Monday, September 16, 2013

प्राधिकरणका कर्मचारीलाई कडाइ सीसीटीभीसमेत राख्ने तयारी


राजधानी समाचारदाता 
काठमाडौं, ३० भदौ नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमा हाजिर गरेर टाप कस्ने (हाटा) प्रवृत्ति बढेपछि नेपाल विद्युत् प्राधिकरणले थप कडाइ गर्ने भएको छ । बिहान ९ बजे कार्यालय आएर विद्युतीय हस्ताक्षर गरी दिउँसोभरि अन्य क्षेत्रमा काम गरेर बेलुका पुनः ६ बजे विद्युतीय हस्ताक्षर गर्ने प्रवृत्तिसमेत प्राधिकरणका केही कर्मचारीमा देखिएपछि प्राधिकरण व्यवस्थापनले विद्युतीय हस्ताक्षरसँगै थप कडाइ गर्न लागेको हो ।
प्राधिकरणका नयाँ कार्यकारी निर्देशक अर्जुन कार्की नियुक्त भएपछि प्राधिकरणका अन्य अधिकारीसँगको छलफलमा कर्मचारी हाजिर गरेर टाप कस्ने प्रवृत्ति सुनाएका थिए । आइतबारको प्राधिकरण व्यवस्थापनको बैठकमा समेत वैकल्पिक व्यवस्थाका लागि छलफल भएको थियो । छलफलमा प्राधिकरणका कर्मचारी भित्र–बाहिर गएकोबारे मूल गेटमा सुरक्षा गार्डले अनिवार्य रूपमा रेकर्ड राख्ने रजिस्टार राखी हाटा प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए । ढिलो आई हाकिमलाई खुसी पारेर मेमो लेखाई प्राधिकरणभन्दा पनि बाहिर बढी रमाउन थालेपछि आधुनिक विद्युतीय हस्ताक्षर प्राधिकरणले सुरु गरेको होे । विद्युतीय हस्ताक्षरमा समेत प्राधिकरणका केही कर्मचारीले बदमासी गर्न थालेपछि प्राधिकरणका कर्मचारीलाई थप कडाइ गर्न थालिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
‘बिहान विद्युतीय हस्ताक्षर गरेर टाप कस्ने प्रवृत्तिसमेत कर्मचारीमा देखिएपछि प्राधिकरण व्यवस्थापनले कडाइ गर्न लागिएको हो,’ ती अधिकारीले भने, ‘प्राधिकरणबाट तलब खाएर अन्य क्षेत्रमा गई काम गर्ने बदमास कर्मचारीलाई कारबाही र कडाइ दुवै गर्नुपर्ने आवश्यकता छ ।’ प्राधिकरण स्रोतका अनुसार केही कर्मचारीहरू विद्युतीय हाजिर गर्ने बित्तिक्कै कार्यालय बाहिर निस्केर पसल थाप्ने, विभिन्न कलेजमा पढाउने, परामर्शदाताका रूपमा काम गर्नेलगायतका अन्य पेसा व्यवसायसमेत गर्दै आएका छन् । तर, प्राधिकरण व्यवस्थापनले उनीहरूलाई कुनै कारबाही गर्न सकेको छैन । बाहिर पेसा व्यवसाय नगर्ने समेत पछिल्लो समयमा प्राधिकरणभित्र चर्केको ट्रान्सफर्मर प्रकरणको कारण केही निर्णयमा हस्ताक्षर गर्नुपर्छ भन्दै बढी समय कार्यालय बाहिरै बिताउन थालेका छन् ।
रजिस्ट्रारभन्दा पनि दुई मुख्य गेटमा सीसीटीभी जडान गरेर हाटा प्रवृत्ति निरुत्साहित गर्नेबारे समेत छलफल भइरहेको प्राधिकरणका अधिकारीले जनाएका छन् । त्यसैगरी, नो लाइट शाखामा फोन नउठ्ने र बढी व्यस्त हुने गुनासो आएपछि त्यसको वैकल्पिक व्यवस्था गर्नका लागि प्राधिकरण व्यवस्थापन अघि बढेको छ । फोन नउठेमा वा व्यस्त भएमा अर्को फोनमा ट्रान्सफर गर्ने गरी फोन व्यवस्थापन गर्नका लागि समेत व्यवस्थापनले निर्देशन दिएको छ ।
http://www.erajdhani.com/en/business/14888------

No comments: