Saturday, September 7, 2013

४२ मेवाको सोलार बनाउन सम्झौता

राजधानी समाचारदाता काठमाडौं, २२ भदौ कोरियाको प्रतिष्ठित इयान टेक कम्पनी लिमिटेडले १० देखि ४२ मेगावाटसम्मको ठूला सोलार पावर आयोजना निर्माण गर्न सम्झौता गरेको छ । साना सोलार आयोजना मात्र बनेको र २० मेगावाटको सोलार बनाउने सरकारी योजनासमेत अघि बढ्न नसकिरहेका बेला इयान टेकले ४२ मेगावाटसम्मको सोलार आयोजना निर्माण गर्न सम्झौता गरेको हो ।
१० देखि ४२ मेगावाटसम्मको आयोजनामा लगानी गर्नका लागि इयान टेक कम्पनीका अध्यक्ष खाङ थे सङ र नेपालको दूधकोशी पावर कम्पनीका कार्यकारी निर्देशक रामबहादुर लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ । इयान टेकले पाकिस्तान र बंगलादेशसहित विश्वका ३० देशमा सोलार विद्युत् उत्पादन गर्दै आएकामा ३१ आंै राष्ट्रका रूपमा नेपालमा लगानी गर्न लागेको दूधकोशीका कार्यकारी निर्देशक लामाले जानकारी दिए । ‘इयानले सम्झौता गरिसकेकाले अब सोलार राख्न सकिने क्षेत्रहरूको पहिचान गर्छांै र सँगसँगै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) का लागिसमेत पक्रिया अघि बढाउँछां,ै’ उनले भने ।
इयान टेकका अध्यक्ष खाङले सोलार विद्युत्को प्रशस्तै सम्भावना रहेकाले नेपालमा लगानी गर्न खोजेको बताए । ‘नेपालमा लोडसेडिङ समस्या रहेकाले त्यसको समाधानका लागि सोलार पनि उपयुक्त विकल्प नभएकाले नेपालमा लगानी गर्न लागेका हांै ।’ उनले भने, ‘सरकारले स्वीकृति दिए हामी नेपालमा ठूलो सोलार आयोजना बनाउन तयार छांै ।’ कार्यकारी निर्देशक लामाका अनुसार, नेपालका १० ओटा क्षेत्रमा ६ महिनाभित्र सोलार विद्युत्उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन गरेपछि सोलार आयोजना अघि बढाइनेछ । विद्युत् उत्पादनका लागि पहिलो चरणमा काभ्रे, झापा र खोटाङलगायतका स्थानलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
‘जलविद्युत् आयोजनाभन्दा सोलार विद्युत् उत्पादन केही महँगो हुन्छ तर थर्मल प्लान्टभन्दा यो धेरै नै सस्तो हो । १० मेगावाटसम्मको आयोजना ६ महिनाभित्रै सम्पन्न गर्न सकिने भएकाले पनि नेपालका लागि सोलार आयोजना अति नै प्रभावकारी देखिएको छ,’ कार्यकारी निर्देशक लामाले भने । खेर गइरहेको सौर्य ऊर्जालाई उपयोग गरे नेपालका लागि अति नै लाभदायक हुने दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेमबहादुर लामाले बताए । दूधकोशी पावर कम्पनीले खोटाङको रावा खोलामा ६.५ मेगावाटको जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

No comments: