Saturday, September 28, 2013

डलरमा पीपीएबारे कर्मचारी विभाजित

काठमाडौं÷रास– नेपाल विद्युत् प्राधिकरणका पाँच कर्मचारी युनियन डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) बारे पक्ष र विपक्षमा देखिएका छन् । प्राधिकरणभित्रका एमाले निकट कर्मचारी युनियन, कांग्रेस निकट कर्मचारी संघ, एकीकृत माओवादी निकट कर्मचारी संगठन र राप्रपा निकट कर्मचारी कल्याण परिषद् डलरको रिस्क सरकारले बेहोर्ने गरी प्राधिकरणले पीपीए गर्नुपर्ने पक्षमा छन् भने मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन वैदेशिक लगानी भिœयाउने नाममा डलरमा पीपीए गर्न नहुने पक्षमा छ ।
दुवैले विगतमा खिम्ती र भोटेकोशीको डलरमा पीपीए गर्दा प्राधिकरणको आर्थिक अवस्था धराशायी भएको उल्लेख गरे पनि सरकारले वैदेशिक मुद्रा (डलर) को खतरा बहन गर्ने गरी विदेशी लगानी भित्र्याउनका लागि डलरमा पीपीए गर्नुपर्ने पक्षमा चार संगठन देखिएका हुन् । वैद्य निकटको संगठनले भने डलरमा पीपीए गरिनु कानुनी र व्यवसायको प्रतिपादित सिद्धान्त विपरित भएको बताउँदै आएको छ । संगठनले प्राधिकरणका नयाँ सञ्चालक समितिकका अध्यक्ष एवं उर्जा सचिव विश्वप्रकाश पण्डितलाई पत्रनै लेखेर डलरमा पीपीए नगर्न सचेत गराएको छ ।
२ सय १० मेगावाटका सुपर सिक्सका ६ आयोजनामध्ये ८२ मेगावाटको तल्लो सोलु तथा ५० मेगावाटको मेवा खोला आयोजनाको पीपीए डलरमा गर्ने बारे प्राधिकरणभित्र विगत तीन बर्षदेखि विवाद रहँदै आएको छ । पछिल्लो समयमा प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मण अग्रवालको संयोजकत्वमा रहेको समितिले तल्लो सोलुको ५५ प्रतिशत पीपीए डलरमा गर्ने निर्णय गरिएपछि यसबारे विवाद झन् बढेको छ ।

No comments: