसेडिङ दैनिक १९ घण्टासम्म पुगेको थियो । अघिल्लो बर्ष दैनिक १४ घण्टासम्म लोडसेडिङ पुगेकोमा व्यापक जनदबाब बढेपछि थर्मल प्लान्ट सञ्चालन गरेर भएपनि १२ घण्टामै सीमित गरिएको थियो ।
जलाशययुक्त आयोजनाको निर्माण नभएसम्म लोडसेडिङ अन्त्य हुने उर्जा मन्त्रालयका अधिकारीहरु बताएपनि १४ मेगावाटको कुलेखानी तेस्रोबाहेक अहिले कुनै पनि जलाशययुक्त आयोजनाको निर्माण सुरु भएको छैन । ६ सय मेगावाटको बुढीगण्डकी र ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणको प्रकृयामा अघि बढेपनि निर्माण कहिले सम्पन्न हुने भन्ने अन्योल छ । पश्चिम सेती आयोजनाको निर्माणका लागि सम्झौता गरेको चीनीयाँ कम्पनीले आयोजनाको प्रभावित क्षेत्रको पुर्नस्थापना तथा क्षतिपुर्ति सरकारले नै दिनुपर्ने भन्दै पत्र पठाएपछि थप समय लाग्ने भएको छ भने हाल आयोजनाको विस्तृत विवरण (डीपीआर) भईरहेको बुढीगण्डकी समेत विकास समितिमा लगिएकोले समयमै बन्नेमा आशंका छ । उपत्यकासँग जोडिएको काभ्रे र रामेछापमा बन्न सक्ने ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनालाई द्रतगतिमा अघि बढाउन सकिने भएपनि सरकारले त्यसतर्फ चासो दिएको छैन ।
हिउँदमा जम्मा उत्पादनको एक तिहाई मात्र उत्पादन हुने भएकोले जलाशययुक्त आयोजना निर्माण नभएसम्म लोडसेडिङ अन्त्य हुने सम्भावना न्यून छ । तर १८ सय मेगावाट बराबरका १ सय ४६ वटा रन अफ द रिभर आयोजनाहरु निर्माणाधीन छन् भने झण्डै तीन हजार मेगावाट बराबरका आयोजना विद्युत खरिद सम्झौता (पीपीए) का लागि कुरिरहेका छन् । विद्युत विकास विभागका सुचना अधिकारी गोकर्णराज पन्थका अनुसार, करिब चार हजार मेगावाटका ७७ आयोजनाले उत्पादन अनुमतिपत्रहका लागि निवेदन दिईसकेका छन् भने झण्डै नौ हजार मेगावाट बराबरका आयोजनाले सर्भे लाइसेन्स लिईसकेका छन् । प्राधिकरण तथा अन्य नीजि क्षेत्रले बनाईरहेका अधिकांश आयोजनाहरुमा ढिलाई हुँदा विद्युत उत्पादन बढ्न सकेको छैन ।
लोडसेडिङ कुल साल कति
आर्थिक बर्ष साप्ताहिक घण्टा
२०६०÷०६१ ४
२०६१÷०६२ ०
०६२÷०६३ १७
०६३÷०६४ २५
०६४÷०६५ १०८
०६५÷०६६ ८४
०६६÷०६७ ९८
०६७÷०६८ ८८
०६८÷०६९ ८४
०६९÷०७० मा ८४
२०७०÷०७१ १२६ (प्रेक्षेपित)
स्रोतः नेपाल विद्युत प्राधिकरण
No comments:
Post a Comment