Tuesday, September 24, 2013

दुई हजार थान ट्रान्सफर्मर प्रतिस्थापन गरिँदै

भीम गौतम\राजधानी
 काठमाडौं, ८ असोज नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीद्वारा खरिद गरिएका ट्रान्सफर्मरहरू प्रतिस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बैठकले १ हजार ९ सय ४० ओटा ट्रान्सफर्मर प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।
‘तेस्रोपक्षीय निरीक्षण गरी प्रतिस्थापन गर्न बाँकी रहेका सबै ट्रान्सफर्मरहरू प्राधिकरणलाई कुनै थप दायित्व नपर्ने गरी प्रतिस्थापन गर्ने निर्णय गरेका छौं,’ प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं ऊर्जामन्त्री उमाकान्त झाले भने, ‘आगामी दिनमा ट्रान्सफर्मर खरिद गर्दा तेस्रो पक्षीय निरीक्षण गर्ने निर्णय भएकोमा प्रतिस्थापन गर्ने ट्रान्सफर्मरमा पनि तेस्रोपक्षीय निरीक्षणको व्यवस्था गर्न लागेका हौं ।’ ट्रान्सफर्मर नेपाल पठाउने क्रममा बदमासी भएको स्विकार्दै पछिल्लो पटक १९ अगस्ट र पुनः ११ सेप्टेम्बर २०१३ मा हुवेईले सबै ट्रान्सफर्मरहरू प्रतिस्थापन गर्न प्राधिकरणमा पत्र लेखेको थियो ।
तर, प्राधिकरण व्यवस्थापनले यसबारे हुवेईलाई प्रतिस्थापन गर्ने÷नगर्नेबारे कुनै पत्र पठाएको थिएन । हुवेईमार्फत दुई लटमा १ हजार ९ सय ९५ जना ट्रान्सफर्मरहरू खरिद गरेकोमा २८ सेक्टेम्बर २०१२ मा ५५ थान प्रतिस्थापन गरेको थियो । बाँकी १९ सय ४० थान ट्रान्सफर्मरसमेत विनासर्त प्रतिस्थापन गर्ने भन्दै एक महिनाअघि पत्र लेखेकोमा बल्ल प्राधिकरण सञ्चालक समितिले प्रतिस्थापन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयसँगै अब छिट्टै हुवेईलाई प्रतिस्थापनका लागि पत्र पठाउने प्राधिकरणले जनाएको छ । विगत दुई वर्षदेखि खरिद नगरेका कारण ट्रान्सफर्मर अभाव भइरहेको बेला प्रतिस्थापन गरेमा तत्कालीन ट्रान्सफर्मर अभावको संकट भने न्यूनीकरण हुने प्राधिकरणले जनाएको छ ।
०६७÷६८ सालमा हुवेईमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा दुई विदेशीसहित २४ मुद्दा दायर गरी धरौटीसमेत तोकिसकेको छ । तर, विशेष अदालतले मुद्दा फैसला गर्ने क्रममा ट्रान्सफर्मरहरू प्रतिस्थान गरी अदालतलाई जानकारी दिन आदेश दिएपछि प्राधिकरण सञ्चालक समितिलाई प्रतिस्थापन गर्न सजिलो भएको हो । मुद्दा विचाराधीन रहेकाले प्रतिस्थापनका लागि कानुनी रूपमा के हुने भन्ने अन्योल रहेका बेला अदालतको आदेशले प्रतिस्थापनका लागि थप सहयोग पुगेको मन्त्री झाले बताए ।
०६७ र ०६८ मा हुवेईमार्फत विश्व बंैकको सहयोगमा ७ सय ३५ थान तथा प्राधिकरणले १२ सय ६० थान ट्रान्सफर्मर खरिद गरेको थियो । १९ सय ९५ थान ट्रान्सफर्मर खरिद गरिएकोमा गत पुसमा ५६ थान ट्रान्सफर्मर नेपाल पठाएको थियो । त्यसैगरी, चिनियाँ कम्पनी जेके होल्डिङ कम्पनी चीनले १ सय ८० थान गुणस्तरहीन ट्रान्सफर्मर प्रतिस्थापन गर्न पत्र पठाइसकेको छ । आफ्नो बदमासी स्विकार्दै जेके होल्डिङले पत्रमा आगामी २० देखि २५ सेप्टेम्बरभित्र १ सय ८० ट्रान्सफर्मर प्रतिस्थापन गर्ने उल्लेख गरेको छ । ती १ सय ८० थान प्रतिस्थापनपछि बाँकी ट्रान्सफर्मµसमेत छिट्टै पठाइने पत्रमा उल्लेख छ ।
०६७÷६८ मा प्राधिकरणले जेके होल्डिङमार्फत ४ लाख ५० हजार ६ सय ७ अमेरिकी डलरमा ४ सय ७४ थान ट्रान्सफर्मर आयात गरिएको थियो । आयात गरिएका ट्रान्सफर्मरमा खराबी देखिएपछि प्राधिकरणले जेके होल्डिङलाई प्रतिस्थापनका लागि पत्र लेखेको थियो । पत्रपछि गत पुसमा २ सय १० थान ट्रान्सफर्मर प्रतिस्थापनका लागि पठाएकोमा ती ट्रान्सफर्मरमा समेत बढी चुहावट देखिएको थियो ।
प्रतिस्थापन गरिएका ट्रान्सफर्मरहरूमा समेत खराबी देखिएपछि प्राधिकरणले अर्को पत्र लेखेको थियो । हुवेईले नेपाल पठाएको ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम तथा जेके होल्डिङ कम्पनीमार्फत पठाइएका ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा आल्मुनियम भेटिएको थियो ।

No comments: